दीननाथ बराल
सोमवार, मंसिर ११, २०७४
698

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्टले आगामी दुई वर्षमा उज्यालो नेपाल बनाउने बताएका छन् । पोखरा लेखनाथ महानगरपालिकाको आयोजनामा आइतबार पोखरामा आयोजित पोखरा स्मार्ट सिटीको अवधारणा विषयक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले आफ्नो दुई वर्षीय कार्यकालमा हरेक नेपालीलाई विद्युत्को पहुँच पुर्याउन आफूहरूले उज्यालो नेपाल अभियान ल्याएको बताउँदै त्यसलाई दुई वर्षभित्र उज्यालो नेपाल बनाएरै छाड्ने दाबी गरे ।
नेपालमा हाल २ सय मेगावाट विद्युत् अपुग भएकाले हाल प्रयोग हुने गरेको ४० वाटको बल्बलाई ९ वाटको बल्ब प्रयोग गर्दा त्यो सम्भव हुने अध्यक्ष भट्टले दाबी गरे । उनले भने, “यो अभियान सफल पार्न एक करोड बल्ब दियो भने सम्भवतः पूरा हुन सक्छ, बचत नै आम्दानी हो भन्ने मान्यताका साथ हामी यो अभियानमा लागेका हौं ।”
तीन जनाबाट एक जना पर्यटक पठाउने गरी ‘अतिथि देवो भव अभियान’ समेत संचालन गरेको अध्यक्ष भट्टले जनाए । स्पेनले हाल ६ करोडभन्दा बढी पर्यटक भिœयाउने गरेको प्रसंग कोट्याउँदै अध्यक्ष भट्टले विश्वकै उत्कृष्ट मुलुकमा पर्ने नेपालमा भने ८ लाख पर्यटक पनि भित्रिन नसकेकोमा गुनासो गरे । आफ्नो दुई वर्षीय कार्यकालभित्रै वार्षिक १५ लाख पर्यटक भित्र्यौनॆ गरी विभिन्न अभियानमा लागेको उनले बताए । उनले भने, “नेपाललाई सुन्दर देशका रूपमा लैजानु पर्छ, एयरपोर्टमा महिला पुलिसहरू बढीभन्दा बढी परिचालन गर्नुपर्छ, एयरपोर्ट नै स्मार्ट हुने, र प्रविधि मैत्री बनाउनुपर्छ ।” बुद्ध जयन्ती, सगरमाथा दिवसलगायतका मूल्य दिवसको अवसरमा विदेशबाट पाहुनाहरू ल्याउने अभियानमा आफूहरू समेत लागेको बताउँदै उनले तीन जनाबाट कम्तीमा एक जना पर्यटक स्वदेश भ्रमणमा निस्कने वातावरण तयार गर्नुपर्ने सुझाव दिए ।
सकेसम्म पोखरामा प्लास्टिकजन्य वस्तुहरू कम प्रयोग गर्न सुझाव दिंदै अध्यक्ष भट्टले एनआरएनलाई परिचालन गर्न आग्रह गरे । उनले आफुहरू कुनै पनि गृहकार्य गर्न तयार रहेको उल्लेख गरे । बीबी एयरका संचालकसमेत रहेका अध्यक्ष भट्टले पोखरामा पर्यटन प्रवद्र्धन गर्न ७२ देखि एक सय सिटे हवाइ जहाज पोखरादेखि भारत, चीन, बंगलादेशलगायतका देशबाट सिधा हवाइ सेवा दिने गरी संचालनको लागि अध्ययन भइरहेको जानकारी दिए ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष एवं मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले पोखरालाई स्मार्ट सिटी बनाउने अभियानमा यहाँका २८ वटा वाणिज्य बैंक होस्टेमा हैंसे गर्न तयार रहेको बताए । उनले पोखरामा हाल ५० वटा सिसी क्यामरा आवश्यक भएको कुरा आउनु स्वाभाविक भएको बताउँदै त्यसको राम्रोसंग संचालन र व्यवस्थापनको ग्यारेन्टी भए आफूहरूले सीसी क्यामरा सहयोग गर्ने बताए । पोखरा स्थानीय र विदेशीको मुखहरूको सहर भएको उल्लेख गर्दै अध्यक्ष शाहले पोखरा आउने पर्यटकहरूका लागि स्मार्ट सिटीको प्रयोग गर्नको लागि आवश्यक सेवा सुविधासहितको मोबाइल एप्स तत्काल संचालन गर्नुपर्ने बताए । उनले भने, “क्यासलेस बनाउन, घरमै बसेर कर तिर्ने सिस्टमको विकासको लागि, डिजिटल कार्डको लागि बैंकहरू आवश्यक सहयोग गर्न तयार छन् ।”
पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले पोखरा अन्तर्राष्ट्रिय सहर भएकाले गर्दा पनि यहाँको सेवा सुविधा अत्याधुनिक तथा स्मार्ट सिटीको अवधारणमा हुनुपर्नेमा आफूहरू लागिपरेको बताए । उनले भने, “हामीले स्मार्ट सिटी बनाउने अभियानमा लाग्दै गर्दा यहाँ प्रयोग हुने प्रविधि सफ्टवेयरहरूको सुरक्षा, उपयोगिता, प्रयोगलगायतका कुरामा समेत ख्याल गर्नू पर्ने भएकाले गर्दा पनि हामीलार्ई सल्लाह सुझावको आवश्यकता छ । ” पोखरा स्मार्ट सिटी हब प्राविधिक सदस्य राजेन्द्र पौडेलले पोखरामा अनलाइन सेवासमेत आवश्यक भएको बताए ।
महानगरलार्ई डस्टविन सहयोग
एनआरएनएले पहिलो चरणमा एक हजार वटा डस्टविन दिने भएको छ । एनआरएनएका अध्यक्ष भवन भट्टले आइतबार पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी संगको भेटवार्तामा उक्त सहयोग गर्ने वचन दिएका हुन् ।
भट्टले पोखरा प्रदेश नम्बर ४ को राजधानी हुने प्रबल सम्भावना भएकाले यहाँको विकासको लागि एनआरएनएले आवश्यक सहयोग गर्न तत्पर रहेको बताए । उनले भने, “म यो क्षेत्रकै बासिन्दा भएको नाताले पनि यहाँको आर्थिक विकास र समृद्धि गर्नु हाम्रो कर्तव्य हो, यहाँको विकासका लागि के कस्तो काम गर्नु पर्दछ, मलाई महानगरपालिकाले गृहकार्य दिओस् त्यसमा मैले सकेसम्मको सहयोग गर्नेछु ।” यस क्षेत्रमा उत्पादन भएको फोहोरलाई सही ढंगले प्रयोग गर्न सके ऊर्जासहित अन्य वस्तुहरू निमार्ण गर्न सकिने जनाए ।
मेयर जिसीले पोखरालाई स्मार्ट सिटी बनाउने अवधारण राख्दै यसको लागि कस्तो प्रविधि र कस्तो सहर बनाउने त्यसको विषयमा विभिन्न संघसंस्थाका प्रतिनिधि तथा विज्ञसहितको टोलीसंगको छलफलमा रहेको उल्लेख गरे । उनले भने, “पोखरालाई स्मार्ट सिटी बनाउने अभियानमा हामीले यहाँको वातावरण सन्तुलन कायम गर्दै यदि कसैले सहकार्य गर्न तयार हुन्छन् भने हामीले लगानीको वातावरण तयार पारेका छौं ।”