कारोबार संवाददाता
बिहिवार, श्रावण ३, २०७५
1613

दाङ-घोराही उपमहानगरपालिका–१८ को गिठेपानी, फुर्सेखालीमा सिँचाइ सुविधा पुराउने उद्देश्यले ड्याम निर्माण गरिएको छ ।
बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले गिठेपानी ड्याम जलउपभोक्ता संस्थामार्फत योजना निर्माणकार्य गरेको हो । अहिले उक्त क्षेत्रमा ड्याम निर्माणकार्य करिब सम्पन्न भएको छ । अहिले ड्याम निर्माणकार्य सकिएको गिठेपानी ड्याम जल उपभोक्ता संस्थाका सचिव दिनेश वलीले जानकारी दिए । आव ०७४/७५ को बजेटबाट ड्याम निर्माण गरिएको हो भने आउँदो आर्थिक वर्षमा थप कार्य अगाडि बढाइने सचिव वलीले जानकारी दिए । उक्त क्षेत्रमा सिँचाइ सुविधा पुराउनका लागि १ करोड ४३ लाख ९ हजार कुल बजेट स्वीकृत भएको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाका इन्जिनियर मदनप्रसाद शाहले जानकारी दिए । यो अयोजना क्रमागत योजना रहेको समेत उनले बताए । क्रमागत योजना भएकाले काम सम्पन्न नहँुदासम्म निरन्तर कार्य भइरहने उनको भनाइ छ । आर्थिक वर्ष ०७४/७५ को बजेटबाट ड्याम निर्माण गरिएको छ भने अन्य निर्माणकार्य आव ०७५/७६ को वर्षमा गरिने शाहाले बताए । निर्माणका लागि ५९ लाख खर्च गरिने छ । उपभोक्ताले ९ लाख १६ हजारको श्रमदान गर्नुपर्ने छ । योजना निर्माण भएपछि लिप्टमार्फत पानी तानेर ओभर हेड ट्यांकी निर्माण गरी पाइपमार्फत कृषकको बारीसम्म पानी पुराइने इन्जिनियर शाहले बताए । योजना सम्पन्न भएमा ४० हेक्टरमा सिँचाइ सुविधा पुग्ने छ ।

ड्याममा वर्षात्को पानी संकलन गरिने र हिउँदको समयमा त्यसैलाई प्रयोग गरेर सिँचाइ गरिने उपभोक्ता संस्थाले जानकारी दिएको छ । “खेर गएको पानी संरक्षण गर्नका लागि ड्याम निर्माण गर्न थालिएको हो,” इन्जिनियर शाहले भने । ड्याम निर्माण भएपछि खेर गएको पानीको संरक्षण तथा सदुपयोग हुनेछ । ड्याम निर्माण भएपछि जमिनमा रिचार्ज भएर पानीको मुहानसमेत संरक्षण हुने स्थानीय बासिन्दाको भनाइ छ । उक्त क्षेत्रमा ड्याम निर्माण भएपछि गाउँमा रहेका कुवा तथा इनारमा पनि पानी नसुक्ने इन्जिनियर शाहले बताए । उक्त क्षेत्रमा सिँचाइ सुविधा पुराउने उद्देश्यले यस प्रकारको आयोजना सुरुवात गरिएको हो । सिँचाइ सुविधा नहुँदा कृषकहरू आकासे पानीको भरमा खेती गर्दै आएका छन् । जिल्लाको ३ स्थानमा नमुनाको रूपमा यस प्रकारको आयोजना निर्माणकार्य भइरहेको इन्जिनियर शाहले बताए । उनका अनुसार घोराही उपमहानगरपालिका–१८ को गिठेपानी, वडा नं १७ को वर्गद्धी र दंगीशरण गाउँपालिकाको लेटारमा यस्तै प्रकारका आयोजना निर्माण गरिएको छ ।
-अमरराज आचार्य 


सातामा धेरै पढिएको