कारोबार संवाददाता
मंगलबार, पुष १, २०७६
573

काभ्रेपलाञ्चोक: पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)को निर्माणकार्य तीव्ररूपमा अघि बढिरहेको छ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ र ८ को करीब एक हजार जमीनमा सेज हाल निर्माणाधीन अवस्थामा रहेको हो । सेजको मुख्य प्रशासनिक भवन निर्माणको काम भइरहेको छ । चालू आर्थिक वर्षको १२ करोडमा सेज आयोजनाको मुख्य भवन निर्माण भइरहेको हो भने तीन करोडमा पर्खाल तथा तारजाली लगाउने काम भइरहेको छ । करीब आठ वर्षअघि अर्थात् विसं २०६८ साउन २० गते पाँचखालमा सेजका स्थापनाका लागि जग्गा उपलब्ध गराउन वन मन्त्रालयले जिल्ला वन कार्यालयलाई निर्देशन दिएपछि प्रक्रिया सुरु भएको थियो ।
विभिन्न कानूनी प्रक्रियागत अवरोधका कारण तत्कालीन अवस्थामा नियमित काम हुन नसकेको पाँचखाल नपा–७ का वडाध्यक्ष पुष्कर ढकालले बताए । उनका अनुसार हाल पाँँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वन गरी करीब एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माण शुरु गरिएको हो । “केही कानूनी अड्चनका कारण सेजको काम पहिला अघि बढ्न सकेको थिएन, अहिले केही खुकुलो बन्दै गएका कारण निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ”, उनले भने ।
विशेष आर्थिक क्षेत्र विकास समितिले बजेट निकास गर्ने निर्णयसँगै वातावरणीय प्रभाव मूल्याङ्कन गरी सिमांककन तथा वनमा रहेका रुख हटाउने प्रक्रिया सुरु गरिएको थियो । अझै करीब ४० रोपनी जमीनमा रुख हटाउन बाँकी छ । यसका लागि जिल्लास्थित वन कार्यालयसँग समन्वय भइरहेको वडाध्यक्ष ढकालले बताए