कारोबार संवाददाता
बिहिवार, आश्विन ९, २०७६
290

इलामका केही युवाहरुले जिल्लामा सञ्चालित अनाथालयमा दुई तले पक्की भवन निर्माण गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् अभियान चलाएर रकम संकलन गरी भवन निर्माण गरेका हुन् । इलाम नगरपालिका ६ चुरेघाँटीका चन्द्र राई, इलाम नगरपालिका १ का बिनय तिम्सिना, माइजोगमाई इलामकी बुद्धमाया सोङमी, इलामकै नरेश श्रेष्ठ र विनय श्रेष्ठले सामाजिक सञ्जालमा अभियान नै चलाएर ४१ लाखमा सो भवन निर्माण गरेका हुन् ।
भवन निर्माणमा खर्च भएको ४१ लाखमध्ये ३२ लाख रुपैयाँ संकलन भएर खर्च भइसकेको छ । बाँकी प्रतिवद्धता व्यक्त गरेकाहरुबाट छ लाख रुपैयाँ उठ्न बाँकी रहेको छ भने तीन लाख रुपैयाँ ऋण लागेको उनीहरुले बताएका छन् ।

इलाम नगरपालिका–९ मा रहेको राहसल अनाथालयमा रहेका बालबालिकाका लागि उनीहरुले भवन निर्माण गरेका हुन् ।
उनीहरुले गएको वर्ष ‘श्रोत व्यवस्थापन अभियान समिति’ समिति गठन गरेका थिए । २०७५ साल असोज ६ गतेदेखि फेसबुकमार्फत् अभियान सुरु भयो । अभियान थालेपछि गरेपछि अनाथालयलाई घर बनाउन सहयोग संकलन हुन थालेको अभियान्ता बिनय तिम्सिनाले बताए ।
अभियानमार्फत् संकलन भएको अनाथालयमा दुईतले पक्की घर निर्माण गरिएको छ । आठवटा कोठा रहेको उक्त भवन निर्माणपछि अब २० जना बालबालिका अटाउन सकिने बताइएको छ ।
भवनसँगै उनीहरुले २० जना बालबालिकालाई पुग्ने आवश्यक लत्ता कपडासहित खाटसमेत निर्माण गरेका छन् ।
प्रविधिसँगै हरेक विषयमा जानकारी होस भनेर टेलिभिजन समेत खरिद गरेर अनाथालयमा राखिएको छ । बालबालिकालाई सूचनासँगै मनोरञ्जन र सूरक्षाकालागि सिसि टिभि र जडान गरिएको तिम्सिनाले वताए ।
अनाथालयको भवन निर्माणका लागि सवैभन्दा वढि रकम तिन लाख सम्म दाताले उपलब्ध गराएएका छन् । झापाका राजेश भण्डारी, इलाममा रतन चौधरी र इलामकै प्रेम कुमारी खड्कीले तीन तीन लाख सहयोग प्रदान गरेका छन् । चौधरीले तिन लाख बोलेकामा एक लाख दिइसकेको अन्य दुई लाख दिन बाँकी रहेको वताइएको छ । त्यस्तै जिल्ला र जिल्ला बाहिरका धेरैले सहयोग गरेका थिए ।
त्यस्तै इलामको पशुपतिप्रसाद गणका दुईसय १७ जना नेपाली शेनाले समेत श्रम सहयोग गरेका छन् । यस अघि अनाथालयमा चारकोठे मात्र भवन थियो । अनाथालयमा हाल १५ जना बालबालिका रहेका छन् ।

स्थानीय राजेन्द्र चौहानले आठ रोपनी जग्गा अनाथालयको नाममा नामसारी गरेर अनाथालय शुरु गरेका हुन् । २०६६ सालमा दर्ता भएको अनाथालयमा २०६८ सालदेखि अनाथ बालबालिका राख्न थालिएको थियो । यहाँ राखिएका र सुरुमा बसेका बालबालिका हाल पढेर पनि राम्रो काममा लागेका छन् भने कोही विदेश गएर पनि राम्रै कमाई गरिरहेका छन् ।


सातामा धेरै पढिएको