अनुपमा खनाल
शुक्रवार, आश्विन १०, २०७६
300

गोरखा-गण्डकी प्रदेश सरकारले तिब्बतसँग सिमाना जोडिएको गोरखाको रुइला नाका खुल्ला गर्ने तयारी थालेको छ ।
प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सामागाउँसँग जोडिएको रुइला नाका खुल्ला गर्न आवश्यक कूटनीतिक तयारी सुरु भएको जानकारी दिए । गोरखा सदरमुकाममा सुरु भएको दोस्रो दसैं सस्तो मेलालाई सम्बोधन गर्दै उनले मुख्यमन्त्रीसँगै रुइला नाकाको स्थलगत अध्ययन गरेर नाका खुल्ला गर्ने विषयमा द्विपक्षीय छलफल गर्ने जानकारी दिए ।

“गोरखाको समृद्धि रुइला नाकाबाट नै सुरु हुन्छ,” उनले भने, “हामी नाका खोल्ने विषयमा छलफल अघि बढाउँदैछौं । त्यो नाका खुल्ला गरेपछि जिल्लामा पर्यटन प्रवद्र्धनमार्फत आर्थिक विकास हुन्छ ।” जिल्लाको समग्र विकासका लागि सरोकारवाला सबै पक्षबीच एकताको खाँचो रहेको उनले बताए । “एकताबाट मात्र रूपान्तरण र परिवर्तन सम्भव छ,” उनले भने, “गोरखाका ब्यवसायी, राजनीतिक दल, समाजका सबै पक्ष एकबद्ध भएर यहाँको ऐतिहासिकमात्रै होइन, भौतिक पक्ष सुन्दर बनाएर विकास निर्माणमा हातेमालो गरौं ।” जिल्लाको विकास निर्माणका लागि प्रदेश सरकारबाट यथेष्ट बजेट विनियोजन भएको उनको दाबी छ ।
“अबको दुई वर्षमा चुमनुब्री र धार्चेका उत्पादन सहज रूपमा बजार ल्याउने सडक बन्छ,” उनले भने, “गोरखा बजारदेखि फिनामसम्मको अलपत्र सडक पिच गर्न पनि हामीले पहल गर्दैछौं ।” ग्राभेल सडकलाई क्रमशः कालोपत्रे गर्ने गरी बजेट विनियोजन भएको उनले जानकारी दिए । बूढीगण्डकी जलविद्युत् आयोजनाको बाँकी काम धेरै अघि बढिसेकेको बताउँदै उनले केही दिनभित्रै आयोजनाको महत्वपूर्ण निर्णय हुने बताए । “बाँकी क्षेत्रको जग्गाको मुआब्जा निर्धारण, घरबोटको मुआब्जा वितरणलगायतका रोकिएका कामको अब केही दिनमा नै टुंगो लाग्छ,” उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरले किसानलाई प्रोत्साहनका लागि ब्याजमा अनुदान दिने जानकारी दिए । ‘ब्यावसायिक किसानलाई ब्याजमा अनुदान दिने कार्यक्रम ल्याउने तयारीमा मन्त्रालय छ,” उनले भने, “स्वरोजगारका लागि पुँजीको अभाव हुन दिदैनौ तपाईंहरू उत्पादनमा जुट्नुहोस ।” हरेक स्थानीय तहलाई कुल बजेटको १५ प्रतिशत रकम कृषि क्षेत्रमा लगानी गर्न उनले आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद हरिशरण आचार्यले पर्यटन प्रवद्र्धनका लागि गोरखा बजार क्षेत्रको एकीकृत विकास गर्नु जरुरी रहेको बताए । गोरखा चेम्बर अफ कमर्शको आयोजनामा हरमटारीको खेलकुद मैदानमा स्थानीय उत्पादन र ब्यवसायको प्रवद्र्धन गर्ने र चाडबाडका लागि आवश्यक पर्ने उपभोग्य सामग्री एकै ठाउँमा खरिद बिक्री गर्ने उद्देश्यले मेला गरिएको हो । १० दिनसम्म चल्ने मेलामा हिमाली क्षेत्रका सिलाम, जडिबुटी लगायतका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ । यस्तै, स्थानीयस्तरमा आरनबाट बनाएको हतियार, ढाकाको कपडा, हस्तकलाका सामग्री, नेपाली जुत्ताचप्पल, अल्लोका कपडा, भान्साका सामग्री, सौन्दर्य सामग्री पनि स्टलमा राखिएको छ । मेलाअन्तर्गत नै दसंैलाई लक्षित गर्दै साल्ट्र ट्रेडिङ कर्पोरेसन लिमिटेडले कभर्ड हलमा सस्तो मूल्यमा नुन र चिनी बिक्री सुरु गरेको छ ।
एक सय ३० स्टल रहेको मेलामा कृषि र पशुसँग सम्बन्धित करिब ३० स्टलसँग शुल्क नलिने गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठले बताए । मेलामा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ । मेलास्थलमा नवदुर्गा पूजाको ब्यवस्था पनि गरिएको छ । घटस्थापनाको दिनबाट नवदुर्गा पूजा सुरु हुने आयोजक गोरखा चेम्बर अफ कमर्सले बताएको छ । १० दिनसम्म चल्ने मेलाको करिब ६० हजार दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलाको उद्घाटन कार्यक्रममा बोल्दै गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष भाइचन्द्र श्रेष्ठले तिब्बत र भारत जोडने पुलका रूपमा गोरखालाई लिन आग्रह गरे ।
मनासलु संरक्षण क्षेत्रसहित जिल्लाका ऐतिहासिक, धार्मिक र पर्यटकीयस्थलको प्रचार र प्रवद्र्धनका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्नेमा चेम्बरले जोड दिएको छ । यस्तै गोरखा दरबार क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेश गर्नका लागि आवश्यक पूर्वाधार विकासमा पनि चेम्बरले सहकार्य गर्ने इच्छा देखाएको छ । गोरखकाली रबर उद्योग सञ्चालनका लागि पब्लिक प्राइभेट पार्टनरसीपको अवधारणाअनुसार काम गर्नुपर्नेमा अध्यक्ष श्रेष्ठको जोड छ । मेलाको उद्घाटनकै अवसरमा गोरखा चेम्बर अफ कमर्शले प्रकाशन गरेको स्मारिकाको पनि विमोचन गरेको छ ।

 


सातामा धेरै पढिएको