कृञ्जला पुलामी
बिहिवार, कार्तिक २८, २०७६
240

हाल १७ किलोमिटरमा विद्युत् विस्तार भएको र अहिले पनि विद्युत् जडानको काम भइरहेको बताइएको छ । विद्युत् पुगेसँगै ४ वटै वडाका गरी ५ सय घरपरिवार लाभान्वित भएका छन् ।
सिन्धुलीको विकट स्थानीय तह घ्याङलेख गाउँपालिकामा बिजुली बत्ती पुगेको छ । गाउँपालिकाका एउटा वडाबाहेकका अन्य सबै वडामा राष्ट्रिय विद्युत् प्रसारण लाइनको बिजुली पुगेको हो ।

नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रको सहयोग तथा गाउँपालिकाको कुल ४ करोड ६५ लाख रुपैयाँ लागतमा बिजुली विस्तारको काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले बताए । स्थानीय तहको निर्वाचनका बेला मुख्य एजेण्डा बनेको विद्युतीकरणको मुद्दा अढाइ वर्षमा नै सम्पन्न गर्न सफल भएको बताए । “प्रतिबद्धता पूरा गर्न दिनरात नभनि खटिरहेको छु ।” उनले भने, “सबै ठाउँमा बिजुली बाल्न नसके पनि गाउँपालिकामा पहिलो पटक बिजुली बलेको छ, बाँकी एउटा वडामा पनि यही वर्ष बिजुली बाल्ने योजनामा छु ।”
उनका अनुसार अहिले गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा विद्युत् सुचारु भएका छन् । तर विद्युत् विस्तार भएका वडामा पनि केही दुर्गम र भौगोलिक विकटता भएका स्थानमा बिजुली विस्तार भएको छैन । “यो पहिलो चरणको प्रयास हो, क्रमशः सबै ठाउँमा बिजुली पु-याउन लागिरहेको छु ।” गाउँपालिका अध्यक्ष भोलनले भने, “जनप्रतिनिधि भएपछि धेरै काम त गरियो, तर नागरिकले देख्ने खालका खासै काम गर्न सकिएको थिएन । यो नै मुख्य उपलब्धि हो ।” लामो समयसम्म टुकी र सोलारको भरमा दैनिकी बिताएका स्थानीयमा थोरै भए पनि यो कामले आशा पलाएको उनको भनाइ छ ।
हाल १७ किलोमिटरमा विद्युत् विस्तार भएको र अहिले पनि विद्युत् जडानको काम भइरहेको बताइएको छ । विद्युत् पुगेसँगै ४ वटै वडाका गरी ५ सय घरपरिवार लाभान्वित भएका छन् । जम्मा ५ वटा वडा रहेको यस गाउँपालिकाको ५ नम्बर वडामा पनि विद्युत् विस्तारको काम अघि बढिसकेको अध्यक्ष भोलनले बताए । “५ नं वडामा पनि विद्युत् विस्तारका लागि टेण्डर प्रक्रियामा गइसकेको छ ।” उनले भने, “सो वडामा पनि यसै वर्ष विद्युत् विस्तार हुन्छ ।” विद्युत् विस्तारका लागि गाउँपालिकाले वडालाई ९० लाख रुपैयाँ प्रदान गरिएको जनाइएको छ ।
लामो समयदेखि टुकीबत्ती र सोलारका भरमा दैनिकी चलाइरहेका घ्याङलेखवासी बिजुली बलेसँगै हर्षित भएका छन् । विद्युत् प्रसारण लाइनको औपचारिक उद्घाटन कार्यक्रममा सहभागी भएका स्थानीयको अनुहारमा भिन्नै चमक देखिएको थियो । जब सिन्धुलीका प्रमुख अधिकारी जर्नादन गौतमले बत्ती बाले सबै खुसीले तालि बजाइरहेका थिए ।
गाउँपालिका उपाध्यक्ष दुर्गादेवी सुनुवार भने विद्युत् बलेसँगै गाउँपालिकामा विकासको ढोका खुलेको बताउँछिन् । विद्युत् सेवा नहुँदा गाउँपालिकाको कामसमेत प्रभावित भएको बताइन् । उनले भनिन्, “आजसम्म सोलारले काम चलाइराखेका थियौं । त्यही पनि घाम लागेमात्र बत्ती बल्ने, नभए चुप लागेर बस्नुपर्ने अवस्था थियो ।” बिजुली विस्तार गर्नु गाउँपालिकाको मुख्य प्राथमिकता हो । प्रतिबद्धता अनुसार हाम्रै कार्यकालमा सबै घरमा बिजुली पु¥याउने छौँ, उनले भनिन् ।
घ्याङलेखजस्तै सिन्धुलीका अन्य स्थानीय तहले पनि विद्युतीकरणलाई प्राथमिकता दिँदै विद्युत् विस्तारका काम गरिरहेका छन् । ९ वटै स्थानीय तहका एक–दुई स्थानमा मात्रै भए पनि केन्द्रीय प्रशारण लाइनको विद्युत् पुगिसकेको छ । साथै भौगोलिक विकटताका कारण विद्युत् पुग्न नसकेका स्थानमा बिजुली बाल्न करोडौंका योजना बनाएका छन् ।