दिलबहादुर केसी
बुधवार, आश्विन ८, २०७६
3278

दोलखा-तामाकोसी नदीको किनारै किनार सडक मार्ग खुल्ने भएको छ । दोलखाको दक्षिणी र उत्तरी भेगलाई जोड्ने गरी तामाकोसी नदी करिडोर खोल्नका लागि डिभिजन सडकले प्रक्रिया अघि बढाएको हो ।
दक्षिणबाट नयाँ पुल (तामाकोसी बजार) सम्म तामाकोसी नदी किनारसम्म पक्कि सडक छ भने उत्तरी क्षेत्रको बञ्चरेबाट लामाबगरसम्म पनि तामाकोसी किनारै किनार सडक निर्माण भएको छ । तामाकोसी बजारदेखि बञ्चरे खण्डको सडक नदी किनारै किनार जोडेर उत्तर दक्षिण मार्ग छोटो बनाउनका लागि करिडोर खोल्न लागेको डिभिजन सडक चरिकोटका प्रमुख डिभिजन इन्जिनिर धर्मेन्द्रकुमार झाले जानकारी दिए ।

अहिले उत्तर र दक्षिण ओहोरदोहार गर्नका लागि लामाबगरदेखि सिंगटी चरिकोट हुँदै तामाकोसी बजार झर्नु पर्छ । सिंगटी तामाकोसी बजारसम्मको हालको सडक दुरी ५३ किलोमिटर छ । यो पक्कि कालोपत्रे सडक छ । त्यस्तै सिंगटी–वञ्चरे–जुँगू–नाम्दू–तामाकोसी बजारसम्मको पनि वैकल्पिक मार्ग छ । तर बञ्चरेदेखि जुँगूसम्मको सडक ट्रयाक मात्र छ, यस बीचमा तामाकोसी नदी माथिको पुल समेत निर्माणाधीन अवस्थामा छ । यसको दुरी हाल ३९ किलोमिटर छ ।
हालका दुवै सडकको दुरी लामो भएको र यात्रासमेत बढी हुने भएकाले यसलाई छोट्याउन करिडोर खोल्न लागेको डिभिजन प्रमुख झाले बताए । अहिले सडक डिभिजनले तामाकोसी बजारदेखि पिखुती बञ्चरेसम्म प्वाइन्टहरुको समेत सर्भे भइसकेको छ । अहिलेको सर्भे अनुसार तामाकोसी बजार नजिकदेखि बञ्चरेसम्म १५ देखि २० किलोमिटर पर्ने देखिएको डिभिजन सडक चरिकोटकी इन्जिनियर प्रकृति पाण्डेले बताइन् ।
तामाकोसी करिडोरका लागि चालु आर्थिक वर्षमा सडक डिभिजनका लागि १० करोड प्राप्त भएको छ । करिडोरका लागि कम्तिमा २० मिटर चौडाइको जग्गा आवश्यक पर्ने उनले जानकारी दिइन् । करिडोरका लागि मुआब्जा दिन नसकिने उनले बताइन् । बढी जग्गा क्षति नहोस् भन्ने उद्देश्यले स्थानीय तहले खोलेका पुरानो सडकका ट्रयाक र जग्गा उपलब्ध हुने स्थानीयहरुको प्रतिबद्धता हुने बित्तिकै डिपीआरको प्रक्रिया सुरु हुने उनले जानकारी दिइन् ।
डिपीआरका लागि ३÷४ महिना लाग्ने उनले जानकारी दिइन् । डिपीआर भएपछि चालु आर्थिक वर्षभित्रै बहुवर्षिय टेण्डर गरेर काम सुरु हुने उनको भनाई छ । ३ नम्बर प्रदेश सभाका सांसद विशाल खड्काले तामाकोसी करिडोर खुलेपछि उत्तर–दक्षिण लोकमार्गले पूर्णता पाउने बताए ।
‘दक्षिण भारतीय सिमा भित्तामोडबाट तामाकोसी बजारसम्म पक्कि सडक आएको छ’ उनले भने ‘सिंगटीदेखि लामाबगरसम्म पनि सडक चल्दै छ, बीचमा करिडोर खोल्दा दुरी २० किलोमिटर जति छोटिँदा यात्रा पनि छोटो हुन्छ ।’ लामाबगरदेखि तिब्बती सिमासम्मको सडक निर्माणको कामले पनि गति लिन थालेकाले चाँडै ३ देश जोडिने बताए ।
सांसद खड्काका अनुसार लामो समयदेखि प्रक्रिया अघि बढ्न नसकेको लामाबगरमा सुरुङमार्गको टेण्डर हुन लागेको जानकारी दिए । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध क्षेत्रको दायाँतर्फ कठिन भीरका कारण सुरुङ निर्माण गर्नुपर्ने अवस्था छ । सुरुङ निर्माण हुन नसक्दा त्यसभन्दा माथिको सडक समेत निर्माण हुन सकेको छैन । लामाबगरमा ३ किलोमिटर सडक ट्रयाक खुलिसकेको छ ।
लामाबगरदेखि तिब्बत सिमानाको सडक खुल्दा र तामाकोसी करिडोर निर्माण भएपछि भारत–नेपाल–चीन जोड्ने सडकको लम्बाइ २५० किलोमिटर मात्र हुने छ । यो नै हालसम्मको उत्तर दक्षिण ३ देश जोड्ने सबैभन्दा छोटो मार्ग बन्ने उनले दाबी गरे । सिन्धुलीमा खुर्कोट–चियाबारी सुरुङमार्ग बन्दा यसको दुरी झन ३० किलोमिटर छोटिन्छ । करिडोर निर्माणका लागि जग्गा प्राप्ति सम्बन्धि प्रतिबद्धता चाँडै पूरा गर्न उनले स्थानीय जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।


सातामा धेरै पढिएको