कारोबार संवाददाता
सोमवार, असार २९, २०७७
473

सिन्धुलीमाढीमा अत्याधुनिक सभाहल निर्माण गरिने भएको छ । कमलामाई नगरपालिका–६ मा रहेको पुरानो सभाहल भत्काएर सोही ठाउँमा भवन निर्माण गरिने भएको हो ।
नगर विकास कोषको ११ करोड ऋण र नगरपालिकाको साढे ५ करोड लागतमा सभाहल निर्माण हुने जनाएको छ । करिब साढे १६ करोड रुपैयाँ लागतमा सभाहल निर्माणका लागि सम्भौता सम्पन्न भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार नगरपालिका र नगर विकास कोषबीच उक्त भवन निर्माणका लागि आइतबार ऋण सम्झौता भएको हो । ऋण सम्झौतामा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री र नगर विकास कोषका निमित्त कार्यकारी निर्देशक राजेशकुमार भोछिभोयले हस्ताक्षर गरेका छन् ।
अब बन्ने भवन चार तलाको हुने बताइएको छ । भवनको जमिनमुनि पार्किङ, पहिलो, दोस्रो र तेस्रो तलामा सपिङ मल र चौथो तलामा सभाहल हुने नगरपालिकाका मेयर खत्रीले जानकारी दिए । “सो भवन न्यूनतम ५ सय जना अट्ने क्षमता हुने छ,” उनले भने, “यो सिन्धुली जिल्लाकै पहिलो लिफ्टसहितको भवन हुनेछ ।” सभाहल दुई वर्षमा निर्माण सम्पन्न गरिने योजना छ ।