केशव समर्पण
बुधवार, आश्विन २९, २०७६
560

 
दुई हप्तापछि नियमित विद्युत् उत्पादन


हेटौंडा-मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानुटारमा निर्माण सुरु भएको १२ वर्षपछि कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न भएको छ । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिल्लुन इलेक्ट्रोमेकानिकल लिमिटेडको कमजोर कार्यसम्पादनका कारण आयोजना निर्माणको काम तोकिएको समयभन्दा ८ वर्ष ढिलो गरी सम्पन्न भएको हो ।

पटकपटक समय थप गर्दा पनि काम सम्पन्न नभएपछि झेजियाङलाई ४ वर्षदेखि हर्जना तिराएरै काम गर्न लगाइएको थियो । १४ मेगावाट विद्युत् उत्पादन क्षमताको आयोजनाको हाल परीक्षण उत्पादन भइरहेको छ ।आयोजनामा रहेको दुई वटा मेसिनमध्ये पालैपालो दुवैको परीक्षण भइरहेको र नियमित उत्पादन सुरु गर्न करिब दुईहप्ता समय लाग्ने आयोजना प्रमुख सुभाष मिश्रले बताए ।“७÷७ मेगावाट क्षमताको दुईवटा मेसिनमध्ये दशैंअघि नै एउटा मेसिनको परीक्षण सकिएको छ, सोमबारबाट अर्को मेसिन चलाउन सुरु गरेका छौं, अब केही दिनमा नै परीक्षण सक्याएर हामी नियमित उत्पादन थाल्छौं ।” आयोजना प्रमुख मिश्रले भने ।
आयोजनाबाट उत्पादित विद्युत् कुलेखानी दोस्रोसँगैको प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । इन्द्रसरोबर जलाशयमा जम्मा भएको पानीबाट सञ्चालित कुलेखानी पहिलो र कुलेखानी दोस्रोको क्यासेट आयोजनाको रुपमा कुलेखानी तेस्रो निर्माण गरिएको हो । इन्द्रसरोबर जलाशयबाट कुलेखानी पहिलो चलाउन हालिएको पानीबाट कुलेखानी दोस्रो र तेस्रो आयोजनाबाट पनि विद्युत् निकाल्न सकिनेछ । विद्युत् उत्पादनको लागि पानी खसाल्न कुलेखानी दोस्रोबाट तेस्रोसम्म ४ दशमलव २ किमि सुरुङ निर्माण गरिएको छ ।
२०६४ सालदेखि निर्माण सुरु भएको आयोजना ४ वर्षभित्र सक्ने लक्ष्य लिइएको थियो ।जेजियाङले विद्युत् निकाल्न जेनेरेटर आपूर्ति, जडान र प्रशारण लाइनसम्म पहुँच विस्तारको काम जिम्मा लिएको थियो । जेजियाङले काममा ढिलाई गरे पनि विद्युत् गृह निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले भने केही समय अघि नै काम सक्याएको थियो । विद्युत् गृहभित्र टर्बाइन, जेनेरेटर, कन्ट्रोलर उपकरण जडान गर्ने काम पनि सिनो हाइड्रोले नै जिम्मा लिएको थियो ।
“आयोजना निर्माणमा ढिलाई हुँदा तोकिएको लागतभन्दा धेरै नै बढी खर्च भयो, २ अर्ब ४३ करोडमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकोमा काम लम्बिँदै जाँदा करिब ४ अर्ब ६३ करोड खर्च भएको भएको छ,” आयोजना प्रमुख मिश्रले भने । जिर्ण अवस्थामा रहेको कुलेखानी तेस्रो आयोजनाको काम ढिलै भए पनि सम्पन्न भएको भन्दै आयोजना प्रमुख मिश्रले खुसी व्यक्त गरे ।
कुलेखानी पहिलो र दोस्रोकै क्यासेट आयोजना भएकाले कुलेखानी पहिलो नचलेको बेला तेस्रो पनि चल्न नसक्ने आयोजना प्रमुख मिश्रले बताए । हिउँदयाममा अन्य आयोजनाबाट विद्युत् उत्पादन घटेको बेलामा मात्र प्राधिकरणको विद्युत् ब्याकअपको रुपमा रहेको कुलेखानी पहिलो र दोस्रो चलाउने गरिएको छ । अब चल्न सुरु भएको कुलेखानी तेस्रो पनि विद्युत् ब्याकअपको रुपमा मात्र सञ्चालन हुने आयोजनाले जनाएको छ ।
इन्द्रसरोबरमा जम्मा हुने पानीबाट कुलेखानी पहिलोबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । ८ किमि लम्बाईर ९७ मिटर गहिराई रहेको ईन्द्रसरोबर तालमा जम्मा हुने पानीबाट सुक्खायाममा बढी विद्युत् उत्पादन गर्ने गरिएको छ । कुलेखानी बाँधबाट छ किमि सुरुङमार्फत लगिएको पानीले धोर्सिङमा कुलेखानी पहिलो सञ्चालन हुन्छ । सोही पानीलाई अर्को सुरुङबाट खसालेर कुलेखानी दोस्रोबाट बिजुली निकालिने गरेकोमा अब सोही पानी तेस्रो आयोजनामा पनि खसालेर विद्युत् उत्पादन हुनेछ ।