कारोबार संवाददाता
मंगलबार, पुष १, २०७६
344

दोलखा-उत्तर–दक्षिण लोकमार्गको तामाकोसी करिडोर सबैभन्दा छोटो दुरीमा निर्माण गर्न माग गरेका छन् । भीमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका र विगू गाउँपालिकाले सके तामाकोसीको दुवै किनार नभए छोटो हुने गरी निर्माण गर्न माग गरेका छन् ।
नेपाल भारत सीमाअन्तर्गत महोतरीको भिठामोडबाट दोलखाको लामाबगर हुँदै चीन जोडिने लोकमार्गको दुरी घटाउने नाममा झनै बढाइएको भन्दै दोलखाका ३ स्थानीय तहले विरोध जनाएका हुन् । सोमबार दोलखाका ३ स्थानीय तहहरु भिमेश्वर बिगु र कालिञ्चोकका जनप्रतिनिधिहरुले विज्ञप्ती जारी गर्दै करिडोर निर्माणबारे गलत भएको भन्दै पुरानै सहमति अनुसार हुनुपर्ने माग राखेका छन् ।

तामाकोसी करिडोरको अहिले बैतेश्वर गाउँपालिका वडा नं. ६ को बुस्तीको सबैभन्दा अन्तिम घुम्तीबाट वडा नं. ७ मार्बू, क्षेत्रपा, गौरीशंकर गाउँपालिका वडा नं. २ को जुँगु पिखुती हुँदै कालिञ्चोक गाउँपालिका–४ को बञ्चरेसम्मका लागि विस्तृत अध्ययन (डीपीआर)को काम भइरहेको छ । सडक पारीतिरबाट जाने भएपछि भीमेश्वर नगरपालिकालगायतका स्थानीय तहका जनप्रतिनिधिहरु विरोधमा उत्रेका हुन् ।
करिडोर बिना छलफल एकतर्फी हुने रुपमा अघि बढाएको उनीहरुको विरोध छ । मेयर केसीले यसअघि भिमेश्वर नगरको वडा नम्बर ५ स्थित जफाती गोलाइबाट सिंगटी जोडेर अत्यन्तै छोटो दुरीमा करिडोर निर्माण गर्ने सहमति भइसकेको दाबी गरे । जफती गोलाइबाट जिलु, दोलखाको रातोडाँडा हुँदै सुनखानीबाट झमार्सी जोड्दा छोटो हुने उनको तर्क छ ।
नगर प्रमुख केसीले अनेकन बाहानामा उक्त मार्ग नबनाउन चलखेल भैरहेको आरोप लगाएका छन् । उनले दुवैतिर नाप्दा जता छोटो हुन्छ उतैबाट राजमार्ग निर्माण गर्दा आफूहरुलाई मान्य हुने बताए । तर करिडार नदीको दुवै किनारबाट निर्माण भए राम्रो हुने बताए ।
कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले सडक आयोजना निर्माण गर्दा छोटो दुरी प्रयोग गर्नुको विकल्प नरहेको बताएका छन् । उनले अहिले निर्माण गर्ने भनिएको दुरी हुन्छ कि भन्ने आफूहरुलाई आशंका लागेको बताए ।
डिभिजन सडक कार्यालय चरिकोटकी निमित्त कार्यालय प्रमुख प्रकृति पाण्डेले सडक विभागबाटै सर्भे भइरहेको बताए । आफुहरुले सामान्य समन्वय बाहेक अरु केही नगरेको प्रतिक्रिया दिइन् । इन्जिनियर पाण्डेले उक्त करिडोर निर्माण सहमति अनुसार नै सर्भे भइरहेको बताइन् ।
इन्जिनियर पाण्डेका अनुसार सडक निर्माण गर्दा स्थानीयलाई जग्गाको मुआब्जा नदिने र सकेसम्म पुरानो ट्रयाकलाई नै प्रयोग गरेर कम लागतमा निर्माण गर्ने योजना रहेको बताइन् । चालु आर्थिक वर्ष डिपिआर सहित १० करोड डिभिजन सडक कार्यालयबाट बजेट राखेको छ ।
अहिलकोे सर्भे अनुसार नाम्दु बुस्तीदेखि बञ्चरेसम्म २० किलोमिटर सडक निर्माण गर्नु पर्छ । नयाँपुलदेखि बुस्तीसम्म २ किलोमिटर रहेको छ । त्यसैगरी भीमेश्वर नगर तर्फबाट जफाती गोलाइसम्म ८ किलोमिटर र त्यहाँबाट जिलु, दोलखा हुँदै सुनखानीको झमार्सीसम्म पुग्दा पनि दुरी उत्तिकै छ । तर सुनखानीमा अहिले पनि कालोपत्रे सडक चलिरहेको छ ।

यसकारण छोटो हुन्छ उत्तर दक्षिण नाका
महोत्तरीको भिडामोडदेखि दोलखाको लामाबगरस्थित तिब्बत सिमासम्मको दुरी २ सय ३८ किलोमिटर हुने सडक विभागका अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार भिठामोडदेखि जलेश्वरसम्म ५ किलोमिटर जलेश्वर देखि बर्दिबाससम्म ३० किलोमिटर, बर्दिबास सिन्धुलीमाढी ३९ किलोमिटर, सिन्धुली खुर्कोट ३८ र खुर्कोटदेखि मन्थलीहँुदै दोलखाको तामाकोसी बजार पुग्दा ५५ किलोमिटर हुने छ ।
त्यस्तै सिंगटीबाट लामाबगर पुग्दा २८ किलोमिटरको दुरी छ । सडक विभागका अधिकारीहरुका अनुसार नेपालका अन्य नाकाहरुभन्दा यो नाका सबै भन्दा छोटो हो । तामाकोसीको नयाँपुल देखि सिंगटीसम्म करिडोर बन्दा २५ किलोमिटर हुन्छ । अहिले तामाकोसी चरिकोट हुँदै सिंगटी चलिरहेको सडक ६१ किलोमिटर छ ।