दिलबहादुर केसी
सोमवार, जेठ १२, २०७७
1045

खाडीचौर–जिरी सडक विस्तार

दोलखा-विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सुरक्षाका लागि देशभर बन्दाबन्दी छ । दिनहुँजसो सुरक्षाकर्मीले घर बाहिर ननिस्कन उर्दी जारी गर्दै आएका छन् । तर रोजिरोटीकै लागि चरिकोटदेखि जिरीसम्मको सडक विस्तार आयोजनामा ४ सयभन्दा बढी मजदुर जोखिम मोलेरै काम गर्दै आएका छन् ।
बन्दाबन्दीले सुरुका एक महिना प्रभावित भए तापनि त्यसपछि लयमा आएको छ । सडकको काम हेर्दा बन्दको बन्दाबन्दीको खासै प्रभाव छैन । तर क्षणक्षणको संसारको समाचारले सबैलाई झस्काउने समेत गरेको तामाकोसी नदी क्षेत्रमा काम गर्दै गरेका भीम गुभाजुले बताए । बन्दाबन्दीका कारण एक महिना काम नभएपछि बाहिरका मजदुरहरू घर फर्किए पनि स्थानीय मजदुरले काम पाएका छन् । वैतेश्वर गाउँपालिका–६ बुस्तीमा काम गर्दै गरेको झिल्के सार्कीले भने, “बाहिरका गएपछि गाउँमा बाहिरबाट आएकाले पनि काम गर्न थालेका छन् ।” “हामी त एउटा समूह पहिलादेखि काम गर्दै आएका हौं,” उनले भने, “पहिला स्थानीयस्तरमा काम गर्ने नभेटिँदा ठेकेदारले बाहिरबाट कामदार ल्याए, ति गए अहिले सहरबाट गाउँ आएका सबै सडकमा काम माग्न गएका छन् । काठमाडौंमा गाडी चलाउँने पनि अरु काम नभएपछि सडकमा ढुंगामाटोको काम गर्न थालेका छन् ।
बन्दाबन्दीमा पनि सिद्धाकोथानदेखि जिरीसम्मको काम नरोकिदा त्यहाँ बाहिरकै मान्छेले निरन्तर काम गर्दै आएका छन् । तर अन्य ठाउँमा बाहिरका फर्किएपछि स्थानीयले नै काम गर्दै आएका छन् । स्थानीय घर जाँदा र काममा फर्कदा गाउँघरमा बाहिरबाट आएका संक्रमितसँग भेट भएर धेरैलाई सर्छ कि भन्ने चिन्ता पनि उस्तै छ ।
२० दिनमा किराँती छापदेखि चरिकोटतर्फ ५ किलोमिटर कालोपत्रे समेत भइसकेको छ । कालोपत्रकै लागि सप्तरीबाट १२ जना ल्याइएको र स्थानीय १२ जनाबाट मिसाएर काम गरिरहेको सडक स्तरोन्नतिको काम पाएको उडहिल÷लामा जेभीका कन्ट्रक्सन म्यानेजर रवीन्द्र श्रेष्ठले बताए । सरकारले निर्माणको काम सुचारु राख्ने निर्देशनअनुसार उच्च स्वास्थ्य सतर्कता अपनाउँदै जोखिम उठाएरै भए पनि काम गरिरहेको बताए ।
हरेक मजदुर शिविरमा मास्क, स्यानिटाइजर थर्मल गनको व्यवस्था गरिएको बताए । काम गर्दा मास्क लगाउन समस्या भएको मजदुरहरूले बताए । मजदुरहरूलाई शिविरमै राखेर अन्यत्र सम्पर्क हुन नदिएको र स्थानीय मान्छे काम माग्न धेरै आए पनि जोखिमका कारण नयाँ मजदुर राख्न बन्द गरिएको श्रेष्ठले बताए । वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले गाउँमा बाहिरबाट समेत मानिस आइरहेकाले सडक निर्माणको काममा उच्च सतर्कता अपनाएर काम गराउन निर्देशन दिएको बताए ।
चरिकोट–जिरी सडक विस्तार र तथा स्तरोन्नतिको काम १४ महिनाअघि सुरु भएको हो । वर्षाअघि १६ किलोमिटर कालोपत्रे लक्ष्य भए तापनि लकडाउन र मौसमका कारण लक्ष्यमा पुग्न नसक्ने अवस्था रहेको बताए । तर वर्षाअघि १० किलोमिटर कालोपत्रे पूरा गरी अन्यत्र सबबेस र बेस राख्ने गरी काम गरिरहेको उनले बताए ।
तामाकोसीदेखि जिरीतर्फ भने वैतेश्वर गाउँपालिका–४ चियानेदेखि नाम्दुतर्फ सबबेस हाल्ने कामसमेत सुरु भएको छ । वर्षामा गाडी सहज रूपमा चलाउनका लागि अप्ठ्यारो ठाउँहरूमा सबबेस र बेसको काम गर्ने म्यानेजर श्रेष्ठले बताए । सरकारले निर्माण कार्य सुचारु राख्ने भने तापनि सिमेन्ट र ग्याबिन ढुवानीमा समस्या रहेको बताए ।
सडकको स्टकचरको काम ६० प्रतिशत पूरा भएको छ । स्टक्चरको नाली, निर्माण, ५० वटा ठाउँमा ह्युमपाइप र केही ठाउँमा कल्भर्ट निर्माणको काम बाँकी छ । सडक विस्तार आयोजनाको समग्रमा ३० प्रतिशत प्रगति भएको सडक विस्तारको परामर्शदाता कम्पनी सिमत–ईआरएमसी जेभीका प्रमुख राजेन्द्र पौडेलले बताए ।
२०१८ डिसेम्बर ३ मा ठेक्का सम्झौता भएको सडकको निर्माण अवधि ३० महिना रहेको छ । लामोसाँघुदेखि जिरीसम्मको ११० किलोमिटर सडकमध्ये तेस्रो प्याकेजको काम अहिले चरिकोटदेखि जिरीसम्मको हो । भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माणाधीन सडकमा उडहिल÷लामा जेभीले ठेक्का पाएको छ ।
ऋण दाताको सर्तअनुसार ठेक्कामा भारतीय कम्पनी उडहिलको ५१ प्रतिशत र नेपाली कम्पनी लामा कन्ट्रक्सनको ४९ प्रतिशत सेयरमा ठेक्का सम्झौता भएको हो । २ अर्ब २८ करोड लागतमा ठेक्का सम्झौता भएकोमा साइडमा लामा कम्पनीले नै काम गर्छ ।
४३ वर्षअघि स्वीस सरकारको सहयोगमा निर्माण गरिएको सो सडकमा केन्द्रदेखि दायाँ बायाँ ३० मिटर जग्गा मुआब्जा तिरेर सडकले आफ्नो स्वामित्वमा उही बेला ल्याएको थियो ।