कारोबार संवाददाता
बुधवार, जेठ ७, २०७७
865

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) मूल बाटोबाटै आउने बताएका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको मंगलबार जवाफ दिँदै ओलीले भने, “एमसीसी जस्केलबाट होइन, मूल ढोकाबाटै आउँछ ।” उनले यो विषय संसदमा टेबल भइसकेको र यो पास गर्ने कि नगर्ने भन्ने विषय अब संसद्को भएको पनि स्पष्ट पारे । गत जेठ २ गते राष्ट्रपतिद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको बुँदा नम्बर २ सय ११ मा लप्सीफेदी–रातमाटे–हेटौंडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४ सय केभी ट्रान्समिसनलाइन’को विषय उल्लेख छ । सोही विषयमा सत्तारुढ दलकै सांसदहरूले एमसीसी जस्केलाबाट ल्याउन खोजिएको टिप्पणी गरेपछि ओली संसदबाटै सरकारको धारणा ब्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ट्रान्समिसन लाइन अनिवार्य ढंगले बनाउनुपर्ने कुरा भएकाले पछाडिको ढोका नभइ अगाडिकै ढोकाबाट बनाइने बताए । “यो सरकारको प्राथमिकताको बिषय हो, पास भए एमसीसीेले बनाउछ नभए अर्कोले बनाउँछ नभए पनि लप्सीफेदी–रातमाटे–हेटांैडा र लप्सीफेदी–रातमाटे–दमौली–बुटवल ४ सय केभी ट्रान्समिसन लाईन सरकारले बनाउँछ,” उनले भने ।

नेपालमा उत्पादन भएको विद्युत् अन्य देशमा निर्यात गर्न पनि ट्रान्समिसन लाइनको आवश्यकता पर्ने उनले बताए । जवाफ दिने क्रममा उनले भने, “ठूलो लगानी गरेर उत्पादन भएको विद्युत् कहाँ लैजाने ? डोकामा बोकेर लाने कुरा भएन, केहीमा बोकेर लाने कुरा भएन । त्यसकारण त्यसका लागि चाहिने ट्रान्समिसन लाइन त्यो अनिवार्य छ । हामी बनाउँछौँ ।” प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्ने र नगर्ने कुराको निष्कर्ष निकाल्न सदनलाई अनुरोध समेत गरे । विगतको सरकारले गरेको सम्झौता अविच्छिन्न उत्तराधिकारको हैसियतले अहिलेको सरकारले अनुमोदनका लागि संसदमा पेश गरेको उनले बताए ।
अघिल्लो सरकारले गरेका सम्झौता पारित गर्दैनौ भन्न नमल्निे पनि ओलीले स्पष्ट पारे । “सम्झौताको परिपालना नभए कूटनीतिक विश्वसनीयता, राज्यहरूका बीचमा गरेका सम्झौताहरूको विश्वसनियता र नीतिहरूको निर्णयहरूको स्थिरता तथा स्थायित्वको विश्वसनियतामाथि प्रश्न उठ्छ,” उनले भने ।
गत आइतबार प्रतिनिधिसभाको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले पनि एमसिसी पास गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । सत्तारूढ दल नेकपाकै सांसद भीम रावलले नीति तथा कार्यक्रममा एमसीसी जबरजस्ती जस्केल ढोकाबाट घुसाएको भन्दै आपत्ति जनाउदै आएका छन् ।