कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
237

दोलखा-कालिञ्चोक गाउँपालिकाले वडा तहमै पुगेर योजनाको सम्झौता थालेको छ । आर्थिक वर्ष २०७६÷०७७ सुरु भएको २ महिना पूरा भएको छैन । भदौमै योजना सम्झौता भएकाले सबै चैतभित्रै भुक्तानी समेत गरिसक्ने गाउँपालिकाले कार्ययोजना बनाएको छ ।
भदौ महिनाभित्रै एकै दिन सुन्द्रावतीका २५ वटा योजना सम्झौता भए । त्यसमध्ये कृषि, र ढाका बुनाइको योजना रहेको थियो । उपभोक्ता समितिसँग वडामै पुगेर एकै दिनमा सबै योजनाको सम्झौता गरेपछि स्थानीयलाई काम गर्ने बाटो समेत खुलेको छ ।

गाउँपालिकाको सिंगो टोली नै वडामै पुगेर सबैको एकै दिन सम्झौता गरेपछि यसलाई स्थानीयले गाउँगाउँमै सिंहदरबार आएको प्रतिक्रिया दिए । ‘गत वर्ष ढाका बुनाइ तालिमकै लागि ३ पटक गाउँपालिका धाइयो’ पहिलो सम्झौता गर्ने महिला समूहकी अध्यक्ष गोमा थामीले भनिन्, ‘अहिले त सबै कर्मचारीहरुले नै कागजपत्र मिलाए, २ घण्टामै काम भयो, त्यो पनि आफ्नै ठाउँमा ।’
गाउँपालिकाका वडाध्यक्ष रामप्रसाद मैनालीले योजना सबै सम्झौता भइसकेकाले चाँडै नै काम सुरु हुने बताए । वडामा कृषि, पशुपालन र आयआर्जनमा आधा दर्जनभन्दा बढी योजना विनियोजन गरेको उनले बताए ।
बजेट समयमा खर्च नहुने र योजना समेत गुणस्तरीय नहुने देशव्यापी समस्या भएकाले आफ्नो गाउँपालिकाले चाँडै सम्झौता गरेर काम सुरु गर्न वडावडामै पुगेर सबै योजनाको सम्झौता गरेको अध्यक्ष विनकुमार थामीले बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव घिमिरेले एउटा वडाको योजना सम्झौता पूरा भएकाले अब वडा नं. १ को तयारी हुने बताए । सबैभन्दा दुर्गम रहेको वडा नं. १ को दसैं अघि सम्झौता हुने र बाँकी दसैं तिहारको बीचमा पूरा गर्ने बताए ।