मुकेश चौधरी
बिहिवार, असार १८, २०७७
476

धनगढी-कैलाली र कञ्चनपुर जिल्लाको चार स्थानीय तहमा आधुनिक सडक निर्माण गर्ने क्षेत्रीय सहरी विकास कार्यक्रमले ठेक्का प्रक्रिया टेण्डर आह्वान भएको एक वर्षपछि मात्रै टुंगिने भएको छ ।
संघीय आयोजना कार्यान्वयन इकाईले धनगढी उपमहानगरपालिका, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको ठेक्का लगाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ भने भीमदत्त नगरपालिकाको सडक निर्माणमा लागि जेठाइसी लामा कन्ट्रक्सनसँग सम्झौता भएको जनाएको छ । गतवर्ष जेठमा टेण्डर आह्वान भएको ती सडक निर्माणका लागि इकाईले सम्झौता गर्न थालेको हो । संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी इन्जिनियर श्याम बुढाथोकीले ठेक्का स्वीकृत गरी सम्झौताका लागि कन्ट्रन्स कम्पनीहरूलाई बोलाइएको बताए । उनले केही दिनमै बाँकी तीनवटा स्थानीय तहको सम्झौता भएर निर्माणकार्य सुरु हुने बताए ।

इन्जिनियर बुढाथोकीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सडक निर्माणको ठेक्का कालिका कन्ट्रन्सलाई परेको छ भने शुक्लाफाँटा नगरपालिकामा रमन र केएफ जेभीको टेण्डर स्वीकृत भएको छ । भीमदत्त नगरपालिकामा जेठाइसी लामा कन्ट्रक्सनसँग ८७ करोडमा सम्झौता भएको उनले बताए । चारवटै स्थानीय तहमा निर्माण कम्पनीहरूलाई सम्झौता भएको मितिले २४ महिनामा काम सक्ने गरी म्याद दिएर सम्झौता गरिरहेको इन्जिनियर बुढाथोकीले बताए । उनले कोभिड–१९ लगायतका कारणले काममा अवरोध नभएमा २४ महिनामा अत्याधुनिक सडक निर्माणकार्य सम्पन्न हुने बताए ।
२०७६ असारमै संघीय आयोजना कार्यान्वयन इकाईले सडक विस्तार कार्यक्रमको प्राविधिक टेण्डरको मूल्यांकन गरी स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाएको थियो । सो प्राविधिक मूल्यांकनमा कालो सूचीमा रमण–पप्पु जेभीसमेत कतिपय सडकको टेण्डरमा पास भएपछि ठेक्का प्रक्रिया अन्योलमा परेको थियो । एक वर्षपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा परेको रमण–पप्पु जेभीबाहेकलाई ठेक्का दिने निर्णय गरेपछि इकाईले निर्माण कम्पनीहरूसँग सम्झौता गर्न थालेको हो ।
पाँच वर्षमा क्षेत्रीय सहरी विकास कार्यक्रमको सबै कार्यक्रम कार्यान्वयन गरिसक्ने गरी सम्झौता भए पनि ठेक्का प्रक्रियामा ढिलई, अनिवार्य गर्नुपर्ने भनी सम्झौता भएको फोहोर मैला व्यवस्थापनको काममा ढिलाइलगायतका कारण कार्यक्रम लागू भएको तीन वर्षसम्म परियोजनाको कुनै पनि काम अगाडि बढ्न सकेको छैन ।
क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत ती चारवटै स्थानीय तहमा सौर्यबत्ती, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक वत्ति, अण्डरग्राउण्ड विद्युतीकरण निर्माणसहितको चार लेन र दुई लेनका सडक गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ । डीपीआरअनुसार ती सडक निर्माण भएमा धनगढी, गोदावरी, शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा हल्का वर्षामा समेत सडक डुवान हुने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।
एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले धनगढी उपमहानगरपालिका, गोदावरी, शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा ११ अर्ब रुपैयाँको लागत हुने गरी क्षेत्रीय सहरी विकास आयोजना लागू गरेको छ । आयोजनाअन्तर्गत धनगढीमा साढे १०, गोदावरीमा १५, भीमदत्तमा १५ र शुक्लाफाँटामा ४ किलोमिटर अत्याधुनिक सडक निर्माण गरिने छ ।
सडक विस्तारका लागि पहिलो चरणमा धनगढीमा एक अर्ब १० करोड, गोदावरीमा ९० करोड, भीमदत्तमा एक अर्ब ३३ करोड र शुक्लाफाँटामा ८७ करोड गरी चार अर्ब २० करोड खर्च हुने लागत अनुमान गरिएको छ । पहिलो चरणमा यी सडक निर्माण सम्पन्न गरी क्षेत्रीय सहरी विकास कार्यक्रममा परेका बाँकी सडक दोस्रो चरणमा निर्माण गर्ने इन्जिनियर बुढाथोकीले बताए ।
क्षेत्रीय सहरी विकास कार्यक्रममा परेका सडकमा स्थानीय र प्रदेश सरकारले मर्मतमा समेत नगर्दा आवागमन कठिन भएको छ । धनगढीको सहिदगेट–क्याम्पस रोड सडक, डिभोटी चोक–पिपलचौतारा सडक र मालपोत रोडमा ठूल्ठूला खाल्डाखुल्डी परेका छन् ।