कारोबार संवाददाता
बिहिवार, श्रावण २३, २०७६
247

बाँकेको कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिकालाई विपद्मैत्री स्थानीय तह बनाइने भएको छ । बर्सेनि भूकम्प, बाढीपहिरो लगायतका प्राकृतिक विपद्को जोखिम बढेपछि विपद्बाट हुने क्षति न्यूनीकरणका लागि विपद्मैत्री स्थानीय तह बनाउने तयारी थालिएको हो ।
त्यसका लागि बाँकेमै पहिलो पटक भूकम्पको पूर्वसूचना दिने ‘सेन्सर’ जडान गरिएको छ ।

अत्याधुनिक पूर्वसूचना दिने सेन्सर मेसिनको उद्घाटन समारोहमा दुवै स्थानीय तहका प्रमुखहरूले विपद्मैत्री स्थानीय तह बनाउनका लागि प्रारम्भिक कार्यको सुरुवात गरिएको जानकारी दिए । नेसनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसीडीआर), ताइवानको सहयोगमा कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिकामा ६÷६ वटा सेन्सर जडान गरिएको छ । बाँकेमा जडान गरिएको भूकम्पको पूर्वसूचना दिने सेन्सर नेपालमै पहिलो हो ।
एनसीडीआर, ताइवानका निर्देशक डा. होङ चेङले सेन्सरले भूकम्प जानुभन्दा ५० सेकेन्डअघि नै सूचना दिने बताए । “भूकम्पको मामलामा ताइवान र नेपाल उस्तै छन् । भूकम्प आइरहन्छ । हाम्रोमा सेन्सरले साह्रै फाइदा पु-याएको छ । यहाँ पनि फाइदा नै पु-याउने विश्वास गरेको छु,” निर्देशक चेङले भने, “अमेरिका, जापान र कोरियामासमेत हामीले जडान गरेको सेन्सरबाट प्रभावित भएका छन् ।”
सेन्सरले भूकम्प जानुपूर्व नै सूचना दिने भएकाले त्यसबारेमा मोबाइल एप्सबाट सर्वसाधारणलाई जानकारी गराइन्छ ।
घनाबस्तीमा साइरन बजाउने तयारी भएको छ । सेन्सर जडानमा सहकार्य गरेको इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायका अनुसार, भूकम्पको इपिसेन्टर हेरेर २० देखि ५० सेकेन्डमा पूर्वसूचना दिन्छ । “हामीले घनाबस्तीमा साइरन जडान गर्ने र मोबाइल एप्सबाट सूचना दिने तयारी गरेका छौं,” उनले भने ।
बाँकेको कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिका चुरेको तल्लो भागमा पर्दछन् । यी स्थानीय तह प्राकृतिक हिसाबले चुरेसँग जोडिएको र घनाबस्ती भएकाले भविष्यमा आउन सक्ने ठूलो विपद्को जोखिममा रहेको मानिन्छ । कोहलपुर नगरपालिका क्षेत्रको पूर्वपश्चिम राजमार्गको करिब १० किलोमिटर क्षेत्र आसपासलाई भूकम्पीय जोखिम क्षेत्रका रूपमा हेरिएको छ । नेपाल त्यसै पनि विपद्को उच्चजोखिममा छ । सेन्सर जडानले भूकम्प, बाढी र हुरीबतास आउनु अघि नै जानकारी दिने एनसीडीआरका अधिकारीहरूले बताएका छन् । अब बाँकेका दुई स्थानीय तहमा भूकम्प आउनु पूर्व साइरन बज्ने उनीहरूको भनाइ छ ।
एनसीडीआरका प्रतिनिधिले कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई विपद् व्यवस्थापनसम्बन्धी तालिमसमेत दिइसकेको छ । ताइवान सरकारले कोहलपुर नगरपालिका तथा वैजनाथ गाउँपालिकामा चारवटा डुंगा, दमकल, तीनवटा हेल्मेट, तीनवटा पञ्जा तथा एक सयवटा लाइफ ज्याकेट सहयोग गर्ने जनाएको छ ।