कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
261

म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्यूत प्राधिकरणले निर्माण गर्न लागेको राहुघाट जलविद्युत आयोजनाको काममा दिलासुस्ती भएको छ । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना प्राधिकरणले २०६६ सालमा सुरु गरेको थियो । सन २०२३ जनवरीमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम गरेको आयोजनाले २० महिनाको भौतिक प्रगति १५ प्रतिशत छ ।
पूरानो भारतीय ठेकेदार कम्पनी आइभिआरसियलसँगको सम्झौता तोडेपछि २०७४ मंसिरमा ६ अर्व रुपैयाँमा सिभिल ठेक्का लिएको जेपी एसोसियट्सले २० महिनामा १५ प्रतिशत भौतिक प्रगति गरेको हो ।
सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्यसहित आयोजनाले काम अघि बढाएको थियो । प्राधिकरणले सहायक कम्पनीको रुपमा २०७३ मा स्थापना गरेको रघुगंगा हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको राहुघाट जलविद्युत आयोजनाको ठेकेदारले पर्याप्त मात्रामा उपकरण, निर्माण सामग्री र जनशक्ति परिचालन गर्न नसकेपछि अबको २५ महिनामा बाँकी ८५ प्रतिशत काम सक्न चुनौति देखिएको छ ।
रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादर भण्डारीले बारम्बार कामको अनुगमन गर्दा सुरुङलगायतको काममा ढिलासुस्ती देखिएको बताए । उनले निर्माण कम्पनीले यो गतिले काम गर्दा समयमा पूरा नहुने बताए । आयोजनाको ६ किलोमिटर २ सय मिटर सुरुङ र एक किलोमिटर पेनस्टक निर्माण गर्नुपर्छ । ‘तर त्यो सुरुवातको चरणमा छ, सुरुङ निर्माणमा तिव्रता दिएको छैन ।’ भण्डारीले भने ।

पहिलेको ठेकेदार कम्पनी आइभिआरसिएल टाट पल्टिएपछि चार वर्षमा दश प्रतिशत काम मात्र सम्पन्न गरेको थियो । नयाँ ठेकेदार कम्पनी पनि आर्थिक संकटमा परेपछि राहुघाटमा पूरानै विगत दोहोरीने चिन्ता बढेको हो । बलास्टिङ, उपकरण आयातको अनुमति पाउन प्रक्रिया र नीतिगत ढिलासुस्तीका साथै बुक्लको पहिरोले काममा समस्या आएको रघुगंगा हाइड्रो लिमिटेडका कर्मचारी बताउछन् । 

घुमाउने तालदेखि बाँधसम्म १० किलोमिटर पहुँच मार्ग निर्माण गरेको कम्पनीले बुक्लस्थित रघुगंगा नदीमाथि बेलिब्रिज, छ किलोमिटर २०० मिटर मध्य २, ३ र ४ नम्बर अडिटबाट सुरुङ खन्न, सर्च ट्याङक र विद्युतगृह निर्माणमा ढिलासुस्ती गरेको छ । पिप्ले, झिँ र दग्नाममा दश वर्षअघि नै २८२ रोपनी जग्गा अधिग्रहण गरेको थियो । आयोजनामा कामको गति बढाउन जिल्लाका सरोकारवालाहरुले ताकेता गरेका छन् ।
ढिलासुस्तिले निर्माण अवधी लम्बिदाँ लागत बढ्दै जाने पूराना संरचना प्रयोगविहिन भएर अलपत्र हुने खतरा बढेको छ ।

 

धिरन खत्री

सातामा धेरै पढिएको