मेगराज खड्का
बुधवार, आश्विन ८, २०७६
297

रुकुमपश्चिम बाँफिकोट गाउँपालिका–१ र वडा नम्बर २ को बीचमा रहेको पुमा खोलामा पुल नहुँदा यातायात सेवा सञ्चालन गर्न समस्या भएको छ । वर्षाका कारण खोलामा पानीको मात्र बढ्दा यातायातका साधनले जोखिमपूर्ण तरिकाले खोला वारपार गर्ने गरेका छन् ।
वर्षाका खोलामा रहेको कल्भर्टभन्दा माथिबाट पानी बग्न थालेदेखि पैदल यात्रा गर्ने यात्रु तथा सवारीसाधन आवतजावत गर्न समस्या भएको हो । कल्भर्टभन्दा माथिबाट बग्ने पानीले गाडी बगाउने भएकाले आफूहरूले गाडी नचलाएको गाडी चालक सुनिल विकले बताए । उनका अनुसार साताअघि उक्त खोलाले उनको गाडी नै बगाएको थियो । खोलाले बगाएपछि प्रहरीको सहयोगमा उनी र गाडीलाई उद्धार गरिएको थियो । उक्त खोलामा पुल नहुँदा बर्सेनि यसरी नै यातायात सेवा बन्द हुने गर्छन् । हिउँदको समयमा खोलामा पानी सानो बग्ने भएकाले यातायात सेवा सञ्चालनमा कुनै समस्या नपर्ने भए पनि वर्षात्मा मुस्किल पर्ने गरेको छ । पुमा खोलामा पुल नहुँदा रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–१, रुकुमपूर्व सिस्ने गाउँपालिका–३ र वडा नम्बर ४ का स्थानीयलाई विभिन्न कामका लागि रुकुमपश्चिमको सदरमुकाम मुसिकोट खलंगालगायतका विभिन्न ठाउँसम्म आवतजावत गर्न समस्या हुने गरेको छ ।

गाराघाट पुल निर्माणमा ढिलाइ
रुकुमपश्चिमको बाफिकोट गाउँपालिका र मुसिकोट नगरपालिकालाई जोड्ने गाराघाट मोटरेबल पुल निर्माणकार्यमा ढिलाइ भएको छ । तीन वर्षभित्र निर्माण गरिसक्ने जिम्मा पाएको ठेकेदार कम्पनीले म्याद सकिन लाग्दा पनि १० प्रतिशत पनि काम सम्पन्न नगरेकोले तोकिएको समयमा पुल निर्माण नहुने देखिएको छ । पुल निर्माण र अन्य व्यवस्थापनको काममा ढिलासुस्ती हुँदा पुल निर्माण भइरहेको ठाउँमा बस्ती नै जोखिममा रहेको स्थानीय चन्द्रबहादुर शाहीले बताए । पुल निर्माण जतिसक्दो छिटो निर्माण गर्न र पुल निर्माणको क्रममा जोखिम भएको ठाउँमा तारजालीको ब्यवस्था गरी जोखिमबाट जोगाउनु पर्ने स्थानीयको भनाइ छ । पुल निर्माणको जिम्मा लिएको नार्गाजुन कन्ट्रक्सनका सुपरभाइजर नवीन घिमिरे कामदारलाई ज्याला नदिएको भनाइमा सत्यता नभएको तर पुल निर्माणमा विविध समस्याका कारण ढिलाइ भएको दाबी गर्छन् । करिब आठ करोडमा सम्झौता भएको सो पुलमार्फत रुकुमपश्चिमको ब्यापारिक केन्द्र मानिएको छिनखेत बजार राडी बजार हुँदै डोल्पासमेत सडक यातायातको सिधा पहुँच पुग्ने छ ।

खोलाको कल्भर्ट भरिँदा आवागमनमा समस्या
रुकुमपश्चिमको पिथिबांग खोलामा वर्षात्का कारण खोलामा कल्भर्ट भरिँदा आवागमनमा समस्या भएको छ । यस खोलामा आवश्यक पुल निर्माण नहँुदा बर्सेनि यस्तै समस्या हुँदै  आएको छ । यो खण्ड राप्ती लोकमार्ग अन्तर्गत सल्यान रुकुम प्रमुख सडक खण्ड हो । रुकुमपश्चिमको मुसिकोट नगरपालिका ११ र १२ को सिमानामा यस खोला पर्ने गरेको छ । यस क्षेत्रका लागि पुल निर्माण नहुँदासम्म कामचलाउ रूपमा सडक डिभिजनले कल्भर्टको व्यवस्था गरेको थियो । तर वर्षात्का कारण कल्भर्टसमेत बुझिएपछि समस्या भएको हो । जसका कारण साना सवारीसधानका यात्रु सबैभन्दा मारमा छन् भने ठूला सवारीसधानलाई पनि बेलाबेला समस्या हुने गरेको । यस खोला पुल निर्माणका लागि ठेक्का परिसकेको भए पनि निर्माणको काम सुरु भएको छैन । आगामी २२ महिनाभित्र पुल निर्माणको काम सम्पन्न हुने बताइएको छ ।

सातामा धेरै पढिएको