कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
483

पाँचथर- तल्लो हेवा जलविद्युत् आयोजनाबाट केन्द्रीय प्रसारणलाइनमा २२ मेगावाट विद्युत् जोडीएको एक साता नपुग्दै पाँचथरबाट अर्को १० मेगावाट विद्युत् जोडिने भएको छ । केही दिनअघि मात्र पाँचथरबाट तल्लो हेवा जलविद्युत् आयोजनाको २२ मेगावाट विद्युत केन्द्रीय प्रसारणलाइनमा जोडिएको थियो ।
पाँचथरको याङ्वरक गाउँपालिकाको थर्पुमा इवाँ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । यो आयोजनाको क्षमता १० मेगावाट रहेको आयोजना निर्माण पक्षले जानकारी दिएको छ । रैराङ–रैराङ हाइड्रोपावर कम्पनी प्रवद्र्धक रहेको सो आयोजना २०७३ मंसिरबाट निर्माण सुरु भएको थियो । निर्माण कार्य सकिएर परीक्षण प्रसारणको तयारीमा लागेको आयोजना प्रमुख कुवेरमणि नेपालले जानकारी दिए । अब केही दिनपछि परीक्षण प्रसारण हुने र केन्द्रीय प्रसारणलाइनमा जोड्ने नेपालले बताए ।

आयोजनाको आन्तरिक परीक्षण सफल भएको र विद्युत् उत्पादनका लागि तयार भएको उनले बताए । अब विद्युत् प्राधिकरणसँग समय लिएर परीक्षणप्रसारण गरिने नेपालले जानकारी दिए । “हाम्रो आयोजनाबाट देशलाई १० मेगावाट विद्युत् योगदान गर्ने छौं,” उनले भने । यहाँ उत्पादित विजुली काबेली करिडोरको अमपुर सवस्टेसनमा गएर केन्द्रीय प्रसारणलाइनमा जोडिने छ ।
१ अर्ब ८५ करोड रूपैयाँको लागतमा यो आयोजना निर्माण सम्पन्न भएको हो । आयोजना निर्माणका लागि ७० प्रतिशत बैंकको ऋण छ । बाँकी ३० प्रतिशत प्रवद्र्धक कम्पनी, स्थानीय र सर्वसाधारणको सेयर छ । बैंक अफ काठमाडौंको नेतृत्वमा पाँचवटा बैंकले ऋण लगानी गरेका हुन् ।
कावेली प्रसारणलाइनको निर्माण कार्य ढिला हुँदा यो आयोजना पनि एक वर्ष ढिला हुन गएको आयोेजना प्रमुख नेपालले जानकारी दिए । २०७५ जेठ १ गते नै निर्माण सक्नुपर्ने भए पनि एक वर्ष ढिला गरी काम सकिएको हो ।
याङ्वरक गाउँपालिकाको इवा दोभानमा ६० मिटर लामो बाँध बाँधेर ३ दशमलव २ किलोमिटर पाइपलाइनमार्फत दाहाल गाउँमा रहेको पावर हाउसमा पानी खसालेर विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख नेपापले बताए । आयोजनको २ सय ५६ मिटर पेनस्टक र एक सय एक मिटर हेड रहेको उनले जानकारी दिए । यो आयोजनामा आधुनिक उपकरण प्रयोग गरिएकाले अरु जलविद्युत् आयोजनाको तुलनामा निकै गुणस्तरीय भएको बताइएको छ ।