सागर परियार
बिहिवार, असार २५, २०७७
400

नाग्म–गमगढी सडकखण्ड हिलाम्य


जुम्ला-निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि सिँजा गाउँपालिका–२ रनुखानस्थित हिमा नदीमा निर्माणाधीन पक्कीपुल अझै बन्न सकेको छैन । अहिलेसम्म एउटा पिल्लरमात्रै ठडिएको छ । त्यो पनि अधुरै छ । प्रत्येक वर्ष करोडौं बजेट छुट्याउँदा पनि ठेकेदारकै ढिलाइले निर्माणकार्य अलपत्र भएको हो । पुल निर्माणका लागि २०६९ मै चार करोड २५ लाखमा ठेक्का सम्झौता भएको थियो भने २०७० देखि निर्माण थालिएको थियो । तर हालसम्म एउटा पिल्लर पनि पूर्णरूपमा ठडिएको छैन ।
स्थानीय हंश सार्कीले भने, “पुल निर्माणका लागि पटक–पटक माग नगरेको पनि हैन । तर राज्यले लगानी गर्ने अनुगमन निरीक्षण नगर्ने भएका कारण समस्या देखिएको छ ।” जनप्रतिनिधिको टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत पुगेको थियो । तैपनि पुल निर्माणका लागि ताकेता नभएको स्थानीय बासिन्दाले गुनासो गरे । पुल निर्माणका लागि ल्याइएका दुई सय बोरा सिमेन्ट प्रयोग नभएरै खेर गएको छ भने  छड, गिट्टी, बालुवा पनि अलपत्र छ । सात वर्ष बितिसक्दा पनि पुल निर्माण नुहँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।

पाँच सय रोपनी खेत बाँझै
हिमा नदीमा पुल बनाउन सुरु गर्दा सिँचाइ कुलो भत्किएको थियो । पुल नबनेपछि सिँचाइ कुलो पनि बनेको छैन । जसका कारण सिँजा–२ रनुखाना गाउँको पाँच सय रोपनी खेत बाँझै रहेको स्थानीय बासिन्दाले गुनासो गरे । स्थानीय महेश्वर तिरुवाका अनुसार पुल बन्ने भएपछि सिँचाइ कुलो भत्काउन दिइएको थियो ।
नाग्म–गमगडी सडक हिलाम्य
कर्णाली राजमार्गको नाग्म–गमगढी सडक वर्षाका कारण हिलाम्य भएको छ । सडकमा यातायातका साधनमात्रै होइन पैदलयात्रुले समेत सास्ती भोग्दैै आएका छन् । जनताको सास्तीमा सरकार भने मूकदर्शक भएको छ । सडक स्तरोन्नतिका लागि हरेक वर्ष करोडौँ बजेट विनियोजन हुन्छ, तर कामै नभएर फ्रिज हुने गरेको सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । उनले भने, “यो सडक प्रदेश र संघीय सरकार निर्माण गर्ने भनिएकाले स्थानीय तहले बजेट विनियोजन गर्न मिल्दैन । बजेट खर्च गरेको खण्डमा बेरुजु हुन्छ ।”
त्यस्तै हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीको भनाइ पनि उस्तै छ । उनी भन्छन्, “गाउँपालिकाअघिको जुगाड खण्ड सधैँ हिलाम्य हुन्छ । ग्राभेलका लागि सधैँ ठेकेदार पक्षसँग भनेका हुन्छौं, बन्दैन । यसले गर्दा हामी जनप्रतिनिधिले सधैँ गाली खाने गरेका छौँ । यसमा स्थानीय सरकारले बजेट खर्च गर्न मिल्दैन । अघिल्लो वर्ष हिलो पन्छाउनका लागि न्यून रकम खर्च गर्दा महालेखा नियन्त्रक कार्यालयले बेरुजु देखायो । संघीय सरकारअन्तर्गत सडक ग्राभेलका लागि टेन्डर भएको तीन वर्ष बित्न लाग्दा पनि ग्राभेल हुन सकेको छैन ।
ग्राभेलको काम अलपत्र
कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको नाग्मदेखि आचार्य लिहीसम्मको १९ किलोमिटर ग्राभेल गर्ने भनिए पनि करिब नौ किमिमात्रै ग्राभेल हुँदा सडक यात्रा कष्टकर बनेको छ ।
हिम्दुङथोकर–हिरा नमिता जेभीले नाग्मबाट बड्कीसम्मको १३ किलोमिटर सडक सात करोड ९० लाख ९५ हजार एक सय ७७ रुपैयाँमा थोदुङ कन्स्ट्रक्सनले ग्राभेल गर्ने जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले दसैंअघि नै काम सम्पन्न गर्नुपर्ने थियो । बड्कीबाट आचार्य लिहीसम्मको साढे चार किलोमिटरको काम भने सम्पन्न भइसकेको छ ।
नाग्म–गमगढी राजमार्गको सिञ्जा सडक खण्डअन्तर्गत अधिकांश स्थानमा अत्यधिक हिलो र खाल्डाखुल्डीले गाडी फस्ने भएकाले अधिकांश गाडी जानै मान्दैन । यसले गर्दा यात्रुले थप समस्या भोग्दै आउनुपरेको स्थानीय डिल्ली तिवारीले बताए । उनका अनुसार सिञ्जा क्षेत्रमा दिनभरमा तीन किमिसमेत गाडी गुड्न सक्दैनन् ।
यातायात समस्याकै कारण माथिल्लो सिञ्जा र मुगुका यात्रुहरू बीच बाटोमै बास बस्न बाध्य छन् । नाग्म–गमगढी राजमार्गको तल्लो क्षेत्रमा पनि समयमै मापदण्डअनुसारको ग्राभेल नहुँदा यात्रुलाई सास्ती भएको छ ।