कारोबार संवाददाता
आइतवार, कार्तिक ३, २०७६
781

म्याग्दी-नेपाल–चीननाका कोरलाको २४ नम्बर पिलरमा नेपालतर्फबाट कच्ची सडक पुगेको छ । सो सिमानासम्म पुगेका नेपालीहरूले दुई देशको सीमामै पुगिएछ भनेर छुट्याउन सकिने संकेतसोही पिलरले सिर्जना गरेको छ। किनकी चीनतर्फ व्यवस्थित र परिपक्व संरचना छन् भने नेपालतर्फ यस्तै अव्यवस्थित ।
देशको सिमाना जोगाउन र दुई देशको व्यापारलाई व्यवस्थित बनाउन दुई देशको सिमानामा भौतिक संरचना आवश्यक हुन्छ । चीनले दुई वर्षमै भौतिक संरचना पूर्ण रूपमा तयार पारेको छ भने नेपालतर्फ कुनै सुरसार छैन । तर, सरकारले कोरला छिटै खुल्छ भनिराख्दा भौतिक संरचना बनाउनतर्फ जोड दिए यसको फाइदा नेपाल र चीन दुवै देशले लिनसक्ने त्यहाँ पुगेका नेपालीहरू बताउँछन् । उनीहरूले भौतिक संरचना निर्माण गरेर सिमामा भन्सार कार्यालय, नेपाली सेना प्रहरी र कर्मचारी राख्नुपर्ने बताए ।
लोघेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका जनतालाईलक्षित गरेर वर्षको दुईचोटी नाका खुल्छ । तर, यो बेलामा एकतर्फी नेपालमा मात्र सामान भित्रिन्छ भने नेपालबाट कुनै पनि सामान चीनतर्फ जाँदैन । नेपालले इलाका प्रहरी कार्यालय र भन्सार कार्यालय छोसेरमा राखेको छ ।
पर्यटकीय केन्द्रको रूपमा परिचित मुस्ताङ र उपल्लो मुस्ताङको लोघेकर र लोमान्थाङ गाउँपालिकाका बासिन्दाको कलासंस्कृति तिब्बतीयन पहिल्यको सस्कृतिसँग मिल्छ । लोमान्थाङमा आमेपाल राजाले माटोको दरबार निर्माण गरेका छन् । त्यहाँ ऐतिहासिक गुफा गुम्वा, माटोको घर, राजाका दरवार सबै तिब्बतीयनसँगै मिल्दोजुल्दो पनि छ । चीनतर्फ सुरक्षाकर्मीले हाम्रो भौतिक संरचना पूर्ण गराइसक्यौं तिमिहरूले कहिले बनाउँछौ भनेर बारम्बार सोधिरहने एक्याप लोमान्थाङका सचिव कार्सङ गुरुङले बताए ।
जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहज रूपमा यातायातको पहुँच पु¥याउन ७ वटा प्याकेजमा दुई लेनको ग्राभेल सडक निर्माण भइरहेको छ । उपल्लो मुस्ताङ पुग्न कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ जाने पर्यटक र उपल्लो मुस्ताङबासीलाई विगत छ महिना देखि सहज भएको छ ।
छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेट भन्ने ठाउँमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि जोमसोमदेखि लोमान्थाङसम्म सहजरूपमा सवारी साधन सञ्चालन हुन थालेको छ । कोरला नाका सञ्चालनमा दुई देशको सम्झौता भएपनि बेनी–जोमसोमदेखि कोरला नाका सडक स्तरोन्नतिमा ठेकेदारको लापरबाही र सरकारको वेवास्ताका कारण समयमै सम्पन्न हुन सकेका छैन ।
नेपाल चीनको सिमानामा चीनले सबै भौतिक संरचना निर्माण गरेर पूर्ण तयारीमा बसेको छ भने नेपालतर्फ भने कुनै भौतिक संरचनाको तयारी छैन । कच्ची सडक मात्र पु-याएको छ। भौतिक संरचना निर्माणका लागि १ हजार ३४४ रोपनी जग्गा छुट्याइसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले बताए ।

 

धिरन खत्री

सातामा धेरै पढिएको