प्रकाश लम्साल
मंगलबार, कार्तिक १९, २०७६
324

 

वीरगन्ज–पथलैया व्यापारिक मार्ग

बारा-पथलैया–वीरगन्ज व्यापारिक मार्ग निर्माणको म्याद तेस्रोपटक थप गरेर पनि ५५ प्रतिशतमात्र काम सम्पन्न भएको छ । २०७३ असारमा सुरु भइ ३० महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सम्झौता भए पनि आयोजनाको अझै आधा काम बाँकी छ ।
२०७३ असार २९ गते बाट निर्माण सुरु भएको यो मार्गअन्तर्गत ७ प्याकेज छन् भने ५ अर्ब २० करोडमा ठेक्का सम्झौता भएको हो । पटकपटक म्याद थपिए पनि निर्माण कम्पनीको कार्य सुस्त बनेपछि अझै तीन वर्षमा पनि आयोजना सम्पन्न हुने अवस्था देखिँदैन । ६ लेनको उक्त मार्ग निर्माणमा सरकारी निकायको अनुगमन नै फितलो बनेपछि वीरगन्ज–पथलैया व्यापारिक मार्ग यतिबेला अन्योलमा परेको हो ।

योजनाका लागि भएको निर्माण सम्झौतामा २०७५ पुस २८ गतेभित्र पूरा गर्नुपर्ने उल्लेख छ ।
समयमै काम सम्पन्न नभएपछि तेस्रोपटक थपिएको म्यादसमेत यही माघ महिनासम्म मात्र रहेको छ । उक्त समयभित्र अरु ५ प्रतिशतमात्र काम हुने अनुमान गरिएको छ ।
आयोजना कार्यालयले दबाब नदिँदा वीरगन्ज–पथलैया ६ लेन सडकको कामले तीव्रता लिन नसकेपछि संघीय सरकारको यो राष्ट्रिय आयोजनामा बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरूले ठाडो निर्देशन दिएका थिए । तर, निर्माण कम्पनी र आयोजनाका इन्जिनियरहरूको मिलोमतोकै कारण निर्माणले गति लिन नसकेको जिल्ला प्रशासनको उच्च स्रोतको दाबी छ ।
माघ महिना तोकिएको समयमा काम सम्पन्न नहुने भएपछि अहिले २०७७ असार मसान्तसम्म काम सम्पन्न गर्न अन्तिमपटक म्याद थप गर्ने तयारी भइरहेको बताइन्छ । व्यापारिक मार्गका ईन्जिनियर अशोककुमार यादवले असारसम्म म्याद थप्ने तयारी भएको र सो अवधिसम्म पनि काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गरिने बताए । थपिने समयमा पनि अहिलेकै जस्तो सुस्त गतिमा काम भइरहेमा सम्पन्न हुने देखिँदैन ।
जीतपुर–परवानीपुरको अतिक्रमण हटाइए पनि त्यहाँ निर्माण कार्यले गति लिन सकेको छैन । यसैगरी, पथलैयादेखि सिमरासम्मको सडकखण्डमा पनि खासै प्रगति देखिँदैन । कतैतिर मात्र चार लेनको सडक सम्पन्न भएको छ भने थप दुई लेनको सडक बनाउने कार्य भइरहेको छ । सिमरादेखि जीतपुर, परवानीपुर, गण्डक क्षेत्रसम्मको अवस्था कहालीलाग्दो छ । कतै पिच बनेको छ, कतै ग्राभेल बिच्छ्याइएको छ भने कतै काम नै सुरु भएको छैन ।
६ लेन सडक निर्माणको लागि गण्डकदेखि पथलैयासम्म दुवैतर्पm नाला बनाएर सीमा निर्धारण गर्ने काम भने भएको छ । निर्धारित ठाउँमा पुनः अतिक्रमण नहोस् भनेर नाला निर्माणलाई तीव्रता दिइए पनि सडक, फुटपाथको काम भने निकै सुस्त गतिमा चलिरहेको छ ।
व्यापारिक मार्ग विस्तार योजना (वीरगंज–पथलैया) अन्तर्गत पथलैया–परवानीपुर–श्रीसिया सुक्खा बन्दरगाह, एकीकृत चेकपोस्टसम्म २६.४४ किमी ६ लेन र परवानीपुर–गण्डकचोक–वीरगंजसम्म ४.२५ किमी चार लेन सडक तथा पुल निर्माणको लागि ७ प्याकेजमा रु ५ अर्ब २० करोडमा ठेक्का सम्झौता भएको थियो ।
हेटौडा —बिरगंज सडक बिस्तार
सडक विभागले हेटौंडादेखि वीरगंजको मितेरीपुलसम्म सडक फराकिलो गर्ने काम सुरु गरेको छ । पथलैयादेखि हेटौंडासम्मको क्षेत्रमा सडक विस्तार गर्ने काम सुरु गरेको हो । अमलेखगंज, तीन नम्बर पुललगायतका क्षेत्रमा अतिक्रमण हटाउने कार्य धमाधम भएको छ भने एक्साभेटरको प्रयोग गरेर निर्धारित सडक सीमासम्मको अतिक्रमण हटाइएको सडक विभागले जनाएको छ । हेटौंडा र वीरगन्ज बजारको सन्दर्भमा भने राजनीतिक र व्यापारिक दबाबको कारण टुंगो लागेको छैन । प्रदेश नं ३ सरकारले हेटौंडाको सन्दर्भमा १६ मिटर अतिक्रमण हटाउने अडान गरेको कारण त्यहाँ सडक फराकिलो गर्ने काम ठप्प छ । यसैगरी, वीरगंजमा महानगरपालिकाले १५÷१५ मिटर फराकिलो गर्ने अडान र व्यापारीहरूले राजनीतिक दबाबसँगै सर्वोच्चमा गुहार लगाएको कारण कात्तिक २४ गतेसम्मको लागि सडक फराकिलो गर्ने काम ठप्प भएको छ ।
यसअघि गण्डकदेखि मितेरी पुलसम्म व्यापारिक मार्ग विस्तार योजना (वीरगंज–पथलैया)ले नापजोख गर्ने, सो क्षोत्रमा परेका सरकारी कार्यालयहरूलाई अतिक्रमण हटाउन पत्राचार गरिसकेको छ ।