कारोबार संवाददाता
मंगलबार, श्रावण १, २०७५
1651

७ सय ५३ स्थानीय सरकारमध्ये केहीले गत आर्थिक वर्ष ०७४/७५ मा केही नमुना काम गर्ने प्रयास गरेका छन् । उनीहरूले गत आवमा केन्द्र सरकारबाट प्राप्त भएको समानीकरण अनुदान र आन्तरिक आय स्रोतद्वारा पूर्वाधार विकास, टेलिफोन टावर, विद्यालयमा वायो मेट्रिक्स हाजिरीलगायतका काम गरेका हुन् । तिनको काममा अन्य निकायको पनि हातेमालो गरेका छन् । 
म्याग्दीको धवलागिरी गाउँपालिकाले गत आवमा मोबाइल सेवा विस्तारका लागि नेपाल टेलिकमसँगको सहयोगमा टावर निर्माण गरेको छ भने झोलुङे पुल पनि निर्माण गरेको छ ।  वडा नम्बर ४ जेल्तुङस्थित म्याग्दी नदीमाथि झोलुंगे पुल निर्माण भएपछि पूरै दिनको बाटो एक घण्टामा छोटिएको छ । टावर सञ्चालन भएपछि गाउँपालिकाको केन्द्र मुना, मुदी, खिवाङ, खोरिया, फलियागाउँ, घट्टेखोला क्षेत्रमा मोबाइल सेवा विस्तार भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिइन् । टावर स्थापनाका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ खर्च गरेर भवन निर्माण गरेको अध्यक्ष पुनले बताइन् । उनले मुनामा इन्टरनेट, २ नम्बर वडा लुलाङ, लमसुङ, ५ नम्बर वडा मल्कवाङ र धौलागिरि चक्रीय पदमार्गको प्रवेशद्वार बगर क्षेत्रमा पनि मोबाइल सेवा विस्तारका लागि पहल भएको छ । ४४ लाख ७६ हजार १८८ रुपैयाँ लागतमा निर्माण भएको झोलुंगे पुलबाट ३७ घरधुरीका २२३ जनसंख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष नरप्रसाद पुनले बताए । जसमा गाउँपालिकाको ५ लाख ५३ हजार, झोलुंगे पुल सहयोग इकाई (टीबीएसयू) को ३ लाख ७४ हजार रुपैयाँ बराबरको लट्ठा र बुल्डअफ ग्रिप, सरकारको ३४ लाख ८२ हजार ५१० रुपैयाँ अनुदान र समुदायको ९२ हजार २०१ रुपैयाँ बराबरको श्रमदानमा पुल निर्माण भएको सचिव डिलबहादुर पुनले जानकारी दिए । टीबीएसयूका प्र्राविधिक अधिकृत श्रीधर भण्डारीले यो पुल स्थानीय तहले बनाएको सम्भवतः नेपालकै पहिलो भएको बताए । धवलागिरि गाउँपालिकाले पुल बनाएर स्थानीय तह पनि पुल निर्माणमा सक्षम भएको सन्देश प्रवाह गराउन सफल भएको भण्डारीले बताए । म्याग्दीमा यस वर्ष ११ वटा झोलुंगे पुल निर्माण भएका छन् । 
इलामको सूर्याेदय नगरपालिकाका सामुदायिक विद्यालयहरूमा राखिएको बायोमेट्रिक्स डिजिटल हाजिरी प्रभावकारी भएको छ । नगरप्रमुखले कार्यकक्षमै बसेर शिक्षकहरू विद्यालय आए अनाएको निरीक्षण गर्न पाउने भएपछि सो प्रविधि प्रभावकारी भएको हो । सबै शिक्षक आए नआएको र अनुगमन गर्न सम्बन्धित विद्यालय पुग्नु नपरेपछि समयको बचत भएको नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले जानकारी दिए । नगरप्रमुख रणबहादुर राईले आफ्नो कार्यकक्षबाट नै कतिजना शिक्षक विद्यालय हाजिर भएको कतिजना नआएको साथै पूरा समय विद्यालय बसे नबसेको कार्यालयबाट नै जानकारी लिने गरेका छन् । नगरका तीनवटा विद्यालयमा सो प्रविधि राखिएको छ । नगरपालिकाका फिक्कल मावि, कृष्णाश्रम मावि र करफोक माविमा पहिलो चरणमा बायोमेट्रिक हाजिरी प्रणाली सञ्चालन गरिएको छ । सामुदायिक विद्यालयको नतिजा राम्रो नहुने, शिक्षक, शिक्षिका नियमित विद्यालय नआउने लगायतका गुनासाको सम्बोधन हुने आशाले विद्यालयमा बायोमेट्रिक्स हाजिरी मेसिन राख्न सुरु गरिएको नगरपालिकाले जनाएको छ । शिक्षकहरू विद्यालय आए पनि पूरा समय विद्यालय नबस्ने भएपछि विद्यालय आइसकेपछि सुरुमा र विद्यालय छुट्टी भइसकेपछि दुई पटक हाजिरी गर्ने ब्यवस्था मिलाइएको छ । सूर्योदय नगरपालिकामा १५ वटा माध्यमिक विद्यालय छन् । पहिलो चरणमा ३ वटा विद्यालयमा राखिएको हाजिरी मेसिन प्रभावकारी भएपछि दोस्रो चरणमा अन्य विद्यालयमा पनि राख्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । पहिलो चरणमा तीनवटा विद्यालय र दुईवटा प्राथमिक स्वास्थ्य केन्दमा सो प्रविधि राखिएको छ । सूर्योदय नगरपालिकाभित्र रहेका प्राथमिक स्वास्थ्य केन्द्र फिक्कल र प्राथमिक स्वास्थ्य केन्द्र पशुपतिनगरमा यो प्रविधि सञ्चालनमा ल्याइएको छ ।विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्र राखिएको डिजिटल मेसिनमा शिक्षक र स्वास्थ्यकर्मीले हातका औंठाले छोएर हाजिर गरेको नगरपालिकामा रेकर्ड जाने गर्दछ । नगरपालिकाले त्यसका लागि छट्टै कम्प्युटरको व्यवस्था गरेको छ । नगरपालिका प्रमुख रणबहादुर राईले यो प्रविधि प्रभावकारी भएको जनाएका छन् । नगरपालिकाले नगरवासीको सम्पत्ति करलगायतका अन्य अभिलेखको विवरण पनि डिजिटल प्रणलीमार्फत नै गर्न सुरु गरेको छ । यसै वर्षबाट एउटा विद्यालय छनोट गरेर बिहान ७ बजेबाट नै विद्यालय सञ्चालन हुने बताइएको छ । बेलुका समेत ६ बजेमात्र विद्यालय छुट्टी हुने भएकाले सबै शिक्षक र विद्यार्थीको खाना र खाजा खर्चसमेत विद्यालयले नै ब्यहोर्ने बताइएको छ  । पाइलोट प्रोजेक्टका रूपमा एउटा विद्यालय छनोट गरेर काम अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराइले जानकारी दिए । तर बागलुङको तमानखोला गाउँपालिकाले भने उसकै  अगुवाइमा  विस्तार गर्ने भनेको इन्टरनेट सेवा सफल नहुने देखिएको छ । परीक्षण सफल नभएपछि गत वर्षबाट मात्रै मोबाइल सेवा उपभोग गर्न पाएका तमानखोलावासीको इन्टरनेट चलाउने सपनासमेत पर सरेको छ । अध्यक्ष जोकलाल बुढाले हाम्रो पहिचान अहिले अशिक्षा, विपन्नता र दुर्गमताको रूपमा रहेकोले बदलेर नमुना गाउँपालिका बनाउने अठोट लिएको बताए । “घरघरमा इन्टरनेट सुविधा पुराउने सोचसहित काम सुरु गरेका थियौं,” उनले भने, “भौगोलिक विकटता हाम्रो बाधकको रूपमा देखियो ।” अग्लाअग्ला डाँडाकाँडा र खोचहरूकै कारण तत्काल इन्टरनेट सुविधा  विस्तार गर्न नसकेको उनी बताउँछन् ।   डेढ लाख रुपैयाँ खर्च गरेर परीक्षण नै सफल नभएपछि तत्काल गाउँपालिकामा इन्टरनेट सेवा सम्भव नभएको निष्कर्षमा पुगेको बुढाले बताए । “गाउँपालिकाभर खोच नै खोच छन् जसका कारण मोबाइल टावर टिपाउन पनि समस्या,” अध्यक्ष बुढाले भने, “सानो लगानी र मेहनतले यो सम्भव देखिँदैन ।” तत्काल इन्टरनेट सुविधा पुराउन नसके पनि सेवा विस्तारका विषयमा टेलिकमसँग कुरा भइरहेको उनले बताए ।


सातामा धेरै पढिएको