कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६
315

म्याग्दी-रघुगंगा गाउँपालिकाको गलेश्वर राहुघाटदेखि पिप्ले–भगवती सडकमा कमशल सामग्री प्रयोग गरेको भेटिएको छ । २०७८ जेठमा सम्पन्न गर्ने लक्ष्यसहित स्तरोन्नति र कालोपत्रे कामलाई तीव्रता दिएको आयोजनामा पिप्लेअन्तर्गत पर्खाल निर्माणमा कमशल मसला प्रयोग गरिएको भेटिएको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीद्वारा कालोपत्रेका लागि सञ्चालित सडक आयोजनाको पर्खाल निर्माणमा ब्यवसायीले गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेका हुन् । रघुगंगा गाउँपालिका–३ पिप्लेको रघुगंगा माविनजिकै पर्खाल निर्माणमा तोकिएको मापदण्ड र परिणाम अनुसारको सिमेन्ट र बालुवा (मसला) प्रयोग नभएको स्थानीयबासी दिपक कार्कीले बताए । नेकपा रघुगंगा गाउँपालिकाका अध्यक्षसमेत रहेका कार्कीले पर्खालमा राखिएको मसला जम्नुपर्नेमा हातले उठाउँदा बालुवाजस्तै भेटिएपछि मसलाको नमुना गुणस्तर परीक्षणको माग गर्दै पूर्वाधार विकास कार्यालयलाई बुझाएका छन् ।

गण्डकी प्रदेशका सांसद विनोद केसीले पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानालाई भेटेर गुणस्तर परीक्षण र निर्माण ब्यवसायीलाई गुणस्तर काम गराउन स्थलगत अध्ययनका लागि अनुरोध गरेको छ । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक आयोजना’ कार्यक्रमअन्तर्गत आठ किलोमिटर सडक स्तरोन्नतिका लागि एपेक्स–खड्का कृष्ण जेभी काठमाडौंले भ्याटसहित १८ करोड ४१ लाख ८३८ रुपैयाँमा ठेक्का लिएको हो ।
सिनियर डिभिजनल इन्जिनियर ढुंगानाले तत्कालै स्थलगत अनुगमन गरेर गुणस्तर र मापदण्ड अनुसारको काम गराउने बताए । स्थलगत अनुगमन गरेर कमजोरी गरेको भेटिए कम गुणस्तरको निर्माण सामग्री प्रयोग भएको पर्खाल भत्काएर पुनः बनाउन लगाउने प्रतिबद्धता जनाए ।