नरी बडु
सोमवार, भदौ २३, २०७६
985

बैतडीको जुलाघाटस्थित नेपाल–भारत सिमानाका जुलाघाटमा मोटरेवल पुल निमार्णको माग गर्दै आइतबारबाट बैतडीमा अनिश्चितकालीन अनशन शुरु भएको छ । महाकाली नदीमाथी मोटरेवल पुल निर्माणमा लागि जुलाघाट पुल निर्माण संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिले अनशन शुरु गरेको हो । पुल निर्माका लागि सरकारी पक्षबाट पहल शुरु नहुन्जेलसम्म अनशन जारी रहने संघर्ष समितिका संयोजक एवं बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए ।
पुल निर्माणका लागि पटक—पटक मौखिक र लिखित दवाव दिँदा पनि सुनुवाई नभएपछि अनशन शुरु गर्नु परेको चन्दको भनाई छ । २०५९ सालमा १० हजार बैतडीबासीको हस्ताक्षर संकलन गरेर तत्कालीन सरकार र भारतीय राजदुतावासलाई बुझाएपनि कुनै सुनुवाई नभएको उनले बताए ।

पुल बनाउनका लागि सबै नेताहरुले आश्वास दिएपनि काम नभएको उनको भनाइ छ । ‘भारतसँग सीमा जोडिएकाले अधिकांशको किनमेल गर्न भारतको झुलाघाट र पिथौरागढ जानुपर्छ’ उनले भने, ‘विहेवारीसँगै अन्य ठूला कार्यहरुको लागि उतैबाट किनमेल गर्नुपर्ने बाध्यता छ । तर पक्की पुल नहुँदा हामीलाई सास्ती भइरहेको छ ।’
बैतडी लगायत सुदूरपश्चिमका जिल्लाहरुको मुख्य नाकाका रुपमा मानिने झुलाघाट नाका पक्की पुल आवश्यक भएको स्थानीय व्यवसायी खिमानन्द भट्टले बताए । पुल नहुँदा व्यापार व्यवसायमा पनि गिरावट आएको उनले बताए ।
पुलकै अभावले बैतडीमा उत्पादन हुने विभिन्न वस्तुहरुलाई भारतीय बजारमा विकाउन समस्या भइरहेको शाहिलेक बजार व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह भण्डारीले बताए । उनले भने, ‘यस्तो अवस्था हुँदा हामीहरुले घाटा व्यहोरीरहेका छौ । साथै सहज रुपमा आवतजावत गर्न पाईरहेका छैनौ ।’ भारतको उत्तराखण्डका धेरैजसो नागरिकहरु बैतडीको त्रिपुरासुन्दरी मन्दिरमा कुल पूजाआजाका लागि आउने गरेका र उनीहरु पनि पक्की पुल नभएकाले आफ्नै साधन प्रयोग गर्न नपाएको गुनासो गर्ने गरेका छन् ।