कारोबार संवाददाता
मंगलबार, आश्विन १४, २०७६
336

दुई पुरातात्विक सम्पदा आगमछें र देगु तलेजु मन्दिरको पुर्ननिर्माण उपभोक्ता समिति मार्फत गरिने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले काठमाडौंको बसन्तपुर दरबार क्षेत्रको आगमछें र देगु तलेजु मन्दिरको पुनर्निर्माण उपभोक्ता समिति मार्फत गर्ने निर्णय गरेको हो । २०७२ सालको भूकम्पबाट क्षति भएका आगमछें र देगु तलेजु मन्दिर जापान सरकारको आर्थिक सहयतामा पुनर्निर्माण गर्न सम्झौता भइसकेको छ ।

पुनर्निर्माण प्राधिकरणको पहलमा यसअघि नै आगमछें मन्दिर उपभोक्ता समिति मार्फत गर्न जनप्रतिनिधिहरु, स्थानीय समुदाय र जापान सरकार सहमत भएको प्राधिकरणले जनाएको छ । टेण्डरबाट गर्ने कि उपभोक्ता समिति मार्फत गर्ने भन्नेमा कुरा नमिल्दा लामो समयदेखि आगमछेंको पुनर्निर्माण अघि बढ्न सकेको थिएन । ललितपुर महानगरापालिकाले उपभोक्ता समिति मार्फत देगु तलेजु मन्दिर पुनर्निर्माण गर्न माग गरेको थियो । उपभोक्ता समिति मार्फत पुनर्निर्माण गर्ने सहमति भए पनि पुनर्निर्माणका क्रममा मन्दिरको माथिल्लो भागलाई काठको टेको लगाएर अड्याउने कि ज्याक लगाएर भन्नेमा भने अझै एकमत हुन बाँकी छ । ‘पाटन संरक्षित स्मारक क्षेत्रभित्र पर्ने देगु तलेजु मन्दिरको पुनर्निर्माण कार्य ललितपुर महानगरपालिकाबाट गठित देगु तलेजु मन्दिर उपभोक्ता समिति मार्फत गर्न स्वीकृत दिने’ कार्यकारी समितिको निर्णयमा उल्लेख गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सुरक्षित तरिकाले मन्दिरको पुनर्निर्माण गर्नु महत्वपूर्ण भएकाले प्राविधिक पक्षमा धेरै अल्झिन नहुने बताए ।