कारोबार संवाददाता
बुधवार, आश्विन ८, २०७६
354

अपि पावर कम्पनी लिमिटेडले आफ्नो दोस्रो परियोजना अपर नौगाड जलविद्युत आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । ८ मेगावाटको उक्त आयोजना निर्माण सम्पन्न गरी सोमबारबाट सफल परीक्षण थालेको हो ।
परीक्षण प्रसारण पूरा गरी आयोजनाले यही असोज १० गतेबाट राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने अनुमान छ । २०७३ असोजमा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको आयोजनाको कुल लागत एक अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

आयोजनाले वार्षिक ४.८७ करोड किलोवाट विद्युत् उत्पादन गर्ने अनुमान छ ।
यसमध्ये सुख्खा महिनामा १.१४ करोड र वर्षायामका चार महिनामा ३.७५ करोड किलोवाट विद्युत् उत्पादन हुनेछ । यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने अत्तरिया वलाँच सवस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिने छ । यसबाट सुदुरपश्चिम प्रदेशमा भरपर्दो विद्युत आपूर्ति हुने विश्वास कम्पनीले लिएको छ ।