दिलबहादुर केसी
सोमवार, माघ १३, २०७६
3066

दोलखा, १२ माघ
दोलखामा निर्माणाधीन सात जलविद्युत् आयोजनाबाट चालू आर्थिक वर्षभित्रै ५५६ मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिने भएको छ । यी सबै आयोजनाको काम हालसम्म ९० देखि ९९ प्रतिशतसम्म पूरा भएको छ । आयोजनामा कुनै अवरोध नभए चालू आर्थिक वर्षभित्रै पूरा भइ विद्युत् उत्पादन हुनेछ ।

सबै आयोजना निजी क्षेत्रबाट निर्माणाधीन आयोजना हुन् । बहुचर्चित राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सहित सबै आयोजनाको काम तिव्र गतिमा भइरहेको छ । ४५६ मेगावाटको यो आयोजनाबाट असारसम्म व्यावसायिक उत्पादन गर्ने लक्ष्य रहेको प्रबद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए ।
माथिल्लो तामाकोसीको अन्य काम पूरा भए पनि २ वटा ठाडो सुरुङमा पेन स्टक पाइप जडानको काममा ढिलाइ भइरहेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रमुख दिनेशजंग राणाका अनुसार तल्लो पेनस्टक ३७३ मिटरमध्ये २ सय मिटर र माथिल्लो ३१० मिटरमध्ये एक सय मिटर पाइप जडान सकिएको छ । पाइप जडानको गति बढ्न सके बैशाखसम्म पाइप जडान पूरा गरी असारबाट परीक्षण उत्पादन गर्न सक्ने उनले बताए ।
अपर तामाकोसी नेपाल विद्युत् प्राधिकरण सहित निजी क्षेत्रको समेत लगानीमा निर्माणाधीन हालसम्मकै सबैभन्दा ठूलो आयोजना हो । त्यसैगरी निजी क्षेत्रको लगानीमा अन्य ६ वटा आयोजनाको एक सय मेगावाट पनि ६ महिनाभित्र केन्द्रीय प्रसारण लाइनमा जोडिने छ । यो आयोजना विगू गाउँपालिका वडा नं. १ मा निर्माणाधीन छ । आयोजनाको गोंगरदेखि खिम्तीसम्मको २२० केभीए प्रसारण लाइनको काम पूरा भएको छ ।
सबैभन्दा बढी भौतिक प्रगति हुने आयोजनामा गौरीशंकर गाउँपालिका वडा नं. ७ मा निर्माणाधीन खानी खोला १ जलविद्युत् आयोजना हो । ग्रिनलाइन इनर्जी कम्पनीले निर्माण गरिरहेको ४० मेगावाटको यो आयोजनाको हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भएको छ । सिंगटी–लामोसाँघु १३२ केभीएको प्रसारणलाइन समयमा नबन्दा ३ वर्ष अघि नै पूरा हुनुपर्ने यो आयोजना ढिलाइ भइरहेको छ । समय लम्बिँदा आयोजनाको लागतसमेत बढेको छ भने विद्युत् उत्पादनबाट हुने अर्बौं आम्दानी प्रबद्र्धकले गुमाउनु परेको छ ।
सोही वडामा निर्माणाधीन ५ मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाको प्रगति पनि ९५ प्रतिशत बढी छ । गौरीशंकर गाउँपालिका वडा नं. ५ र ६ मा निर्माणाधीन ११ मेगावाटको तल्लो खारेखोलाको भौतिक प्रगति पनि ९७ प्रतिशत बढी छ । सिंगटी खोला हाइड्रो इनर्जी कम्पनीले निर्माण गरिरहेको २५ मेगावाटको सिंगटी खोला जलविद्युत् आयोजनाको पनि काम ९८ प्रतिशत बढी प्रगति भएको छ ।
घट्टे खोला, तल्लो खारे र सिंगटी प्रसारण लाइन नै कुरेर बसेका छन् । प्रसारण लाइन भएको भए यि आयोजनाले विद्युत् प्रसारण लाइनमा जोडिसक्थे । सिंगटी खोला विगू गाउँपालिका र कालिञ्चोक गाउँपालिका सिंगटी बजारनजिकै छ ।
रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. १ चुचुरे र दोलखाको जिरी नगरपालिका वडा नं. १ श्यामामा निर्माणाधीन माथिल्लो खिम्ती खोला १ र २ को १९ मेगावाटको जलविद्युत् अयोजनाको प्रगति पनि ९० प्रतिशत बढी छ ।
हिमालयन उर्जा विकास कम्पनीले निर्माण गरिरहेको यि दुवै आयोजना गर्जाङ सव स्टेशनमा जोड्ने लक्ष्य छ । तर गर्जाङ–खिम्ती १३२ केभीको प्रसारण लाइन र सव स्टेशनको काम समयमा पूरा नहुँदा यि आयोजनाको उत्पादन पनि असर गर्छ ।
खानी खोला, घट्टे खोला, तल्लो खारे खोला र सिंगटी खोलाबाट उत्पादन हुने विद्युत् भने सिंगटी सब स्टेशनमा जोडिन्छ । यी आयोनाका लागि सिंगटी लामोसाँघु प्रसारण लाइन र गर्जाङ–खिम्ती प्रसारण लाइनको काम जग्गासम्बन्धी विवादका कारण ढिलाइ भइरहेको छ ।