कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
448

खानेपानी मन्त्री बिना मगरले निर्धारित समयमा नै काठमाडौंमा मेलम्चीको पानी ल्याउन दाबी गरेकी छिन् । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्ने क्रममा मगरले निर्धारित समयमा नै पानी ल्याउने बताएकी हुन् ।
केही समय अघि मेलम्ची आयोजनाको हेड वर्क्स र सुरुङ्ग फिनिसिङको ठेक्का पाएको कम्पनी सिनो हाइड्रो कर्पोरेसनले आयोजनाको काम अघि बढाएसँगै कामको प्रगतिको अवस्था बुझ्न खानेपानी मन्त्री मगरले स्थलगत निरीक्षण गरेकी हुन् ।

यसअघि ठेकेदार कम्पनी सिएमसीले काम छाडेर गएपछि बाँकी कामको ठेक्का सिनो हाइड्रोले पाएको हो । अबको एक वर्षमा मेलम्चीको पानी काठमाडौंमा ल्याउने गरी सिनो हाइड्रोले काम सुरु गरिसकेको छ । मेलम्ची आयोजनालाई समयमै सम्पन्न गर्ने गरी काम रफ्तारमा अघि बढाउन मन्त्री मगरले निर्देशन दिएकी छिन् ।
“मेलम्ची आयोजनामा देखिएका समस्या समाधान गरेर सरकार अघि बढ्नेछ” उनले भनिन्, “स्थानीय जनताको मागलाई सम्बोधन गर्न सरकार गम्भीर छ । स्थानीयले सडक पिच गर्नु पु¥यो भनेर माग गरेका छन् । यो विषयमा सडक विभागसँग छलफल चलिरहेको छ ।”
मन्त्री मगरले हरहालतमा मेलम्चीको पानी काठमाडौं ल्याउने अठोट व्यक्त गरिन् । सबै अवरोधहरु पन्छाएर आयोजनाको काम अघि बढेकाले अब मेलम्चीबारे दुविधा नराख्न उनले आग्रह गरिन् ।
मन्त्री मगरले भनिन् “हामीले अप्रत्याशित परिस्थितिको सामना गर्नुप¥यो, अहिले त्यो परिस्थिति अन्त्य भएको छ, सबै अवरोध छिचोलेर मेलम्चीको काम अघि बढेको छ, अब मेलम्चीबारे आशंका गर्न जरुरी छैन ।”
२१ डिसेम्बर २०१८ मा निर्माण कम्पनिले आयोजनाको निर्माण कार्यबाट हात झिकेसँगै मेलम्ची आयोजना अन्योलमा परेको थियो । त्यसलगत्तै नेपाल सरकार र मन्त्रालयले आयोजना चाँडै सम्पन्न गर्न विभिन्न बिकल्पहरुमा छलफल गरेको थियो । मेलम्ची विकास समितिले ग्लोवल टेण्डरका आधारमा आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्न गत असोजमा चिनियाँ ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौतापछि ठेकेदार कम्पनिले निर्माणको काम अघि बढाएको हो ।
गत असोज १० गते मेलम्चीको सुरुङ मार्गको काम र असोज २४ गते हेडवर्क्सको काम चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोलाई दिने गरी निर्माण सम्झौतामा हस्ताक्षर भएको थियो। मेलम्चीको बाँकी काम १ अर्ब ८७ करोड रुपैयाँमा सम्पन्न गर्न सिनो हाइड्रोले ठेक्का पाएपछि निर्माणको काम रफ्तारमा अघि बढिरहेको छ । चिनियाँ कम्पनीले सम्झौताको समयावधिभित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने प्रतिवद्दतासमेत व्यक्त गरेको छ ।
निर्माण सम्झौतामा हस्ताक्षर भएपछि ठेकेदार कम्पनीले तिहारअघि नै आयोजनाको सम्पूर्ण अवस्थाको स्थलगत जानकारी लिएको थियो । निर्माण सम्झौतामा हस्ताक्षर भएको तीन हप्ता नपुग्दै सिनो हाइड्रोले निर्माण कार्यमा गुणात्मक प्रगति गरेको छ । अघिल्लो ठेकदार कम्पनी सिएमसीले स्थानीय कामदारलाई तिर्नुपर्ने पारिश्रमिकको दायित्व नेपाल सरकारले लिन तयार भएपछि आयोजनाको स्थानीय अवरोध हटेको थियो ।
सिनो हाइड्रोले रक डावेलको काम सुरु गरी हेड वर्क्सको फाउण्डेशन ब्लाष्टिङको तयारी गरिरहेको छ । तीन हप्ताको अवधिमा टनेलभित्र ग्राउटिङको काम पनि सुरु भइसकेको छ । कम्पनीले आयोजनाको निर्माण कार्यमा अघिल्लो ठेकेदार कम्पनिले प्रयोगमा ल्याएका हेभी इकुप्मेन्ट आवश्यकताअनुसार भाडामा चलाउने सम्झौता पनि गरिसकेको मेलम्ची आयोजनाका सिनियर इञ्जिनियर कमल श्रेष्ठले जानकारी दिए ।