दिलबहादुर केसी
बुधवार, भदौ २५, २०७६
652

दोलखा-१० वर्षदेखि निर्माण पूरा नभएपछि सडक डिभिजन चरिकोटमा रहेका तत्कालिन र वर्तमान डिभिजन प्रमुखहरुलाई अख्तियारले बयान लिन थालेको छ । विगू गाउँपालिका र गौरीशंकर गाउँपालिका जोड्ने भोर्लेको पुल १० वर्षदेखि अलपत्र परेको छ । कन्सल्टेन्टले गलत डिजाइन गरेपछि निर्माणाधीन पुल अलपत्र परेको हो ।
निर्माण सम्पन्न नभएपछि पुलको ठेक्का लागे यताका सबै डिभिजन प्रमुखलाई अख्तियारले ताकेता गरेको हो । २०६५ सालमा करिब ६ करोड लागतमा रौताहा-ओमबुद्ध जेभीले पुल निर्माणको लागि बोलपत्र पारेको थियो । ठेकेदार कम्पनीले पुल फाउन्डेसनको काम सकिएको ८ वर्ष बितिसक्दासमेत कार्यालयले तौल थपको टुंगो लगाउन नसकेको आरोप लगाउँदै आएको छ ।

पुलको ठेक्का लागेयता ७ जना डिभिजन प्रमुखहरु फेरिए । तर पुल निर्माण सम्पन्न हुन सकेन । डिभिजन प्रमुख भएर गएकाहरु मध्ये ३ जना अवकास समेत भइसकेका छन् ।
मंगलबार २०६६ देखि २०६८ सम्म डिभिजन प्रमुख रहेका दयाकान्त झासँग अख्तियारले बयान लियो । यस अघि उमेशविन्दु श्रेष्ठसँग बयान लिइ सकेको छ । यि दुवै अवकास भइसकेका छन् । त्यसपछिका अयोध्याप्रसाद श्रेष्ठ, कमलेश्वर कर्ण, रामहरि पोखरेल, अशोक तिवारी डिभिजन प्रमुख भइसकेका छन् । १० महिनादेखि धमेन्द्रकुमार झा कार्यरत छन् । सबैलाई पालैपालो अख्तियारले बयानका लागि बोलाएको डिभिजन प्रमुख झाले बताए ।
नेपाल कन्सल्टेन्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने तामाकोसी नदीमाथि भोर्लेमा पुलको डिजाइन गरेको हो । तर कन्सल्टेन्टकै गलत डिजाइनले पुल अहिलेसम्म अलपत्र छ । कन्सल्टेन्टले सिफारिस गरेको डिजाइन, मापदण्ड र तौलअनुसार पटकपटक वर्कसप डिजाइन गर्दा पनि ५२ टन तौल अपुग भएर अन्योल भएपछि १० वर्षसम्म पुल बन्न नसकेको हो ।
कन्सल्टेन्टले करिब १ सय ६४ टन स्टिल फेव्रिकेसनको सिफारिस गरेको थियो । २ फरक वर्कसपमा डिजाइन गर्दा करिब २ सय १६ टनको हिसाव निस्किएपछि डिजाइन गलत सावित हुन आएको डिभिजन सडक कार्यालय दोलखाले जनाएको छ । दुवै चौडामा फुटपाथसहितको एक लेनको पुल करिब साढे ४२ मिटर लम्बाई रहेको छ ।
प्रतिष्पर्धाबाट ठेक्का सम्झौता गर्दाको बखत अनुमान गर्न नसकिने परिस्थितिको कल्पना गरेर सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार अधिकारप्राप्त कर्मचारीले १५ प्रतिशतसम्म ‘भेरिएसन अर्डर’मार्फत तौल र दर फेरबदल गर्न सक्ने नियमलाई कार्यान्वयन गरेर डिभिजन सडक कार्यालय दोलखाले तौल र दर फेरबदल गरि करिब १ सय ९५ टनमा पुनः डिजाइन गरेको स्रोत बताउँछ । करिब ३१ टन बढेको तौलको भुक्तानीको लागि १ करोड बजेटसमेत स्वीकृत भएर आएको स्रोतले जानकारी दिएको छ । तर बढेको तौल अनुसार भुक्तानी गर्दा २५ प्रतिशतभन्दा बढी भुक्तानी गर्नुपर्छ ।
८ वर्ष अघि पुलको दायाँ बाँया उठाएको पिलरको रडहरु खिया लागेर खाइसकेका छन् । गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले कसको के समस्या जे भए पनि पुल चाँडो बनाउनु पर्नेमा जोड दिए ।
पुल बनाउँदा थपिएको पुलको पाता कसले व्यहोर्ने भन्नेमै विवाद छ । यसको समस्या सडक डिभिजन कार्यालय चरिकोट हुँदै सडक विभागसम्म पुग्यो ।
पुलको काम सुरु हुँदा फलामे पाताको बजार मूल्य १३० रुपैयाँ थियो । तर अहिले ३३० रुपैयाँ पुगेको छ । तर यो बढेको मुल्य नै कसले व्यहोर्ने भन्नेमा पनि विवाद छ । डिभिजन प्रमुख झाले पछिल्लो समय ठेकेदारले पुलको सामान अर्डर गरेको छ । आउँदो जेठसम्ममा पुल पूरा हुने दावी गरे ।
पुलको काम सुरु हुँदा डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख उमेशविन्दु श्रेष्ठ थिए । उनीपछि ६ जना डिइ फेरिए । सुरीका स्थानीयबासीसमेत रहेका प्रतिनिधिसभाका सांसद पार्वत गुरुङले स्थानीयको उजुरी बिना पनि अख्तियारले छानविन गरिरहेकाले सचेत भएर काम गर्न कार्यालय प्रमुखहरुलाई आग्रह गरे ।
गौरीशंकर गाउँपालिका भित्रका भोर्ले र घट्टे खोलाका पुल १० वर्षदेखि अलपत्र छन् । सडक विभागले समेत दुवै पुललाई रुग्ण आयोजनाको रुपमा लिएको डिभिजन सडकका इन्जिनियर गागल भण्डारीले जानकारी दिए । घट्टे खोलाको पुलको ठेकेदारले अब पनि काम नगरे कानुनी कारबाही गर्ने तयारी रहेको उनले बताए ।