प्रगति ढकाल
बुधवार, भदौ २५, २०७६
476

वार्तामा आउन सरकारको अपिल

मेलम्ची खानेपानी आयोजनाको काम छाडेर हिँडेको ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट भेण्डर तथा स्थानीय सप्लायर्सहरुले पाउनुपर्ने भुक्तानी रकमको बिषयमा टुंगो नलाग्दा विवाद मिल्न सकेको छैन । भेण्डर तथा स्थानीय सप्लायर्सहरुले बाँकी भुक्तानी सरकारले नै तिर्नुपर्ने माग राखेका छन् भने सरकारले भने अध्ययन गर्न नै बाँकी रहेको भन्दै भुक्तानी बिषय टुंगो नलगाउँदा विवाद लम्बिएको हो ।
भुक्तानी पाउन बाँकी रहेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुले आन्दोलन गर्ने र मेलम्चीको काम समेत ठप्प बनाउने चेतावनी दिँदै आएका छन् । सरकारले नै आलटाल गर्दा आफूहरुले समयमा नै भुक्तानी पाउन नसकेको उनीहरुको गुनासो छ । विवाद नमिलेसम्म मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नै ठप्प गर्ने उनीहरुको चेतावनी छ । विवादका कारण भेण्डर तथा स्थानीय सप्लायर्सहरु आन्दोलमा छन् । धर्नाका कार्यक्रमहरु सञ्चालन भइरहेको आन्दोलनका संयोजक उत्तमकुमार श्रेष्ठले बताए ।
‘अहिले हामीले भर्नाका कार्यक्रम सञ्चालन गरिरहेका छौं, भुक्तानी नभए कडा आन्दोलनमा उत्रने छौं’ उनले भने ‘सरकारले हाम्रो भुक्तानी दिनैपर्छ, भुक्तानीको विवाद नमिलाउन खोज्नु मेलम्चीको पानी काठमाडौं लैजान नचाहनु हो ।’

भुक्तानी दिन आलटाल
सरकारले भुक्तानीका लागि पटक–पटक अध्ययान गर्ने भन्दै भुलाउने र आलटाल गर्न खोजेको भन्दै भेण्डर तथा स्थानीय सप्लायर्सहरुले आपत्ति जनाएका छन् । सरकारले आलटाल गरे आयोजनाको काम अगाडि बढाउनै नदिने उनीहरुको तयारी छ । ‘जहिले पनि सरकारले आलटाल मात्रै गर्न खाज्छ, हामीले भुक्तानी कहिले पाउने ?’ संयोजक श्रेष्ठले भने ।
माग दाबी १ अर्ब ६७ करोड
खानेपानी मन्त्रालयका अनुसार हालसम्म भुक्तानीका लागि भेण्डर तथा स्थानीय सप्लायर्सहरुले १ अर्व ६७ करोड भुक्तानी दाबी गरेका छन् । मन्त्रालयका अनुसार दाबी रकमको प्रमाणका आधारमा अध्यायन भइरहेको बताएको छ । आन्दोलनकारीले भने आफूहरुले प्रमाणसहित पेश गर्दा पनि बाँकी अध्ययान गर्नु छ भन्दै आलटाल गरेपछि आन्दोलन शुरु भएको उनीहरुको तर्क छ ।

वार्ता सकरात्मक नभए कडा आन्दोलन
सरकारले भेण्डर तथा स्थानीय सप्लायर्सहरुले समितिले एक सूचना जारी गरी आयोजना निर्माण क्षेत्रमा विरोध र आन्दोलनलगायतका कार्यक्रमहरु स्थगित गरी वार्तामा आउन समेत अनुरोध गरेको छ ।
सिएमसी कम्पनीबाट बाँकी रकम भुक्तानीको दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा गठन भएको प्राविधिक समितिले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट बाँकी भुक्तानी पाउन नसकेका पीडित भेण्डर तथा सप्लायर्स कम्पनीहरुलाई वार्तामा आउन आग्रह गरेको छ । समितिले मंगलबार सामान आपूर्ति गर्ने सप्लायर्स कम्पनीलाई वार्तामा आउन आग्रह गर्दै राष्ट्रिय गौरवको आयोजना निर्माणमा सहयोग पु-याउन समेत अपिल गरेको हो ।
भुक्तानीको माग दाबी र सोको पुष्टि हुनेगरी बिल बिजक तथा सम्झौताको कागजात पेश गर्न प्राविधिक समितिले आह्वान गरेको छ । सिएमसी कम्पनीबाट बाँकी रकम भुक्तानीको दाबी गरेका भेण्डर तथा स्थानीय सप्लायर्सहरुको मागका सम्बन्धमा गठन भएको प्राविधिक समितिले आयोजनाका लागि सामानहरु आपूर्ति गर्ने सप्लायर्सहरुसँग आवश्यक कागजात माग गरेको हो ।
यसअघि खानेपानी मन्त्रालयका खानेपानी तथा वातावरण महाशाखा प्रमुखको संयोजकत्वमा ६ सदस्यीय प्राविधिक समिति गठन भएको थियो । मागकर्ताहरुको भुक्तानीको दाबीको सम्बन्धमा समितिले आवश्यक काम कारबाही अघि बढाइसकेको छ ।
‘स्थानीय श्रमिक मजदुरहरुको तलब ज्याला दिने सम्बन्धमा सम्बन्धमा मन्त्रालयले उनीहरुको माग सम्बोधन गर्न प्रक्रिया अघि बढाईसकेको छ’ खानेपानी मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सिएमसी कम्पनीबाट पीडित स्थानीय श्रमिकहरुलाई राहत स्वरुप पाउनुपर्ने बाँकी रकम भुक्तानी दिन मन्त्रालयले यस सम्बन्धी फाइल अर्थ मन्त्रालयमा पठाइ सकेको छ ,अर्थ मन्त्रालयबाट सहमति लिइसकेपछि मन्त्रिपरिषद्बाट निर्णय भइ स्थानीय श्रमिकहरुलाई बाँकी रकम भुक्तानी दिन बाटो खुल्नेछ ।’
भेण्डर तथा स्थानीय सप्लायर्सहरु पनि वार्तामा जान तयार छन् । ‘वार्तामा त जान्छौं, तर सकरात्मक नभए कडा आन्दोलनमा उत्रिने छौं ।’ आन्दोलनका संयोजक उत्तमकुमार श्रेष्ठले भने ।