कारोबार संवाददाता
बुधवार, कार्तिक २०, २०७६
297

 दाङ- तुलसीपुर उपमहानगरपालिका–१४ मटेराका ४६ वर्षीय पूर्णबहादुर चौधरीले तोरी, चना र केराउ खेतीबाट राम्रो आम्दानी लिन सफल भएका छन् । “तीन वर्ष पहिले नौ बिघा जग्गामा तोरी चना र केराउखेती गर्दथेँ तर उत्पादन निकै कम हुन्थ्यो ।”  उनले भने, “लिफ्ट सिँचाइले गर्दा गत वर्ष सोही जमीनमा तोरी, चना र केराउखेती गर्दा त्यसबाट १० गुणा बढी उत्पादन भयो र त्यसबाट धेरै आम्दानी लिन सफल भएँ अहिले पनि खेती राम्रो भएकाले आम्दानी अझै बढी हुनेमा ढुक्क छु ।” चौधरीले अहिले नौ बिघा जमीनमध्ये पाँच बिघामा तोरी र अन्यमा केराउ तथा चनाखेती गरेका छन् । बेमौसममा सोही जग्गामा पुनः तरकारीखेती पनि गर्ने गरेको उनले बताए ।“कृषि पेशा अङ्गालेको छु राजनीति पनि गर्दछु अहिले निर्वाचित वडासदस्य पनि हुँ ।
घरपरिवाका सदस्यसँगै आफू पनि घरमा बिहान बेलुका काम गर्दछु ।” चौधरीले भने, “दिउँसो जनप्रतिनिधि भएकाले वडाको काममा व्यस्त हुन्छु ।”यसपटक त धान काट्ने र जोत्ने उपकरण समेत प्रदेश सरकारले दिएकाकाले खेती गर्न सहज हुनाका साथै उत्पादन पनि बढेको छ । पहिला वर्षमा एउटै मात्र खेती हुने मटेरिया गाउँमा अहिले बाह्रै महिना खेती हुने भएकाले अहिले सो गाउँ पकेट तरकारीखेतीका रुपमा चिनिएको छ ।सोही गाउँकी ४० वर्षीया अष्टुमी चौधरीले तोरी तथा तरकारी खेतीबाट आफू आत्मनिर्भर भएको बताइन् । यसपटक तीज, दसैंँ, तिहारको समयमा गोलभेँडा, फूल काउली र धनिया बिक्री गर्दा डेढ लाखसम्म आम्दानी भएको जानकारी दिँदै उनले तोरी तथा तरकारीखेतीबाट सबै खर्च कटाएर वार्षिक रु पाँच लाखसम्म बचत गर्न सफल भएको बताइन् । सरकारले आफूहरुले उत्पादन गरेको तरकारी तथा तोरी, दालको मूल्य तोकिदिए राम्रो हुने अष्टुमीको भनाइ थियो ।
यी दुई मात्र होइन मेटेरा गाउँका १४० घर घुरीले लिफ्ट सिँचाइ योजनाबाट त्यहाँ तोरी, तरकारी, धानखेती गरिरहेका छन् । गाउँबाट नै बग्ने बबई नदीको पानीलाई करीब ६०० मिटर लामो रहेको लिफ्ट सिँचाइ आयोजनाबाट पानी तानिएको छ । सो पानी त्यहाँको करीब दुई सय बिघा जमीनमा सिँचाइ सुविधा पुगेकामा १२० थारु समुदाय र २० घर अन्य समुदायले सो पानी सिँचाइका लागि प्रयोग गरेका छन् ।