कारोबार संवाददाता
बिहिवार, असार २५, २०७७
420

सिन्धुली जिल्लाको दुधौली नगरपालिकास्थित कमला नदीमा बनाइएको सडक पुल तोकिएको समयभन्दा एक वर्षअघि नै निर्माण सम्पन्न भएको छ ।
कालिका–रसुवा–ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको उक्त पुल निर्माणकार्यले लकडाउनमा समेत तीव्रता पाउँदा एक वर्षअघि नै निर्माण सम्पन्न भएको हो । तोकिएको समयभन्दा एक वर्षअघि पुल निर्माण भएपछि स्थानीयसमेत उत्साहित भएका छन् । २०७४ मंसिर २७ गते ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सिन्धुली दुधौली नगरपालिका–९ र ११ जोडने कमला नदीमा पुल निर्माणको काम सुरु भएको थियो । तर, २०७८ जेठ २७ गते हस्तान्तरण गर्नुपर्ने पुल एक वर्ष अगावै निर्माण सम्पन्न गरेको कम्पनीका प्रोजेक्ट म्यानेजर डिल्लीराम ढकालले जानकारी दिए । सम्झौतापछि ६ महिना डिजाइन फेज र तीन महिना स्वीकृतिका लागि समय लागेकाले ९ महिनापछि मात्रै निर्माणकार्य सुरु गरेको भए पनि स्थानीयको सहयोग, निर्माण सामग्रीको सहज उपलब्धता, जनशक्तिमा कुनै समस्या नहुनु र कम्पनीले नियमित भुक्तानी गरेका कारण पुल निर्माणकार्य एक वर्षअघि नै सम्पन्न भएको ढकालको भनाइ छ । कुल ६ सय मिटर लामो यो पुल प्रि स्ट्रेस मोडलमा बनेको छ । पुलको कुल लागत करिब साढे ६६ करोड रुपैयाँ रहेको ढकालले जानकारी दिए ।

दुधौली नगरपालिका–११ का वडाध्यक्ष कुमार लामाले पुल निर्माण भएपछि सिन्धुलीका अधिकांश क्षेत्रका बासिन्दालाई सहज भएको बताए । पुल बनेपछि यस क्षेत्रका मानिसलाई आवतजावत गर्न, विद्यालय तथा क्याम्पस जान, उपचारका लागि अस्पताल जान र खेतीपातीका लागि समेत सहज भएको उनले बताए । निर्माण कम्पनीको इमान्दारिताका कारण तोकिएको समयभन्दा एक वर्ष छिटो निर्माण सम्पन्न भएकोमा आफूहरू खुसी भएको लामाले बताए ।
पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने स्थानीय पुल निर्माण भएपछि खुसी भएका छन् । पुल नभएकै कारण बिरामीको अकालमा ज्यान जानुपर्ने अवस्थाको अन्त्य भएको, विद्यालय र क्याम्पस जान सहज भएको, खेतीपातीका लागि समेत सहज भएको स्थानीय बताउँछन् ।
प्रि स्ट्रेस मोडलमा निर्माण गरिएको ६ सय मिटर लामो पुलको वारिपारि २ सय ५० मिटरका दरले सडक पिच गर्ने कार्य पनि सम्पन्न भएको छ । लकडाउनमा पनि नियमित काम गरिएकाले तोकिएको समयअघि नै निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ ।