कारोबार संवाददाता
मंगलबार, कार्तिक १९, २०७६
252

ललितपुर-नेपालको नवीकरणीय ऊर्जा प्रवद्र्धनको केन्द्रिय निकायको रुपमा कार्यरत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आफ्नो २३ आंै वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा यस वर्षको मञ्चुका स्मृति अक्षय कोषद्वारा केन्द्रको समन्वयमा स्थापित ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार‘ तीन वटा संस्थाहरुलाई प्रदान गरिएको छ ।
पुरस्कार पाउनेहरुमा दर्ना लघु जलविधुत सहकारी संस्था लिमिटेड, सनफार्मर नेपाल प्रा. लि. र नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रा. लि. रहेका छन् । यी संस्थाहरुले पुरस्कारसहित प्रतिसंस्था २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

पुरस्कृतमध्ये दर्ना लघु जलविधुत सहकारी संस्था लिमिटेड स्थानीय स्तरमा महिलाहरु मात्रै सदस्य भएको सहकारी हो । जसले ८३ किलोवाट क्षमताको लघुजलविद्युत आयोजनालाई सफल व्यावसायिक नमुनाको रुपमा प्रस्तुत गरेको छ । त्यस्तै सनफार्मर नेपालले नेपालमा नविनतम ढंगले सौर्यऊर्जाबाट खानेपानी र सिंचाइको लागि प्रयोग हुने सौर्य पम्पको जडान गरी सञ्चालन गरीरहेको छ । पुरस्कृत मध्येकै नेपाल इनर्जी डेभलोपमेन्ट कम्पनी प्रा. लि. ले विराटनगरको श्रीकृष्ण गौसेवा सदनमा रहेको २ सय घनमिटरको वायोग्यास प्लाण्ट जडान गर्ने कम्पनी हो । केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा यस कम्पनीले जडान गरेको यो प्लाण्टबाट उत्पादित ग्यासलाई पाइपलाइनबाट ३२ स्थानीय उपभोक्तको घरमा पु¥याई प्रयोग गरिएको छ ।
केन्द्रले प्रत्येक वर्ष नेपालमा नवीकरणीय ऊर्जा प्रवद्र्धन गरी स्थानीय समुदायको जीवनस्तर उकास्न विशेष सहयोग पु¥याइ रहेका लघुजलविद्युत, सौर्य ऊर्जा र वायु ऊर्जा तथा जैविक ऊर्जा क्षेत्रमा नवीनतम कार्य गर्ने तीन वटा उत्कृष्ट संस्थाहरुलाई पुरस्कार प्रदान गर्दै आएकोे छ । यो पुरस्कार २०७४ सालबाट प्रदान गर्न थालिएको हो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री माननीय वर्षमान पुनले संघीयता कार्यान्वयन पछि नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनको भूमिका स्थानीय तहहरुको जिम्मेवारीको विषय बनेकोले केन्द्रले नवीकरणीय ऊर्जामा स्थानीय तहहरुको क्षमता अभिवृद्धि गर्ने र यस क्षेत्रमा प्रविधिहरुको मापदण्ड निर्माण गर्ने कार्य गर्नुपर्ने बताए । उनले केन्द्रले हालसम्म हासिल गरेका उपलब्धिहरुलाई संथागत गरी परिवर्तित सन्र्दभमा प्रभावकारी रुपले अघि वढाउन केन्द्रलाई ऐनबाट स्थापित संस्थामा रुपान्तरण गरिने बताए । उनले ऊर्जा, जलस्रोत तथा सिंचाई क्षेत्रको श्वेतपत्र र नेपाल सरकारको नीति तथा कार्यक्रमका लक्ष्यहरु प्राप्त गर्न केन्द्रको निकै महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले केन्द्रलाई नवीकरणीय ऊर्जाको श्रेष्ठता केन्द्रको रुपमा विकास गर्न र नवीकरणीय ऊर्जा प्रविधिहरुको थप विकासको लागि अनुसन्धान तथा विकासका कार्यमा जोड दिन विश्वविधालय तथा अन्य अनुसन्धान गर्ने संस्थाहरुसँग सहकार्य गरेर अगाडि वढ्नुपर्ने बताए ।
हालसम्म केन्द्र अन्तर्गत नेपाल सरकार र विभिन्न विकास साझेदारहरुको सयुक्त सहयोगमा तथा नीजि क्षेत्र र स्थानीय सरकारसँगको सहकार्यमा सञ्चालित विभिन्न कार्यक्रममार्फत् लघु जलविद्युतबाट ३२.५ मेगावाट विद्युत उत्पादन भएको छ भने शहरीे क्षेत्रबाट निस्कने जैविक फोहोर, पोल्ट्रीफार्मबाट निस्कने सुली र गाईफार्मबाट निस्कने गोवर लगायतको प्रयोग २ सय ४७ ठूलासहित ४ लाख २५ हजार वायोग्यास प्लान्ट जडान भएका छन् । ९ लाख ११ हजार घरेलु सौर्य विद्युत प्रणाली र १५ लाख ९ हजार सुधारिएको चुलो जडान हुनुका साथै ११ हजार पानी घट्टको सुधार भएको छ ।
सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य चौकी, अस्पताल, सर्पदंश उपचार केन्द्र, वर्थिङ सेन्टर जस्ता संस्थामा कम्प्युटर तथा स्वास्थ्य संवन्धी उपकरण सञ्चालन गर्न देशभर झण्डै २ हजार संस्थागत सौर्य ऊर्जा प्रणाली जडान भएका छन् । साथै १ हजार ३ सय भन्दा वढी खानेपानी र सिंचाइको लागि प्रयोग हुने पानी तान्ने पम्प जडान भएका छन् । यस बाहेक ५ सय ६३ किलोवाट बराबरका सौर्य तथा सौर्य र वायु ऊर्जा मिश्रित मिनिग्रिड प्रणाली जडान भइ सञ्चालनमा रहेको छन ।