कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
351

महेन्द्रनगर-कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको अत्याधुनिक प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । २०७४ सालमा ७ करोडको लागतमा निर्माण गर्न ठेक्का भएको गाउँपालिकाको प्रशासनिक भवनको निर्माणकार्य झण्डै ९६ प्रतिशत सकिएको छ । गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीका अनुसार गाउँपालिकाको प्रशासनिक भवनको निर्माणकार्य लगभग पूरा भएको छ ।
“गाउँपालिकाले अत्याधुनिक प्रशासनिक निर्माण गरिरहेको छ, भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।” अध्यक्ष क्षेत्रीले भने, “भवनमा लिफ्ट सिस्टम पनि जडान गरिने भएकाले निर्माणकार्य लिफ्ट जडानमै रोकिएको छ ।” लिफ्ट जडान गर्न भारतबाट लिफ्ट ल्याउनु पर्ने भएकाले लकडाउनले गर्दा ल्याउन समस्या भएको छ । केही दिनमा लिफ्ट मगाएर प्रशासनिक भवनको सम्पूर्ण काम सक्ने योजना रहेको अध्यक्ष थापा क्षेत्रीले बताए ।

प्रशासनिक भवन भूकम्प प्रतिरोधी, अपांगमैत्री र वातावरणमैत्री हुने गरी निर्माण गरिएको छ । निर्माण गरिएको प्रशासनिक भवन जिल्लाकै सरकारी भवनमध्ये उत्कृष्ट भवन भएको गाउँपालकिाले जनाएको छ । लिफ्ट सिस्टम गरी गाउँपालिकाको भवन ४ तलाको बनाइएको छ ।
“जिल्लाकै सरकारी निकायका भवनमध्ये गाउँपालिकाको नयाँ प्रशासनिक भवन जिल्लाकै उत्कृष्ट भवनमा पर्न सक्छ गाउँपालिकाले सवै सेवा सुविधालाई सजिलो, सहज तथा प्रधावकारी बनाउनलाई नयाँ अत्याधुनिक भवन निर्माण गरिएको छ, केही दिनमै विषयगत शाखा छुट्याएर भवन सञ्चालनमा ल्याइनेछ,” अध्यक्ष थापा क्षेत्रीले भने । भवनमा अहिले विद्युत् जडानको कार्य पनि सकिएको उनले बताए ।
गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माण गरेसँगै वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्ने योजना पनि बनाएको छ ।
“गाउँपालिकाको भवनसँगै वडा कार्यालयका भवन पनि निर्माण गर्ने योजना गाउँपालिकाको छ, वडा कार्यालयको भवनको निर्माणका लागि जमिन हेर्ने काम भइरहेको छ । अघिल्लो वर्ष जग्गामा केही विवाद आएपछि यस वर्ष भने प्रत्येक वडाका लागि ७५ लाखका दरले गाउँपालिकाले बजेटसमेत विनियोजिन गरेको छ,” उनले भने । वडा कार्यालयका भवनलाई यसै आर्थिक वर्ष ०७७-७८ मा सुरु गरिने अध्यक्ष क्षेत्रीले बताए ।
गाउँपालिकाको प्रशासनिक भवनको साउन मसान्तसम्म निर्माणकार्य गरिसक्नु पर्ने भए पनि अगाडि नै सकिएको छ । नयाँ भवन सञ्चालनमा आएपछि अहिलेको कार्य सञ्चालनमा रहेको भवनलाई कर्मचारी आवासमा प्रयोग गर्ने गाउँपालिकाको योजना छ ।

चन्द्रकान्त जोशी