कारोबार संवाददाता
आइतवार, चैत्र १६, २०७६
820

संखुवासभा- कोरोना भाइरसको संत्रास बढेपछि संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन अरुण तेश्रो परियोजनाको काम स्थगित भएका छ । सरकारले गत मंगलबारबाट देश लकडाउन गरेसँगै अरुण तेश्रो परियोजनामा कार्यरत २ हजार ५ सय बढी जनशक्तिलाई कामबाट बिदा दिइएको सतलुज कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अरुण धिमानले जानकारी दिए ।
ठूलो संख्यामा जनशक्ति परिचालन भएको र कुनैपनि बेला संक्रमणले गम्भीर रुप लिन सक्ने भएकाले परियोजनामा कार्यरत दक्ष, अर्धदक्ष मजदुर र सहयोगीलाई बिदा दिई सम्पूर्ण काम स्थगित गरिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए ।
२ हजार ५ सय बढी मजदुर कार्यरत रहेको ९ सय मेगावाट क्षमताको अरुण तेश्रो परियोजना अन्तरगत मकालुको फ्याक्सीन्दामा बाँध र सुरुङ्ग निर्माण भइरहेको छ भने चिचिलाको पुखुवामा जलविद्युत् गृह निर्माणको कार्य अघि बढिरहेको थियो । २०८१ सालमा निर्माण गरिसक्नुपर्ने परियोजनाको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने परियोजना सम्पन्न गर्नका लागि १ खर्ब २० अर्ब रुपैयाँ लागत रहेको कम्पनीले जनाएको छ ।