प्रकाश पाक्साँवा
मंगलबार, श्रावण २८, २०७६
270

तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकालाई जोड्ने खोरुङ्वा खोलामा पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा काम नगरेपछि निर्माणकार्य अलपत्र परेको छ ।
मध्यपहाड़ी लोकमार्गअन्तर्गत म्याङ्लुङ–संक्रान्ती सडक खण्डमा पर्ने यो खोलामा पुल नबन्दा वर्षा लागेपछि सवारी आवतजावत ठप्प हुने गरेको छ । एक वर्षभित्र काम सक्ने गरी लोकमार्गले पुल निर्माणका लागि टेण्डर आह्वान गरी २०७३ सालमा कोसी एण्ड न्यौपाने निर्माण सेवा प्रालिलाई कामको जिम्मा दिएको थियो । २०७४ पुसभित्रै काम सम्पन्न गर्न भनिए पनि सो निर्माण कम्पनी काम छाडेर बेपत्ता छ । निर्माण कम्पनीले पुल निर्माणका लागि पूर्वाधार तयार गर्ने काम सुरु गरे पनि १० प्रतिशत पनि काम नगरी सम्पर्कविहीन बनेको हो । खोलामा पानीको बहाब बढेसँगै अहिलेको वर्षायाममा सवारी साधन आवतजावत गर्न समस्या छ । खोला तर्न नसक्दा वारिका सवारी साधन वारि नै र पारिका सवारी साधन पारि नै भएको सवारी चालक कुमार राईले बताए । उनले भने, “यात्रुहरूले झोलुंगे पुलबाट खोलातरी गाडी चढ्ने गरेका छन् ।”

मध्यपहाडी लोकमार्गअन्र्तगत म्याङलुङ–आठराई सडक निर्माण भएको १६ वर्ष पुरा भए पनि खोरङ्वा खोलामा पक्की पुल नबन्दा जीर्ण अवस्थाको झोलुंगे पुलबाट स्थानीय आवतजावत गर्ने गरेका छन् । वर्षा याममा मात्र नभएर बाह्रै महिना यो झोलुंगे पुलबाट स्थानीयवासीले जोखिम मोलेरै मोटरसाइकल तार्ने तथा सामान ओसारपोसार गर्नुपर्ने बाध्यता रहेको म्याङलुङका यामनाथ दाहालले बताए । “खोला तर्न सकिँदैन, झोलुंगे पुलको विकल्प छैन,” उनले भने ।
वर्षा लागेसँगै खोलामा पानीको अत्यधिक बहाबले बस, ट्याक्सी, ट्रयाक्टरलगायतका सवारीसाधन ठप्प हुने गरेका छन् । पुलअभावकै कारण वर्षको ६ महिनामात्र सवारी खोरङवा खोला वारिपारि गर्ने गरेका छन् । खोलामा पक्की पुल नहुँदा सामान ढुवानी नभएपछि फेदाप र आठराई क्षेत्रमा वर्षेनी खाद्य संकट पर्ने गरेकाले पुल निर्माणका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने फेदाप गाउँपालिका सम्दुका वृखबहादुर राईले बताए ।
पुल निर्माणका लागि अनुमानित लागत पाँच करोड ९० लाख एक हजार रुपैयाँ तय गरेकोमा चार करोड ९६ लाख ९१ हजार ६ सय ४५ रुपैयाँमा काम गर्ने गरी कोसी एन्ड न्यौपानेले जिम्मा लिएका थिए । सम्पर्कविहीन रहेको कोसी एण्ड न्यौपाने निर्माण सेवा प्रालिलाई ताकेता गरेर तत्काल काम सुचारु गर्न पहल थालिने म्याङलुङ नगरपालिकाका प्रमुख संजय तुम्बाहाम्फेले बताए ।
सुदूरपूर्व पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाट जोड्ने मध्यपहाड़ी लोकमार्ग धमाधम निर्माण भइरहेको छ । निर्माणाधीन लोकमार्गमा पर्ने अधिकांश खोला नदीमा पक्की पुल निर्माण भएका छैनन् । कतिपय ठाउँमा निर्माणकार्य सुरु गरिए पनि अलपत्र अवस्थामा छन् ।