गोपाल पोखरेल
बिहिवार, आश्विन ९, २०७६
248

उदयपुर-प्रदेश १ का पहाडी जिल्लालाई तराईसँग जोड्ने सिद्धिचरण राजमार्गको विभिन्न खण्ड जीर्ण बन्दै गएको छ ।
खोटाङ, ओखलढुंगा र सोलुखुम्बुबासीले प्रयोग गर्ने यो राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेपनि लामो समयदेखि मर्मत हुन सकेको छैन । उदयपुर, खोटाङ्ग, ओखलढुङ्गा र सोलुखुम्बुका सर्वसाधारणको आवागमन र दैनिक उपभोग्य सामग्री ढुवानी हुने सिद्धिचरण राजमार्गको स्तरोन्नति नहुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । दैनिक सयौंको संख्यामा सवारीसाधन आवतजावत गर्ने भिरको सडक एकातिर साँघुरो छ भने अर्कोतर्फ जीर्ण बन्दै गएको छ ।

सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारीदेखि घुर्मीसम्मको सडक, दुर्घटनाको हिसावले संवेदनशिल बनेको छ । करिब १८ वर्षअघि नेपाली सेनाले खोलेको साँघुरो ट्रयाकलाई १० वर्षअघि वटासिल प्रविधिमार्फत् कालोपत्रे गरिएको थियो ।
अहिले कालोपत्रे सडक भत्किएर धुले सडकमा परिणत भएको मात्र छैन, घुमाउरो र साँघुरो समेत रहेकाले दुर्घटनाको जोखिम झनै बढाएको छ । सडकका खाल्डाखुल्डी र पहिरोलाई व्यवस्थापन गर्नेतर्फ समेत चासो देखाइएको छैन । हर्देनीको ठाँटी, लेखानीको लप्सेभिर, सिरिसेको वनदेवीलगायतका भिरमा यात्रा गर्दा यात्रुले आँखा चिम्लनु पर्ने अवस्था छ ।
सिरहाको मिचैयादेखि कटारीसम्मको करिब २६ किलोमिटर सडकसमेत जीर्ण रहेको छ । सिमेन्ट उद्योगका लागि चुनढुङ्गा संकलन गर्ने ट्रिपर, दैनिक उपभोग्य र निर्माण सामग्री लिएर गुड्ने ट्रकले क्षमता भन्दा बढी सामान बोक्दा सडक जीर्ण बनेको हो । सडकको स्तरोन्नतिका लागि स्थानीयले पटक–पटक माग गर्दै आएका छन् । तर सरकारी बेवास्ताका कारण अहिलेसम्म सडक मर्मत हुन सकेको छैन ।
स्तरउन्नतिका नाममा चुरे खण्डमा फराकिलो पार्ने काम गरेको भएपनि अन्य कुनै काम हुन नसकेको स्थानीयले बताए । ‘खाल्डा–खुल्डी पुर्ने र ठाँउ ठाउँमा सडक फराकिलो पार्ने काम भइरहेको छ’ स्थानीय नरेशकुमार सार्कीले भने, ‘तर, यो दिगो समाधान भने होइन, वन विनास गर्ने काम मात्रै हो ।’ सडकका कारण दुर्घटना बढ्दै गएपनि स्तरोन्नतिमा चासो नदेखाएको हर्देनीका सुरेन्द्र थापाले बताए ।
‘सडकको ट्रयाक खुलेदेखि नै राजर्मागमा पटक पटक दुर्घटना हुने गरेको छ’ लेखानीका रामकुमार खत्रीले भने, ‘झन अहिले त सवारी चाप पनि बढ्दै गयो, सडकपनि जीर्ण भयो, त्यसैले समस्यै समस्या छ ।’ सरकारी बेवास्ताका कारण सिद्धिचरण राजर्मागमा सधैं समस्या हुने गरेको उनले बताए ।

 


सातामा धेरै पढिएको