दिलबहादुर केसी
आइतवार, जेठ ११, २०७७
1490

दोलखा-राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लकडाउनकै बीचमा आशा लाग्दो प्रगति हासिल गरेको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको भर्टिकल साफ्ट (ठाडो सुरुङ) मा पाइप जडानको काम लकडाउनको २ महिनाकै बीचमा प्रगति गरेको छ ।
आयोजनाको लकडाउन अघि २६३ मिटर पाइप जडान हुन बाँकी थियो । त्यो पनि माथिल्लो साफ्टमा १५० मिटर र तल्लो साफ्टमा ११३ मिटर । तर लकडाउनको ६१ दिनको बीचमा तल्लो साफ्टको काम पूरा भएको छ भने माथिल्लो खण्डको पनि ५० को आसपासमा आइपुगेको छ । त्यो पनि कुनै समस्या नभए जेठ महिनाभित्रै पूरा गर्ने आयोजना व्यवस्थापन पक्षको योजना छ ।

३७३ मिटर लामो तल्लो ठाडो सुरुङमा पाइप राख्ने जिम्मा अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले पाएको थियो । उसले निर्धारित समयमै आफ्नो भागको काम सकेको हो । ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा पाइप राख्ने जिम्मा भने भारतीय कम्पनी टेक्सम्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । सुरुवाती दिनमा धेरै सुस्त गतिमा काम गरिरहेको टेक्सम्याकोले पछिल्लो समय कामको गति केही बढाएको थियो ।
सबै सुरुङमा पेनस्टक पाइप जडानको ठेक्का भने भारतीय कम्पनी टेक्सम्याकोलाई दिइएको थियो । भारतीय कम्पनीले सन्तोषजनक काम गर्न नसकेपछि आयोजनाले त्रिपक्षीय सम्झौता गर्दै तल्लो ठाडो सुरुङमा पाइप राख्ने जिम्मा अष्ट्रियन कम्पनीलाई दिएको थियो। त्यसपछि आयोजनाको कामले गति लिएको थियो ।
सम्पूर्ण तयारी गरेर गत असार पहिलो सातादेखि दुवै साफ्टमा पाइप जडानको काम सुरु भएको थियो । टेक्सम्याकोको व्यवस्थापन कमजोरीका कारण उसको माथिल्लो साफ्ट छोटो र पाइपको मोटाइ कम हुँदा पनि ढिलाइ भयो ।
आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले पछिल्लो समय १० मिटरको पाइप जडान थाल्दा छिटो भएको बताए । सुरुवाती अवस्थामा २ वटा पाइप जडान गर्न १५ दिनसम्म लाग्ने गरेकोमा पछिल्लो दिनमा ५ दिनमा काम सकिएको छ । पाइप झार्न समय घटेकाले छिटो भएको बताए ।
दुईवटा ठाडो सुरुङको बीचमा एक सय मिटर तेस्रो सुरुङमा पनि पेनस्टक पाइप जडान गर्नुपर्छ । यहाँ गेट पनि हाल्नु छ । ठाडो सुरुङको तुलनामा तेस्रो सुरुङमा पाइप जडान गर्न धेरै सहज हुन्छ । त्यसको काम गर्न एक महिना जति लाग्ने अनुमान छ । तर ठाडो सुरुङभन्दा बाहेकको पाइप र गेट कतिपय लकडाउन अघिदेखि वीरगन्ज भन्सारमा रोकिएका छन् भने कतिपय टेक्सम्याकोको फ्याक्ट्री कोलकोत्तामै रहेका छन् । भारतमा समेत लकडाउन भएकाले ढुवानीमा समस्या भएको छ ।
कोलकोत्तामा रहेका पाइप र गेड ढुवानीका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत, आयोजना प्रमुख र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ निरन्तर लागि रहेको प्रवक्ता न्यौपानेले बताए । आयोजनाको काममा अब यही गेट र पाइप ढुवानीमा नै निर्भर रहने उनको भनाइ छ ।
लकडाउनमा पनि धमाधम काम भइरहेको तामाकोसीमा वेल्डिङ गर्न आर्गन ग्यास अभाव भएको प्रवक्ता न्यौपानेले बताए । नेपालमा धेरै ठाउँमा सोधखोज गर्दा पनि ग्यास नपाइएकोले पाइप वेल्डिङमा केही ढिलाइ हुन्छ कि भन्ने चिन्ता थपिएको छ ।
लकडाउनका कारण आयोजनाको स्थगित भएको हेडवक्र्सको परीक्षण भने लकडाउन पछि पुनः सुचारु गरिने आयोजनाको भनाइ छ । हेडवक्र्सको परीक्षणअन्तर्गत बाँधको परीक्षण भइसकेको छ भने डिस्यान्डरको परीक्षण बाँकी छ ।
माथिल्लो ठाडो सुरुङको ५० मिटर सकिएपछि २ वटा ठाडो साफ्टबीचको एक सय मिटर पाइप जडान र गेट राख्ने कामबाहेक आयोजनाको सबै काम पूरा भएको छ । लकडाउन नभएको भए त्यसको सामान पनि ढुवानी गरेर पाइप जडान हुँदा असार अन्तिमसम्म आयोजनाबाट विद्युत् उत्पादन सुरु हुन सक्ने अवस्थामा रहेको प्रवक्ता न्यौपानेले बताए ।
लकडाउनमा पनि स्वास्थ्य उच्च सतर्कता अपनाउँदै आयोजनाले कामलाई जारी राखेको छ । तर स्थानीयको बेलाबेलाको अवरोध र मजदुर घर जान खोज्दा काममा अवरोध हुँदै आएको छ । भारतीय कम्पनी टेक्सम्याकोको कामको सुस्तता र लकडाउन खुलेर सामान ढुवानी नभएसम्म आयोजनाबाट विद्युत् उत्पादनपछि धकेलिने पक्का छ ।