कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
290

 सल्यान- संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुईवर्षभित्रमा कार्णाली उज्यालो बनाउने बर्ताका छन् । कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत् पु-याउनका लागि संघीय सरकारले युद्धस्तरमा काम गरिरहेको मन्त्री पुनले बताए । मन्त्री पुनले अबको दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अध्यारोमा बस्नु नपर्ने बताए । “कर्णाली प्रदेशका ६१ प्रतिशत नागरिक अहिले पनि विद्युत्को पहुँच बाट बाहिर रहेका छन् ।”
मन्त्री पुनले भने, “सरकारले विद्युतीकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइरहेको छ अब कुनै पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुनुपर्दैन ।” अहिले कर्णालीका सबै बस्तीमा विद्युत् पु-याउनका लागि संघ, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरी काम अगाडि बढाइरहेको जानकारी दिए । उनले कर्णाली प्रदेशभित्रका नदीनालाबाट पनि बहुउद्देश्यीय आयोजना निर्माण गर्नसक्ने सम्भावना रहेकाले त्यस्ता योजनाको अध्ययन गरिने  बताए ।
“सल्यानकै कालीमाटी गाउँपालिकामा– ९३ मेगावाटको जलाशययुक्त विद्युत् निर्माणका लागि अध्ययन भइसकेको छ, गाउँपालिकाको असहयोगका कारण प्रतिवेदनसमेत बुझ्न सकिएको छैन,” मन्त्री पुनले भने । प्रतिवेदन बुझिसकेपछि योजना बनाउन सम्भव या असम्भ के हुन्छ प्रभावित क्षेत्रका बासिन्दालाई के गर्ने भन्नेपछि गर्ने कुरा भएकोले प्रतिवेदन बुझाउने वातावरण तयार गराउन सबैले सहयोग गर्न मन्त्री पुनले अनुरोध गरे ।