कारोबार संवाददाता
आइतवार, जेठ १८, २०७७
411

लमजुङ-कोरोना भाइरस संक्रमण जोखिमसँगै उत्तरी लमजुङको न्यादी जलविद्युत् आयोजनाले निर्माण सुरु गरेको विद्युत प्रशारणलाइन कार्य प्रभावित भएको छ । लकडाउनका कारण निर्माण सामग्री ढुवानी र जनशक्ति अभावका कारण विद्युत् प्रशारणलाइन निर्माणकार्य प्रभावित भएको हो ।
मस्र्याङदी गाउँपालिका–६, न्यादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाले नौ किलोमिटर राष्ट्रिय प्रशारणलाइन निर्माण सुरु गरेको थियो । मस्र्याङ्दी करिडोरमा निर्माण हुने भनिएको २२० केभी राष्ट्रिय प्रशारणलाइन निर्माणमा ढिलाइ हुनेभएपछि आयोजना आफैले १३२ केभी प्रशारणलाइन निर्माण सुरु गरेको हो ।

आयोजनास्थलदेखि मस्र्याङदी–८, भुलभुलेसम्म नौ किमि प्रशारणलाइन निर्माण गर्न लागेको हो । यसअघि आयोजनास्थल ङादीखोलाबाट मस्र्याङ्दी–३ टारीकुनासम्म प्रशारणलाइन निर्माण गर्ने भनिए पनि २२० केभीको राष्ट्रिय प्रशारणलाइन निर्माण नहुने भएपछि थप तीन किलोमिटर प्रशारणलाइन निर्माण सुरु गरेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । प्रशारण लाइनको ६ किलोमिटरका लागि आयोजनाको तर्फबाट जग्गा अधिग्रहण सकेर मुआब्जा वितरणको काम सकिएको आयोजनाले जनाएको छ । यसअघिको योजनाअनुसार आयोजनाले ६ किलोमिटरका लागि चारवटा टावरको जगसमेत तयार बनाइसकेको आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए ।
थप करिव साढे तिन किलोमिटर प्रशारणलाइन निर्माणका लागि पनि आयोजनाको तर्फबाट सार्वजनिक सुनुवाइ र पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवनेदन सार्वजनिक गरी जग्गा किनमेलको क्रममा रहेको जनसम्पर्क अधिकृत गुरुङको भनाइ छ । गत चैत महिनामा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको काम पनि लकडाउनका कारण प्रभावित भएको छ । करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको सो आयोजनामा निर्माण सामग्री नहुँदा संरचना निर्माणका काम ठप्प भएको छ ।
आयोजनाका अनुसार आयोजनास्थलबाट टारिकुनासम्म १४ वटा टावर बन्नेछन् । थप तीन किलोमिटरमा भने थप १० वटा टावर निर्माण हुने भएको छ । न्यादीबाट आफ्नै प्रशारण लाइनमा विद्युत् ल्याएर माथिल्लो मस्र्याङ्दीले निर्माण गरेको १३२ केभी प्रशारण लाइनमा जडान गरिने आयोजनाले जनाएको छ । माथिल्लो मस्र्याङ्दी ‘ए’ ले निर्माण गरेको प्रशारण लाइनको तेस्रो टावरमा न्यादीबाट उत्पादित विद्युत् जडान हुने आयोजनाले जनाएको छ ।
विद्युत् प्राधिकरणको नेतृत्व सक्रिय रहेकाले समयमै राष्ट्रिय प्रशारण लाइनको काम सकिने विश्वास राखेको आयोजनाले समयमै काम नहुँदा निराशा व्यक्त गरेको छ । आयोजनाले योजना गरेभन्दा बढी काम गर्नुपरेपछि खर्च पनि थपिएको छ । हाल टारिकुनादेखि भुलभुलेसम्म निर्माण गर्न लागिएको १३२ केभीको प्रशारणलाइन सोही करिडोरमा २२० केभीको राष्ट्रिय प्रशारणलाइन निर्माण भएपछि भने प्रयोगविहीन हुने बताइएको छ ।

सन्देश पौडेल