कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५
1091

 विश्व वैंकका आवासीय निर्देशक कुईमिओ फानले अपर अरुण र अन्तरदेशीय प्रशारण लाइनमा सहयोग गर्न इच्छुक रहेको बताएका छन् ।
बुधबार ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनसँग भएको भेटमा उनले बंगलादेशसंँगको विद्युत् व्यापार सम्झौता भएमा अन्तरदेशीय प्रशारणलाइन निर्माणमा समेत सहयोग गर्न विश्व बैंक तयार रहेको बताए । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भेटमा ऊर्जामन्त्री पुनले ऊर्जा क्षेत्रमा विश्व बैंकले गरेको सहयोगप्रति धन्यवाद दिँदै नयाँ मन्त्रीका रूपमा आफूले कार्यभार सम्हालेसँगै ऊर्जा क्षेत्रको समग्र विकासका निम्ती श्वेतपत्र जारी गरेर ३५ सय मेगावाट विद्युत् नेपाल आफैंले बनाउने गरी योजना अघि बढाएको बताए । उनले त्यसका लागि १६ वटा आयोजनाको छनोटसमेत भइसकेको जानकारी दिए । मन्त्री पुनले राष्ट्रिय प्राथमिकतमा रहेका आयोजना र वैदैशिक लगानीमा सञ्चालित आयोजनालाई दु्रत गतिमा अघि बढाउनका लागि सरकारले छिट्टै संयन्त्र बनाउने तयारी गरिरहेको बताउँदै जग्गा अधिग्रहण र वन तथा वातावरण क्षेत्रको समस्या समाधानका लागि सरकारले योजना निर्माण गरिसकेको बताए । मन्त्री पुनले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न समेत विश्व बैंकका निर्देशकलाई आग्रह गरेका थिए ।


सातामा धेरै पढिएको