कारोबार संवाददाता
बुधवार, श्रावण २, २०७५
950

बिर्तामोड-झापाको कन्काई नगरपालिकामा जनप्रतिनिधिहरूले नेतृत्व सम्हालेसँगै कन्काई नगर क्षेत्रका बाटाको मुहार फेरिन थालेको छ । कन्काई नगरका प्रत्येक गाउँटोलदेखि बजार क्षेत्रमा समेत सडक, ढल निर्माणलगायतका क्षेत्रमा प्रत्यक्ष देखिने गरी काम भएका छन् ।
२०७४ असार १४ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि असार २१ मा कार्यभार लिएपछि स्थानीय सरकारले मंसिरमा मात्र आव ०७४/७५ को बजेट, नीति तथा कार्यक्रम ल्याएर सात महिनामा मूलतः कन्काई नगरपालिका सडक तथा भौतिक पूर्वाधार निर्माण, विस्तार र स्तरोन्नतिमा केन्द्रित भएको कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

आव ०७४/७५ मा सडक तथा भौतिक पूर्वाधार निर्माण, विस्तार तथा स्तरोन्नतिमा केन्द्रित भएको र कन्काई नगरभित्रका सडक कालोपत्रे गर्दा घनाबस्ती तथा बजार क्षेत्रमा अनिवार्य रूपमा नाला निर्माण गर्ने, नगरभित्रका सडकलाई फराकिला एवं व्यवस्थित सडकको रूपमा विस्तार गर्ने, विद्यमान ग्राभेल सडकलाई कालोपत्रे गर्ने, माटे सडकलाई ग्राभेल गर्ने र सडक मर्मत तथा संभारलाई निरन्तरता दिएको नगरपालिकाका प्रमुख पोखरेलले जानकारी दिए ।
यी कार्यक्रमलाई आव ०७५/७६ को बजेट, नीति तथा कार्यक्रममा पनि समावेश गरिएको कन्काई पोखरेलले जानकारी दिए । आव ०७५/७६ को बजेट असार २१ मा आएको र विकास निर्माणका काम आगामी आवका काम भदौ–असोजबाट नै सुरु हुने भएकाले विकास निर्माणले गति लिने नगरपालिकाका प्रमुख पोखरेलले जानकारी दिए । आव ०७४/७५ का लागि ४० करोड २६ लाख ५५ हजारको कुल बजेटको व्यवस्था गरी नगरका सबै वडामा सोही अनुरुप बजेट विनियोजन गरी एक वर्षको आफ्नो कार्य अनुभवसमेत हासिल गरिसकेको छ ।
-तुलसीप्रसाद निरौला

 


सातामा धेरै पढिएको