राजेन्द्र बस्नेत
बिहिवार, जेठ १५, २०७७
1338

धादिङ-काठमाडौंबाट बाहिरिने भित्रिनेलाई पहिलो चिन्ता नागढुंगाको ट्राफिक जाममा परिन्छ कि भन्ने नै हुन्छ । नहोस् पनि कसरी ५२  वर्षअघि तत्कालीन अवस्थामा रहेको मालवाहक तथा यात्रुबाहक गाडीको भारबहन क्षमतालाई निर्धारण गरेर निर्माण गरेको सडक हो त्रिभुवन राजपथ । अहिले सडकको भारबहन क्षमताभन्दा निकै बढी क्षमता र लामो लामो मालबाहक गाडी गुडछन् । नगुडुन् पनि कसरी यस सडकको विकल्पमा अन्य सडक छैनन् काठमाडौँ  छिर्न । सडकको भारबहन क्षमताभन्दा बढी क्षमताका मालबाहक गाडी गुड्दा कोलोपत्रे भत्कन्छ र सडक खाल्डाखुल्डी हुन्छ । उकालो सडकमा क्षमताभन्दा बढी भार बोकेका गाडी र सडकको घुम्तीभन्दा लामो गाडी बिग्रेर प्रायः जसो जाम हुने गर्दछ । ट्राफिक जाम खासगरी चाडपर्वका बेला हुँदै आएको छ भने सामान्य ट्राफिक जाम नियमित जस्तै हुन्छ ।
कोरोना भाइरसको संक्रमणबाट फैलन नदिन चैत ६ गतेबाट शैक्षिक संस्था बन्द गराएपछि काठमाडौंबाट बाहिरिनेको संख्या १० लाखभन्दा बढी रहेको अनुमान गरिएको छ । बाहिरिएका मध्ये ८० प्रतिशत मानिस नागढुंगा सडक भएर बाहिरिएको अनुमान गरिएको छ । बन्दाबन्दी खुलेपछि ति मानिस पुनः काठमाडांै फर्कंदा हुनसक्ने सम्भावित ट्राफिक जामलाई ध्यानमा राखी बन्दाबन्दी अवस्थमा पनि सडक मर्मत सुधार गर्ने काम तीव्रगतिमा भइरहेको छ । सडक खाल्डाखुल्डी र भत्केका स्थानमा कालोपत्रे गर्ने काम भइरहेको प्रतिष्ठा कन्ट्रक्सनका साइट इन्चार्ज विजय अधिकारीले बताए । अहिले गरेको नियमित कालोपत्रे नभई बिग्रेभत्केको स्थानमा मात्र मर्मत सुधार गर्ने काम हो । नौबिसेदेखि नागढुंगासम्म आवश्यकता अनुसार गरिने छ र आइतबारबाट कालोपत्रेको काम सुरु भए पनि पानी परेका कारण काम गर्न केही कठिनाइ भएको छ । तर पनि तीन साताभित्र अर्थात् जेठ अन्तिमसम्म सुधारको काम सकिने साइट इन्चार्ज अधिकारीले बताए ।

शिवाको कन्ट्रक्सन र प्रतिष्ठा कन्ट्रक्सनको संयुक्त साझेदारीमा मोड कटिङ, वाल लगाउन र कोलोपत्रे मर्मत गर्ने काम भ्याटसहित सात करोड ६० लाख भएको सडक डिभिजन कार्यालय भरतपुर साइट अफिस गजुरीका इन्जिनियर कृष्ण खड्काले बताए । चैत पहिलो सातामात्र ठेक्का सम्झौता भए पनि कन्ट्रक्सनले कामलाई तीव्रता दिएको छ । यही गतिमा काम भइरहे जेठ महिनाभित्र मर्मत सुधार गर्ने काम सकिन्छ । कटिङ गरेको स्थानमा मेसेनरी वाल, ड्रन बनाउने काम सडकमा गाडी गुडिरहँदा पनि गर्न सकिन्छ । सडक मर्मत सुधार गर्नका लागि यस पटक गाडी रोक्ने अवस्था छैन । अहिले अतिआवश्यक गाडीमात्र सडकमा आएको इन्जिनियर खड्काले बताए ।
त्रिभुवन राजपथ अहिले पुनः ४० वर्ष पहिलेको अवस्थमा पुगेको छ । त्यतिबेला पनि गाडी फाट्टफुट्ट मात्र चल्थो । अहिले पनि त्यस्तै अवस्था छ । सडक प्रायः सुनसान छ । त्यतिबेलाको भन्दा गाडीको स्वरुप र भारबहन क्षमता भने फरक छ ।