केशव समर्पण
बुधवार, आश्विन १५, २०७६
331

 
संघीय सरकारले रकम निकासा गरेन


हेटौंडा-संघीय सरकारबाट योजना हस्तान्तरण भए पनि रकम निकासा नहुँदा प्रदेश–३ का दर्जनौं सडक तथा पुल निर्माणको काम प्रभावित भएको छ ।ठेक्का लागिसकेका सडक तथा पुल निर्माणकोकामलाई अघि बढाउन आवश्यक करिब ६ अर्ब बजेट संघीय सरकारबाट निकासा नहुँदा पुल तथा मोटरबाटो निर्माणको कामले गति लिन सकेको छैन ।

अर्थ मन्त्रालयले प्रदेश–३ को यातायात पूर्वाधार निर्देशनालयलाई गत आवमा हस्तान्तरण गरेको६९ वटा सडक र ५० वटा सडक पुल निर्माणको लागिसमयमै रकम निकासा नगर्दा काम रोकिएको छ । “संघीय सरकारले ठेक्का लगाइसकेको आयोजनाहरू प्रदेशमा हस्तान्तरण गरिए पनि रकम निकासा नहुँदा समस्या भएको छ, हामीले केहीदिनअघि मात्र रकम निकासाको लागि आग्रह गर्दै अर्थ मन्त्रालयलाई पत्र काटेका छौं । अब केही समयमा रकम आउला कि भन्ने आशामा छौं,” निर्देशनालयका निर्देशक सहदेवबहादुर भण्डारीले भने । उनका अनुसार हस्तान्तरण भएका ६९ वटा सडकको लागिदुई अर्ब ५७ करोड र ५० वटा सडक पुलको लागि ३ अर्ब १२ करोड गरी ५ अर्ब ७८ करोड रूपैयाँ संघीय सरकारबाट निकासा हुनुपर्नेछ । अर्थ मन्त्रालयले बेलैमा रकम निकासा नगरेकाले काममा ढिलाई हुनसक्ने भन्दै रकम माग गर्दै पत्र लेखिएको भण्डारीले बताए ।
संघबाट हस्तान्तरण भएर आएका ६९ वटासहित प्रदेश सरकारले चालू आवमा एक सय वटा सडक निर्माण गर्ने योजना अघि सारेको छ । यस्तै संघीय सरकारबाट हस्तान्तरण भइआएका पुलहरूसहित सय वटा पुल निर्माण सुरु गर्ने निर्देशनालयको तयारी छ । स्थानीय तहको सदरमुकाम जोड्ने २० वटा सडक र ठूला पुलहरूको बहुवर्षीय ठेक्का लगाउने तयारी छ । अन्य सडक तथा पुलहरू भने चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने गरी ठेक्का सम्झौता गरिने निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका निर्देशक भण्डारीकाअनुसार चालूआवमा दु्रत गतिमा आयोजना कार्यान्वयनको लागि बेलैमा ठेक्का आह्वान गरिएको छ । सडक र पुल निर्माणको लागि ५ अर्ब बजेट छुट्याइएकोमा एक अर्बभन्दा बढीको ठेक्का आह्वान भइसकेको भण्डारीले सुनाए । निर्देशनालयअन्तर्गतको ६ वटा पूर्वाधार विकास कार्यालय र दुईवटा सडक डिभिजन कार्यालयमार्फत आगामी मंसिरसम्ममा सबै आयोजनाको ठेक्का सम्झौता सम्पन्न गरी काम सुरु गर्ने गरी निर्देशनालयले काम गरिरहेको छ । निर्देशनालयले चालूआवमा प्रदेशभर नौ वटा झोलुङ्गे पुल निर्माणको योजनासमेत अघि सारेको छ । झोलुङ्गे पुलको लागि मात्र चालू वर्षमा १० करोड रुपैयाँ छुट्याइएको छ ।
झोलुङ्गे पुलको लागि पनि सर्भे सुरु भइसकेको बताउँदै निर्देशक भण्डारीले चाँडै नै ठेक्का आह्वान गरिने बताए ।“हामीले यो वर्ष प्रदेशभित्र १० वटा झोलुङ्गेपुल सम्पन्न गर्ने र अरु ५० वटा पुलको सर्भेसमेत गर्ने गरी काम अघि बढाएका छौं । नयाँ सडक पुलको पनि केहीको सर्भे भइरहेको छ भने केहीको ठेक्कासमेत लागिसकेको छ,” निर्देशक भण्डारीले भने ।निर्देशनालयले गत आवमा ७० वटा नयाँ सडक पुल निर्माण सुरु गरेकोमा १४ वटा सम्पन्न गरेको थियो ।