प्रकाश पाक्साँवा
मंगलबार, श्रावण १, २०७५
1740

तेह्रथुम-तेह्रथुम र पाचथरको सदरमुकाम जोड्ने सबैभन्दा छोटो दूरीको पुल निर्माणकार्य अलपत्र परेको छ । तमोर नदीको लुमुघाटमा निर्माण हुँदै गरेको १६० मिटर लम्बाइको पक्की पुल निर्माणकार्य ४० प्रतिशतमात्रै सकिएको छ ।
कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवाले ५ वर्ष अगाडि पुल निर्माणको ठेक्का पाएको थियो । तीन वर्षमा पूरा गर्नुपर्ने सम्झौता भए पनि ६ वर्ष पुग्न लाग्दासमेत आयोजना सम्पन्न नहँुदा दुई जिल्लावासीलाई सकस भएको छ ।

निर्माण कम्पनीले पुलमा कमसल निर्माण सामग्री प्रयोग गरेको भन्दै दुवै जिल्लाका जनप्रतिनिधिले पुलको स्थलगत अनुगमन निरीक्षण गरी गुणस्तरीय सामान प्रयोग गर्न निर्देशन दिएका थिए । जनप्रतिनिधिको स्थलगत अनुगमन निरीक्षणपछि तमोर नदीको लुम्बुघाटमा निर्माणाधीन मोटरेबल पुल निर्माण नै रोकिएको छ । निर्माण कम्पनीले पुलमा कमसल सामग्री प्रयोग गरेको जनगुनासो आएपछि दुवै जिल्लाका जनप्रतिनिधिले फरक–फरक समयमा पुलको स्थलगत अनुगमन गरेका हुन् । विभिन्न बहाना देखाउँदै पुल निर्माणमा ढिलाइ गर्दै आएको स्वछन्द निर्माण सेवालाई पुलमा प्रयोग गरिएका सामग्रीको ल्याब टेस्ट रिपोर्ट नआउन्जेल काम रोक्न जनप्रतिनिधिले निर्देशन दिएपछि लामो समयदेखि पुल निर्माणकार्य रोकिएको हो ।
निर्माणमा प्रयोग भइरहेका सामग्रीको परीक्षण रिपोर्ट आएपछि मात्र काम अघि बढाउन भनिएको म्याङलुङ नगरपालिकाका मेयर संजय तुम्बाहाम्फे बताए । उनका अनुसार तेह्रथुम र पा“चथरका जनप्रतिनिधिको टोलीले फरक–फरक मितिमा पुलको स्थलगत अनुगमन निरीक्षण गरेका थिए । निर्माण कम्पनीले पुल निर्माणमा ढिलाइ गरिरहेको र निर्माणमा प्रयोग गरिएका सामग्रीसमेत कमसल रहेको जनगुनासो आएपछि पुलको स्थलगत अनुगमन निरीक्षण गरिएको पाँचथरका प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्बाङले बताए । “पुल निर्माणमा प्रयोग भएका सामग्रीहरू कमसल भेटियो, परीक्षणका लागि सम्बन्धित कार्यालयलाई निर्देशन दिएका छौं,” उनले भने । कुम्मायक गाउपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङसहितका जनप्रतिनिधिले पनि पुल निर्माणको काम चा“डै सक्न माग गरेका छन् । “निर्धारित समयमा पुल निर्माणको काम सम्पन्न नहँुदा दुई जिल्लाका नागरिकले सास्ती भोग्नु परेको छ,” अध्यक्ष चेम्जोङले भने ।

सडक डिभिजन कार्यालय धनकुटाले स्वच्छन्द निर्माण सेवा काठमाडौंलाई तीन वर्षमा काम सम्पन्न गर्ने गरी ५ वर्षअघि ठेक्का सम्झौता गरेको थियो । तर अहिलेसम्म ४० प्रतिशत पनि काम पूरा नभएको सडक डिभिजन प्रमुख विष्णुप्रसाद काफ्लेले बताए । निर्माण कम्पनीले भने भारतीय नाकाबन्दी, बाढी पहिरो, सामान ढुवानीमा सडक समस्या लगायतका कारण पुल निर्माणमा ढिलाइ भएको जनाएको छ । कम्पनीले पा“च वर्षमा चारवटा पिलर हालेर पुलको सतह ढलान गरेको छ । बा“की ६० प्रतिशत कामको अवस्था लथालिंग छ । अहिले पुल निर्माणस्थलमा निर्माण कम्पनीले लेखापाल दीपक विष्टलाई हेरालु राखेर काम त्यसै छोडेको छ ।
सडक डिभिजन कार्यालयका अनुसार १६० मिटर लामो पुलमा ९२ मिटर ढलान हुनेछ भने बाँकी ५७ मिटर स्टिलको ट्रस्ट राखिनेछ । दुई लेनको पुल निर्माणका लागि स्वच्छन्द निर्माण सेवाले २०७० सालमा १५ करोड ३६ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गर्न ठेक्का सम्झौता गरेको थियो । २०७३ सालमा निर्माण सम्पन्न हुनुपर्ने पुल निर्माण कम्पनीको लापरबाहीका कारण दुई वर्ष ढिला हुँदा पनि आधा काम पनि सम्पन्न भएको छैन । पुलमा अझै दुईवटा पिलर, चार स्लाप र ६० मिटर लम्बाइको ट्रष्ट निर्माण गर्न बा“की छ ।
निर्माण कम्पनीले पटकपटक म्याद थप गर्दै आए पनि अहिलेसम्म ५० प्रतिशत पनि काम सम्पन्न नगरेको डिभिजन प्रमुख काफ्लेको भनाइ छ । “पुलमा प्रयोग गरिएका निर्माण सामग्री कमसल भएको भन्ने गुनासो आएपछि अहिले परीक्षणमा पठाएका छौं,” प्रमुख काफ्लेले भने । पुल निर्माणको काम रोकिएपछि यहाँ कार्यरत मजदुर पनि घर फर्किएका छन् । निर्माण कम्पनीका साइट इन्जिनियर प्रमोद न्यौपानेले भने तोकिएबमोजिमकै निर्माण सामग्री प्रयोग गरिएको दाबी गरे । “ढुंगा, बालुवा, गिटी, सिमेन्टलगायतका सबै सामानको ल्याब टेस्ट गरेरमात्र प्रयोग गरेका छांै,” उनले भने, “विवाद भएकाले सामानको ल्याब परीक्षणका लागि पुनः प्रयोगशाला पठाएका छांै, रिपोर्ट आउने बित्तिकै काम सरु हुन्छ ।”


सातामा धेरै पढिएको