कारोबार संवाददाता
सोमवार, भदौ ३०, २०७६
1190

कुलमानको एक बर्षे योजना


नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एक बर्षभित्र एक हजार मेगावाट बराबरका जलविद्युत आयोजना सम्पन्न गर्ने तथा ३२४२ मेगावाट बराबरका जलविद्युत आयोजनाको निर्माण  सुरु गर्ने घोषणा गरेका छन् ।  तीन बर्ष अघि चार बर्षका लागि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्त भएका घिसिङले बाँकी रहेको एक बर्षभित्र यति धेरै विद्युत उत्पादन गर्ने र सुरुवात गर्ने घोषणा गरेका हुन् । १९६८ सालमा ५ सय किलोवाटको फर्पिङ जलविद्युत आयोजना सम्पन्न भएपछि १ सय ८ बर्षमा ११ सय मेगावाट मात्र विद्युत उत्पादन हुने सकेकोमा घिसिङले एक बर्षभित्रै झण्डै त्यतिनै बराबरको जलविद्युत सम्पन्न हुने घोषणा गरेका हुन् ।

‘४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित एक हजार मेगावाट विद्युत केन्द्रीय ग्रीडमा थपिने छ ।’–उनले आगामी एक बर्षे योजना सार्वजनिक गर्दै भने–‘धेरै ठूला आयोजना विद्युत प्राधिकरण अघि बढाउँदै छ ।’ उनका अनुसार,  १११ मेगावाटको रसुवागढी, १४.८ मेगावाटको माथिल्लो सान्जेन र निजी क्षेत्रका आयोजनाबाट गरी एक हजार मेगावाट उत्पादन हुनेछ । त्यसैगरी जनताको जलविद्युत कार्यक्रम अन्तर्गत १०६० मेगावाटको माथिल्लो अरुण र ९९.६ मेगावाटको तामाकोसी पाँचौ जलविद्युतआयोजनामा ४९ प्रतिशत साधारण सेयर सर्वसाधारणको सुनिश्चित बनाई स्वेदशी वित्तीय संस्था र अन्तराष्ट्रिय वहुपक्षीय विकास साझेदारको सुहलियतपूर्ण ऋण रहने मोडलमा वित्तीय व्यवस्थापन गरी  निर्माण अगाडि बढाइने छ ।
६३५ मेगावाटको दूधकोसी आयोजनाको पनि वित्तीय व्यवस्थापन गरी निर्माण अगाडि बढाउनुका साथै ८२५ मेगावाटको उत्तरगंगा जलाशययुक्त, २१० मेगावाटको चैनपुर सेती  तथा चिलिमे अन्तर्गत करिव ४२५ मेगावाटका आयोजनाहरु अघि बढाउने उनको योजना छ । नुवाकोटमा निर्माैण हुन लागेको २५ मेगावाटको ग्रिडमा आवद्ध सौर्य ऊर्जा परियोजनाको निर्माण सम्पन्न पनि एक बर्षभित्र सम्पन्न गरिने लक्ष्य छ ।  आगामी दिनमा वर्षायाममा उत्पादित विद्युतलाई खेर जान नदिई शत प्रतिशत आन्तरिक खपत वा निर्यात गराउन विशेष ध्यान केन्द्रित गरिने उल्लेख गर्दै मिटर रिडिङका लागि ग्राहकको घरघरसम्म जानु पर्ने हालको व्यवस्थालाई अन्त्य गर्न स्मार्ट मिटर जडान गरी टेलिफोन सेवामा जस्तै स्वचालित विलिङ लागू कुलमानको योजनामा उल्लेख छ ।
संस्थागत सुशासनलाई कठोरता साथ लागू गरिने, भ्रष्टाचार नियन्त्रणमा सून्य सहनशीलताको नीति अबलम्बन गर्दै प्राधिकरणका क्रियाकलापलाई थप जिम्मेवार, पारदर्शी र जवाफदेही बनाइने,   प्राधिकरणको वित्तीय अवस्था सुदृढ गर्नका लागि सञ्चालन खर्चमा न्यूनीकरण, स्वःउत्पादन वृद्धि, विद्युत चुहावट घटाउँदै विद्युतको बिक्री परिमाण बढाउने लगायत उपलब्ध स्रोतको अधिकतम परिचालन गर्ने योजना कुलमानले अघि सारेका छन् । 
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट स्वीकृत प्राधिकरणको दोस्रो वित्तीय पुर्नसंरचनामा भएको व्यवस्था र प्राधिकरण ऐनमा भएको व्यवस्था अनुसार प्राधिकरणको २५ प्रतिशत सेयर सर्वसाधारणका लागि निश्कासन गर्न आवश्यक पहल गर्ने, प्राधिकरण होल्डिङ संस्थाको रुपमा रहने गरी हरेक प्रदेशमा स्वायत्त प्रदेश विद्युतवितरण संस्था खोलिने योजना, २०७९ सालसम्ममा सबै स्थानीय तहमा शत प्रतिशत विद्युतीकरण गर्ने घोषणा रहेकोमा चालु बर्षभित्र ग्रिड नपुगेका रुकुम पुर्व, कालीकोट, जुम्ला र बाजुरामा ग्रिड पुर्याउने तथा ४० जिल्लालाई पूर्ण विद्युतीकरण गरिने योजना पनि छ ।
देशैभरि स्मार्ट मीटर जडान कार्य गरिने, वितरण प्रणालीलाई स्वचालित बनाउने, आगामी दश वर्षमा दशहजार मेगावाट खपत गर्न सक्ने गरी वितरण प्रणालीको विस्तार एवं स्तरोन्नति गरिने योजना पनि उनले राखेका छन् । माग व्यवस्थापनका लागि विद्युत खपतको दायरालाई विस्तार गरिने, विद्युतीय यातायातका लागि चार्जिङ स्टेसन स्थापना, विद्युतीय चुलो जस्ता विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गरिने तथा विद्युत चुहावटलाई १२ प्रतिशतमा झार्ने, सिंगटी— लामोसाँघु,सोलु करिडोर,दाना—कुश्मा, दोर्दी करिडोर, भरतपुर—बर्दघाट,मस्र्याङदी—काठमाडौं, चिलिमे —त्रिशूली, समुन्द्रटार—त्रिशुली ३ वीहव, कोसी करिडोर (इनरुवा—तुम्लिङटार खण्ड) प्रसारण लाइनको निर्माण चालू आवमा सम्पन्न गरिने  तथा  ढल्केबरमा निर्माणाधीन ४०० केभीको उच्चक्षमताको सबस्टेसन चालु आवमानिर्माण सम्पन्न गरी संचालनमा ल्याइने,  देशैभरका प्रसारण सबस्टेसनहरुलाई स्वचालित गरिन उनको योजनामा उल्लेख छ ।