सागर परियार
मंगलबार, जेठ ६, २०७७
278

जुम्ला-कोरोना भाइरसको प्रभाव विकास निर्माणमा पनि परेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि करिब दुई महिना यता जारी लकडाउनको प्रत्यक्ष प्रभाव विकास निर्माण क्षेत्रमा पनि परेको हो ।
सरकारले वैशाख २६ गतेपछि विकास निर्माणकार्य सुचारु गर्ने निर्णय ग-यो । तर कोरोना जोखिमलाई मध्यनजर गर्दै सबै नाका बन्द छन् । गिट्टी, बालुवा, सिमेन्ट, सरियालगायत निर्माण सामग्री आयात ठप्प छ । जसले गर्दा करोडौंका निर्माण योजना प्रभावित भएका छन् । खानेपानी, सिँचाइ, जलविद्युत्, भवन, सडकलगायतका विभिन्न योजना निर्माण लकडाउनले अलपत्र छन् । जारी लकडाउनकै कारण जुम्लामा करिब ५ करोडका खानेपानी आयोजना अलपत्र भएका छन् ।

आव ०७६-७७ खानेपानी तथा सरसफाइतर्फका कार्यक्रममा कर्णाली प्रदेश सरकारबाट जुम्लाका आठै स्थानीय तहका लागि करिब ५ करोड लागतका ४६ वटा खानेपानी योजना स्वीकृत गरी पठाएको थियो । सोहीअनुसार आठै तहमा उपभोक्ता समिति गठन गरी निर्माण कार्य पनि अगाडि बढिरहेको थियो । तर चैत ११ गतेदेखि जारी लकडाउनका कारण ५ करोडका ४६ खानेपानी योजना निर्माण प्रभावित भएका छन् ।
खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जुम्लाका सबइन्जिनियर गणेश परियारका अनुसार तातोपानी गाउँपालिकामा ६८ लाख ९१ हजार लागतमा ७ योजना, कनकासुन्दरीमा १ करोड ४९ लाख ७ हजार लागतमा १४ योजना, पातारासीमा ६२ लाख लागतमा ४ योजना, सिंजामा ७३ लाख ५ हजार लागतमा ५ योजना निर्माण भइरहेका थिए । त्यस्तै, हिमामा ५ लाख ९३ हजार लागतमा २ योजना, तिलामा २८ लाख १५ हजारको लागतमा २ योजना र चन्दननाथ नगरपालिकामा ४१ लख लागतमा ४ योजना गरी जम्मा ४ करोड ६४ लाख ५६ हजार बराबरका ४६ खानेपानी योजना चालू आवमा मात्रै निर्माण भइरहेका थिए ।
तर कोरोना भाइरसको त्रासले गर्दा सबै योजना अहिले प्रभावित भएका छन् । सबइन्जिनियर परियारले भने, “जुम्लाका दुर्गम बस्तीका खानेपानी समस्या समधान गर्न प्रदेश सरकारले करोडौका योजना दिए पनि कोरोनाका कारण योजना निर्माण हुन सकेनन् । आगामी आवमा यी योजनालाई कसरी निरन्तरता दिने ? भन्ने बारे प्रदेश र स्थानीय सरकारबीच आवश्यक समन्वय हुन जरुरी देखिन्छ ।”
जुम्लाका केही दुर्गम बस्ती अहिले पनि शुद्ध खानेपानीको पहुँचमा छैनन् । अत्यावश्यक मानिने खानेपानी प्रयाप्त तथा शुद्ध नहुँदा ग्रामीण भेगका नागरिक खोलाकै दूषित पानी पिउन बाध्य छन् । नागरिक समाजका अध्यक्ष राजबहादुर महत भन्छन, “कोरोना निर्माण हुन नसकेका सबै खानेपानी योजना पुनर्निर्माण गर्र्नुपर्छ । लकडाउन खोलेलगत्तै निर्माण थाल्ने गरी उपभोक्ता समिति तयारी हुनुपर्ने सुझाव दिए ।”
यता जुम्ला सदरमुकाम खलंगामा विगत दुई सातादेखि खानेपानीको समस्या छ । ठिन्के सडक निर्माणका क्रममा पाइप फुटेपछि खलंगामा खानेपानी समस्या भएको हो ।