दीननाथ बराल
बिहिवार, जेठ ८, २०७७
258

पोखरा-लकडाउनकै बीच कास्कीको माछापुछ्रे गाउँपालिकामा विभिन्न भौतिक निर्माण योजना सञ्चालन भएका छन् । गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्र्तगत ९ वटा वडामा रहेका १३ योजनाका अधिकांश काम जारी रहेको माछापुछ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।
एक करोड ५ लाखका योजनाअन्तर्गत वडा नम्बर एकको सरिपाखा रुम्जा मोटरबाटो, वडा नम्बर ५ को मोहरा जानो बाटो, ८ र ९ वडाको घलेल बहुउद्देश्य सामुदायिक भवन निर्माणकार्य केही दिनमा सञ्चालन हुने गाउँपालिका अध्यक्ष गुरुङले जनाए । आफ्नो गाउँ ठाउँमा परेका योजनाको दिगोपनका लागि गुणस्तरमा ध्यान दिन उनले उपभोक्ता समितिहरूलाई आग्रह गरेका छन् ।

लकडाउन निर्माण सामग्री र मजदुर अभाव भए पनि उपभोक्ता समितिका पदाधिकारीले गण्डकी प्रदेश सांसद रामजी बराल, गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, वडा अध्यक्षसमक्ष मंगलबार आग्रह गरेका हुन् । चालू आवको अन्तिम समयमा पनि हाल लकडाउन जारी रहेकाले गर्दा आफ्ना क्षेत्रमा परेका योजनाको अवस्था कस्तो छ भनी बुझ्न गाउँपालिका पुगेका सांसद बरालसमक्ष छनोट भएका योजना सम्पन्न गर्न ससहजीकरण गर्न आग्रह गरे । सांसद बरालसहित माछापुछ्रे गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख इन्जिनियर किरण आचार्य, सबइन्जिनियर सविता बरालसहितको टोलीले माछापुछ्रे गाउँपालिकामा पुगेर दुई ठाउँमा छुट्टाछुट्टै छलफलमा सहभागी भई योजनाका बारेमा जानकारी लिएका थिए ।
सांसद बरालले उक्त योजना समयमै सम्पन्न गर्न आवश्यक सहयोग गर्ने बताए । विभिन्न योजनामा काम गर्न केही कठिनाइ भएको अबस्थामा डिभिजन प्रमुख र गाउँपालिका अध्यक्ष एवं सम्बन्धित वडाध्यक्षहरूले पहल गरी समयमै योजना सम्पन्न गराउन सबैको साथ र सहयोग आवश्यक भएको उनले बताए ।
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका डिभिजन प्रमुख ई. किरण आचार्यले आफूहरूले दिएको योजनाअनुसार काम गर्न समितिलाई आग्रह गरे । असार ९ गतेभित्र उक्त योजना सक्ने गरी काम गर्न सुझाव दिँदै उनले तोकिएको मापदण्डभित्र काम नभए भुक्तानी दिन नसकिने जनाए ।