कारोबार संवाददाता
बिहिवार, असार २५, २०७७
389

गोरखामा स्थानीय पूर्वाधार कार्यक्रमअन्तर्गत ५३ किलोमिटर सडक कालोपत्रे भएको छ । भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत विभिन्न दातृ निकायको सहयोगमा सडक कालोपत्रे गरिएको हो ।
भूकम्पीय आपतकालीन सहायता आयोजनाअन्तर्गत ४ वटा सडकखण्ड कालोपत्रे भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारका प्रमुख रामशरण आचार्यले जानकारी दिए । आयोजनाअन्तर्गत एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा पालुङटारको लुइँटेल भञ्ज्याङदेखि नयाँगाउँसम्मको सडक कालोपत्रे भएको हो । उक्त खण्डलाई दुई भागमा बाँडेर स्तरोन्नति र कालोपत्रे गरिएको आचार्यले बताए ।

पहिलोखण्डअन्तर्गत लुइँटेल भञ्ज्याङबाट चित्रेपोखरीसम्मको १८.२५ किमि ४० करोड २३ लाख रुपैयाँको लागतमा कालोपत्रे भएको छ । चित्रेपोखरीबाट नयाँगाउँसम्मको सडकको लम्बाइ भने १३ किमि छ । उक्तखण्ड कालोपत्रेका लागि ३० करोड १५ लाख रुपैयाँ खर्च भएको उनको भनाइ छ । लुइँटेल भञ्ज्याङबाट नयाँगाउँसम्मको सडक कालोपत्रेमा भएको खर्चमध्ये ८८ प्रतिशत एसियाली विकास बैंक एडीबी र १२ प्रतिशत लगानी नेपाल सरकारको छ ।
भूकम्पीय आपतकालीन सहायता आयोजनाअन्तर्गत नै नयाँगाउँबाट भच्चेक हुँदै सिरानडाँडासम्मको १३.८ किमि सडकको भने कालोपत्रेको काम चलिरहेको छ । उक्त खण्ड स्तरोन्नति र कालोपत्रेका लागि नेपाल सरकारले ३१ करोड रुपैयाँ विनियोजन गरेको छ । सोही आयोजनाअन्तर्गत ताकुकोट–स्वाँरा–सौरपानी खण्डको ८ किमि सडक कालोपत्रे भएको छ । सो खण्डका लागि २० करोड ४३ लाख रुपैयाँ विनियोजन भएकोमा १३ करोड रुपैयाँ खर्च भएको र हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाईका प्रमुख रामशरण आचार्यले बताए । ५३ किमि सडक स्तरोन्नति र कालोपत्रे गर्न एक अर्ब २१ करोड ८१ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए ।