सागर परियार
शुक्रवार, आश्विन १७, २०७६
494

 
जलविद्युत्मा १५ र सौर्य ऊर्जामा ५ अर्ब आवश्यक

जुम्ला-आर्थिक सर्वेक्षण २०७५ अनुसार कर्णालीका ७३ प्रतिशत जनता विद्युत् पहुँचभन्दा टाढा छन् । कर्णालीका ७८ वटा स्थानीय तहमध्ये६ नगरपालिका र ३७ गाउँपालिका हालसम्म पनि विद्युत्को पहुँचमा पुग्न सकेको छैनन् । जसले यहाँका अधिकांश सर्वसाधारण अँध्यारोमै जीवन जीउन बाध्य छन् । सीधा भाषामा भन्नु पर्दा टुकीकै सहारामा दिन गुजारिरहेका छन् । कर्णालीका अँध्यारा वस्तीलाई उज्यालो बनाउन करिब ५५ निर्माण कम्पनीले विद्युत् उत्पादनका लागि अनुमति लिए पनि हालसम्म निर्माण हुन सकेका छैनन् ।
विद्युत् निर्माणको जिम्मा लिएका कम्पनीले समयमै काम नगर्दा कर्णालीवासी अँध्यारामै रात बिताइरहेका छन् । कर्णालीका १७ लाख ७० हजार नागरिक मध्य अझै ७३ प्रतिशतमा बत्तीको पहुँच छैन । कर्णालीमा ९ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो । जसका लागि २०अर्ब लगानी आवश्यक रहेको विज्ञहरूले बताए थिए । गत वैशाख महिनामा जुम्लामा भएको छलफलमा स्थानीय तथा प्रदेशका नेताले आवश्यक लगानी जुटाउने भनेका थिए । तर, हालसम्म पनि लगानी नजुट्दा सबै योजना अलपत्र छन् ।

गत वैशाखकै छलफलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले कर्णालीलाई उज्यालो गराउन यहाँका ५५ विद्युत् आयोजना र सौर्य ऊर्जाका लागि करिब २० अर्ब बजेट आवश्यक पर्ने बताएको थियो । त्यसका लागि आन्तरिक तथा वाह्य लगानीको आवश्यकता थियो । तर, संघीयता आएको अढाई वर्ष बितिसक्दा पनि बाह्य लगानी नभित्रिँदा कुनै जलविद्युत् आयोजनामा लगानी जुट्न सकेको छैन । जसका कारण उत्पादन अनुमति लिएपनि अलपत्र छन् । राष्ट्रिय योजना आयोगले सन् २०२२ सम्म सवै स्थानीय तहमा ५ सयदेखि १ हजार किलोवाटसम्मको विद्युतीकरण गर्ने योजना बनाएको छ ।
तर पनि राष्ट्रिय लगानी सम्मेलनमा कर्णालीको एक मात्र गौरबको फुकोट विद्युत् आयोजना पनि प्राथमिकतामा परेन । कर्णालीका विभिन्न ५५ वटा जलविद्युत् आयोजनाबाट ४३.१३ मेगावाट जलविद्युत् उत्पादन गर्न १५ अर्ब ८२ करोड रहने अनुमान गरिएको छ । तर, ३३ मेगावाट सौर्य ऊर्जाका लागि भने ५ अर्ब ५१ करोड र ०.३ मेगावाट जैविक आयोजनाका लागि ९ करोड ६९ लाख लाग्ने अनुमान गरिएकोवैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक मधुसुधन अधिकारीले बताए ।
हालसम्म लगानी नजुट्दा अधिंकाश योजना निर्माण हुन सकेका छैनन् । गएको वैशाखमा जुम्लामा भएको विद्युत्सम्बन्धी छलफलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक अधिकारीले कर्णाली उज्यालो गर्नका लागि झण्डै २० देखि २५ अर्ब आवश्यक पर्ने र जलविद्युत् र सौर्य ऊर्जामा आवश्यक लगानी गर्न सकिने बताएका थिए । तर हालसम्म न कर्णाली सरकारल लगानी जुटाउन सक्यो न केन्द्रको सहयोग नै भयो ।
कर्णालीका अधिकांशजिल्ला केन्द्रीय प्रसारण लाइनमा जोडिएका छैनन् । कर्णालीमा साना जलविद्युत् आयोजना प्रभावकारी हुने वैकल्पिक अधिकारीलेभने  ।जलविद्युत् सम्भावना नभएका ठाउँमा सौर्य ऊर्जा लागतले पनि कम पर्ने र निकै उपयुक्त हुने अनुमान छ । कर्णालीमा निर्माण हुने योजनाहरूबाट कर्णालीका १७ लाख ७० हजार नागरिक लाभान्वित हुनेछन् ।
गत दुईमहिनाबाट निर्माण भएको जुम्लाको चुकेनी जलविद्युत् आयोजनामा भने, पातारासी गाउँपालिकाले १ करोड सेयर लगानी गरेको अध्यक्ष लछिमन बोहोराले बताए । उनका अनुसार कर्णाली उज्यालो गर्न २० अर्ब आवश्यक रहेपनि हालसम्म जुट्न सकेको छैन् । वाह्य लगानीबिना निर्माण सम्भव छैन । यस विषयमा सरकार बेखबर रहेको उनको भनाइ छ ।
कर्णालीका विद्युत् आयोजनाहरू
कर्णाली प्रदेशमा एक सय मेगावाटभन्दा माथिका १७ वटा जलविद्युत् आयोजना छन् । यी आयोजनामध्ये माथिल्लो कर्णाली ९ सय मेगावाट दैलेख, कालिकोटमा फुकोट कर्णाली ४ सय २६ मेगावाट, तिला–१ चार सय २० मेगावाट, तिला–२, चार सय ४० मेगावाट, सुर्खेतमा वेतन कर्णाली–६ सय ८८ मेगावाट, भेरी ४–तीन सय किलोवाट, डोल्पामा जगदुल्ला ३ सय ७ मेगावाट, मुगुमा मुगु कर्णाली एक सय ५९ मेगावाट, जाजरकोटमा भेरी–२ दुई सय ५६ मेगावाट, डोल्पामा भेरी–८ एक सय २५ मेगावाट, हुम्लामा हुम्ला कर्णाली–१ दुई सय ३५ मेगावाट, हुम्ला कर्णाली–२ तीन सय ३५, रुकुममा भेरी–१ चार सय ४० मेगावाट, मुगुमा मुगु कर्णाली १ हजार ९ सय २ मेगावाट, डोल्पामा अफर भेरी २ सय ८१ मेगावाट, मुगुमा नाग्लाखोला– २ सय ६० मेगावाट, अपर मुगु ३ सय ६ मेगावाट विद्युत्उत्पादनका लागि विभिन्न कम्पनीले अनुमति लिएका छन् ।
उत्पादन अनुमतिपत्र जारी भएकामध्ये कालिकोटस्थित ४ सय ४० मेगावाटको तिला–१ र ४ सय २० मेगावाटको तिला–२ आयोजना छन् । यी दुवै आयोजनाको अनुमति एससी पावर कम्पनीले लिएको छ । कालिकोटकै फुकोट कर्णाली ४ सय ४६ मेगावाटको जलविद्युत् आयोजना नेपाल विद्युत् उत्पादन कम्पनीले निर्माणाधीन प्रक्रिया अगाडि बढाएको छ । कालिकोटमा १६ मेगावाटको रुबन्चु, १३.५ मेगावाटको रुरुबन्चु–१ आयोजनाका लागि अनुमति दिइएको छ । भने जुम्लाको एक मेगावट चुकेनी जलविद्युत् आयोजना निर्माण कार्य भईरहेको छ । तर बाह्य लगानी जुट्न नसक्दा हाल सम्म निर्माण कार्य हुन सकेका छ्रैनन् ।
माथिल्लो कर्णाली, फुकोट कर्णाली र नलगाढले कामको प्रक्रिया अगाडि बढाएका छन् भने अन्यले सम्भाव्यता अध्ययनको काम थालनी गरेका छन् । कर्णाली प्रदेशमा यस्ता सानाठूला आयोजना गरी ५५ आयोजनाले विद्युत् उत्पादनको अनुमति लिएको विद्युत् विकास विभागका प्रवक्ता निशा रिजालले बताइन् । तर वाह्य लगानीबिना निर्माण सम्भव छैनन् । सरकार यसमा गम्भीर हुनुपर्ने उनको भनाई छ । उनले भनिन, “यी आयोजना समयमै निर्माण हुनेमा शंका छ । लगानी अभावमा विगत देखिका योजना अलपत्र छन् ।”
व्यक्तिका नाममा पनि आयोजना
विद्युत् विकास विभागको तथ्यांकअनुसार रुकुम पश्चिमको सानीभेरी–३ ४९.५ मेगावाट जलविद्युत् आयोजना राम गिरी, डोल्पाको तारा खोला ५० मेगावाट जलविद्युत् आयोजना सुशील गुप्ता, मुगुको मुगु कर्णाली ४.८ मेगावाट जलविद्युत् आयोजना रामप्रसाद खनाल, हुम्लाका अफर चुहा लुप्रिखोला ४.५ मेगावाट जलविद्युत् आयोजना शान्त आचार्य र अफर मुगु ३ सय ६ मेगावाट जलविद्युत् आयोजना सुशील गुप्ताको नाममा छ । व्यक्तिका नाममा रहेका यी कुनै विद्युत् आयोजनाको काम भएको छैन ।